काठमाडौंका ११५ ट्याक्सी चालक कारबाहीमा, के गरे गल्ती ?



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कम्युटर बिलिङ प्रणालीमा नचलेका तथा यात्रुसँग मोलमोलाई गरेर पैसा लिने गरेका ११५ ट्याक्सी चालकलाई कारबाही गरेको छ ।

महाशाखाको टोलीले ट्याक्सी प्रयोगमा एकरुपता ल्याउन आजदेखि उक्त अभियान सञ्चालन गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले यात्रुले ट्याक्सीबाट ठगिएको आभास नगरुन् भन्नका लागि महाशाखाले यो अभियान चलाएको जानकारी दिए ।

‘यस्ता ट्याक्सीलाई नियन्त्रणमा लिएर प्रिन्टर मेसिन जडान गर्ने ठाउँमा पठाउँछौँ, मिटर जडान गरेर मात्र चलाउने भनेका छौँ, अन्यथा कारबाही गछौँ,’ उनले भने ।

महाशाखा प्रमुख खनालले प्रिन्टर मेसिन जडान नगरी सञ्चालनमा आएका ट्याक्सी दुई हजारको हाराहारीमा रहेका र ती ट्याक्सी चालकलाई पनि छिट्टै कारबाहीको दायरामा ल्याइने बताए ।

मिटर ट्याक्सी व्यवसायी संघका अध्यक्ष अर्जुन गौतमले बजारमा प्रिन्टर मेसिन नभएका कारण अधिकांश ट्याक्सीले प्रिन्टर मेसिन जडान नगरेको बताए ।

‘राज्यले चाँडो ट्याक्सीमा मिटर जडान गरिदियोस् हामी मिटरमा ट्याक्सी चलाउन तयार छौँ,’ उनले भने ।

महाशाखाले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रिन्टर मेसिन नभएका ट्याक्सीमा तत्काल मिटर जडान गर्न आग्रहसमेत गरेको छ ।

काठमाडौँमा हाल ९ हजार ५०० को हाराहारीमा ट्याक्सी सञ्चालित छन् । रासस


पुष्प दुलाल