१० अर्बका दुईटा जहाज टेन्डर नगरी कम्पनीसँग किन्दै निगम




काठमाडौं । नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग सिधैं दुई थान न्यारोबडीका जहाज खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ ।

व्यवस्थापिका संसदबाट सार्वजनिक खरिद ऐन पारित भएर कार्यान्वयनमा आएसंगै निगमले सिधै जहाज निर्माता कम्पनी एयरबससँग दुई थान एयरवस ३२०–२०० सिरिजका जहाज खरिद गर्ने तयारी थालेको हो ।

निगमले बाइडबडी जहाज ३३०–२०० सिरिजका दुई थान जहाज खरिद प्रक्रिया जारी रहेको छ । जसको लागि पहिलो किस्ता बापतको ८ अर्व रुपैयाँ पठाइसकेको छ ।

निगमको तीन वर्षे कार्य योजना अनुसार थप दुई थान एयरबस ३२० सिरिजका जहाज खरिद प्रक्रिया अगाडी बढाउन लागेको नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

हाल उक्त दुई थान जहाजको बजार मूल्य मूल्य करिब १० अर्ब रुपैयाँ रहेको छ । विगतमा निगमले ७ अर्ब ५० करोडमा ३२० सिरिजका दुई थान जहाज खरिद गरेको थियो ।

निगमले दुई वर्ष अगाडी ३२०–२०० सिरिजका जहाज खरिद गरेको थियो । हाल उक्त दुवै जहाजले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

विगतको सार्वजनिक खरिद ऐनको व्यवस्था अनुसार ग्लोवल टेन्डर गरेर मात्र खरिद गर्नुपर्ने व्यवस्था रहेको थियो । गत असार ७ गते ब्यवस्थापिका संसदबाट सार्बजनिक खरिद ऐन २०६३ को पहिलो संसोधनबाट तोकिएका निकायहरुले तोकिए अनुसारका बस्तु तथा सेवा खरिद गर्दा टेन्डर नगरी सोझै खरिद गर्न पाउने ब्यवस्था अनुसार निगमले जहाज खरिदको प्रक्रिया सुरु गर्न लागेको प्रबन्ध निर्देशक कंसाकारले जानकारी दिए ।

‘तोकिएका निकायले तोकिएका बस्तु तथा सेवा सोझै खरिद गर्न पाउने ब्यवस्था सार्बजनिक खरिद ऐनको संसोधनमा छ, सोही ब्यवस्था अनुसार निगमले जहाज खरिद गर्दा टेन्डर प्रक्रिया नगरी सोझै खरिद गर्न पाउने छुट पाएको छ, यही प्रक्रिया अनुसार सोझै खरिदको सोच बनाएका छौं,’ प्रबन्ध निर्देशक कंसाकारले क्लिकमाण्डूसँग भने ।

हालको व्यवस्थामा निर्माता कम्पनीबाट सिधै खरिद गर्न मिल्ने भएकोले एयरवस कम्पनीसँग विभिन्न चरणमा कुराकानी भएको कंसाकारले जानकारी दिए ।

ब्यवस्थापिका संसदको सार्बजनिक लेखा समितिले पनि निगमले जहाज खरिद गर्दा टेन्डर नगरी कम्पनीसँग सोझै खरिद गर्न पटक पटक निर्देशन दिएको थियो ।

अहिले खरिद प्रक्रियामा रहेको वाइडबडी जहाज आगामी जेठ महिना भित्रमा नेपाल आइसक्ने कंसाकारले जानकारी दिए ।

निगमको सुधार योजना अनुसार जहाज खरिद प्रक्रिया र व्यवस्थापन सुधारको कार्य एकै साथ अगाडी बढी रहेको कंसाकारको भनाइ छ ।

‘अबको पाँचवर्ष भित्रमा निगमको गुमेको साख फर्काएर नाफा कमाउने अभियानमा लागेका छौ,’ कंसाकारले भने ।


क्लिकमान्डु