जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा



कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीमा जडीबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

निड्स नामक गैरसरकारी संस्थाको पाँच लाख २० हजार रुपैयाँमा जडीबुटी प्रशोधन गर्ने मेसिन खरिद गरी जडानपश्चात् केन्द्र सञ्चालनमा ल्याइएको हो ।

प्रशोधन केन्द्र सञ्चालनका लागि स्थानीय उपभोक्ताले दुई लाख रुपैयाँ बढीको लागतमा घर निर्माण गरेका छन् । चार समूहका २०० बढी उपभोक्ताले खेतीयोग्य जग्गामा मेन्था, क्यामामाईलको खेती गरेको केन्द्र सञ्चालन समितिका संयोजक सुरतबहादुर साउदले बताए ।

‘सामुदायिक वन र बाँझो जग्गामा सिट्रोनेला, तमारोजा, लेमनग्रास, कडिपत्ता रोपेर आम्दानी हुन थालेको छ,’ उनले भने।

केन्द्र सञ्चालनमा आएपछि क्यामामाईल २० हजार रुपैयाँ र मेन्था २८ हजार रुपैयाँमा बिक्री गरी रकम उपभोक्ता समितिको कोषमा जम्मा गरिएको उनले बताए ।

जडीबुटी खेतीलाई प्रवद्र्धन गर्नका लागि निड्सले उपभोक्ता समितिलाई एक लाख रुपैयाँको घुम्तीकोषका रुपमा रकमसमेत उपलब्ध गराएको छ ।

बिना ब्याज रकम पाइएपछि यहाँका अधिकांश परिवारले थोरै श्रम र लगानीमा उत्पादन हुने जडीबुटीको खेतीलाई अगाडि बढाएका छन् ।


क्लिकमान्डु