शिक्षण पेशा छोडेका गुमानसिंहले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै



फाइल

बागलुङ। शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रुपमा  बदलिएको छ ।

मेहनत र कामप्रतिको लगावले गलकोट नगरपालिका– ३ हटियाका ४१ वर्षीय खत्रीलाई नसोचेको सफलता मिलेको छ । विसं २०६३ मा एक लाख रुपैयाँको लगानीमा व्यावसायिक तरकारीखेती सुरु गरेका खत्रीको लगानी अहिले २० लाख रुपैयाँ भन्दा बढी पुगेको छ ।

चार रोपनीमा सीमित गलकोट नगरपालिका–६ स्थित ‘जामुने कृषि फर्म’ अहिले १५ रोपनीमा विस्तार भएको छ ।

‘सात वर्ष प्राथमिक विद्यालयमा अस्थायी शिक्षकका रुपमा काम गरेँ,’ खत्रीले भने ‘पछि व्यावसायिक कृषिमा लाग्ने सोच आयो ।’

खत्रीले वार्षिक एक लाख रुपैयाँमा जग्गा भाडामा लिई तरकारीखेती गर्दै आएका छन् ।

‘उत्पादनबाट सन्तुष्ट छु, बजारको समस्या छैन्,’ खत्रीले भने ‘खर्च कटाएर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’ उनको फर्ममा दुई जनालाई रोजगारी समेत मिलेको छ ।

हटियामै ‘एग्रोभेट’ पसलसमेत सञ्चालन गरेका खत्री उदाहरणीय किसानको रुपमा जिल्लाभर परिचित छन् । खत्रीले तरकारीखेती सुरु गर्दा गलकोटमा गोलभेँडा खेती गर्ने कमै थिए । भैरहवा, नारायणगढलगायत ठाउँबाट आएको महँगो गोलभेँडा खरिद गर्न उपभोक्ता बाध्य थिए ।

‘शुरुमा गोलभेँडा खेती गरेँ, प्रतिफल दिएपछि अरु किसानले पनि शुरु गर्नुभयो,’ खत्रीले भने।

उनको फर्ममा मुख्य गरी गोलभेँडासँगै काउली, बन्दागोभी, सिमी, बोडीलगायत मौसमी/बेमौसमी तरकारी बाली उत्पादन हुने गरेको छ ।

खत्रीको फर्ममा प्रायः प्लास्टिक घर (टनेल) भित्र तरकारीखेती गरिन्छ । उनको फर्मले गत वर्ष कृषि विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजनाबाट १० लाख रुपैयाँ अनुदान समेत पाएको छ । उक्त अनुदान रकमबाट थप चारवटा उच्चस्तरीय प्रविधिको प्लास्टिक घर (टनेल) थपेको खत्रीले बताए ।

तरकारीखेती विस्तारका साथै यन्त्र–उपकरण खरिदमा अनुदान रकम प्रयोग भएको उनले बताए । आयोजनाको अनुदान बाहेक जिल्ला कृषि विकास कार्यालयबाट पनि उनले सहयोग पाउँदै आएका छन् ।


क्लिकमान्डु