ट्रक, मिनीट्रक र ट्रिपरलाई आजदेखि काठमाडौंमा दिनभर नो इन्ट्री



काठमाडौं । ट्रक, मिनीट्रक, ट्रिपरलगायतका मालबाहक सवारीसाधन लिएर काठमाडौं आउँदैन हुनुहुन्छ भने होसियार । तपाईंलाई ट्राफिक प्रहरीले कारबाही गर्छ ।

सरकारले भदौ १ अर्थात् आजदेखि रिङरोड र रिङरोडभित्र बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मालबाहक सवारीसाधन चलाउन रोक लगाएको छ ।

उपत्यकाको ट्राफिक जाम हटाउनका लागि सरकारले यस्तो नियम लागू गरेको यातायात व्यवस्था विभागका प्रमुख रुपनारायण भट्टराईले जानकारी दिए ।

‘पेट्रोल, ग्याँस, पानी लगायत अत्यावश्यक सेवाका सवारीका हकमा भने यो निर्णय लागू हुने छैन, अरु मालबाहक चलाएको पाइएमा प्रहरीले कारबाही गर्छ,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।

ट्राफिक प्रहरी प्रमुख सर्वेभन्द्र खनालले पनि अब उपत्यकाभित्र तोकिएको समयमा मात्रै मालबाहक सवारीसाधन चलाउन पाइने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

‘कार्यालय समयमा मालबाहक सवारीसाधन चल्दा ट्राफिक जामका कारण उपत्यकाबासी हैरान भएका छन्, यस्तो हैरानीको अन्त्य गर्न बिहान ८ बजेदेखि साँझ ७ जबेसम्म मालबाहक सवारीसाधन उपत्यकामा चल्न प्रतिबन्ध लगाउने नीति कार्यान्वयनमा लगिएको हो ।’

नियम उल्लंघन गर्नेलाई ट्राफिक प्रहरीले ५ हजार रुपैयाँ जरिवाना तिराउने छ ।

पार्किङस्थल तोकियो

उपत्यकामा भित्रिने मालबाहक सवारीका लागि विभिन्न नाका क्षेत्रमा पार्किङस्थल तोकिएको छ । पृथ्वीराजमार्ग हुँदै आउने मालबाहक सवारी नौबिसेमा पार्किङ गर्नुपर्ने भट्टराईले बताए ।

त्यस्तै, गोदावरीतर्फबाट आउने ट्रकरटिप्परले धापाखेलमा पार्किङ गर्र्नुपर्ने छ भने अरनिको र वीपी राजमार्गबाट आउने सवारी साधन बनेपामा पार्किङ गर्नुपर्ने छ । नुवाकोट तर्फबाट आउने मालबाहक सवारीन मुडेमा पार्किङ गर्नुपर्नेछ ।


पुष्प दुलाल