सीसीडी गणनाको नयाँ बिधिः बैंकहरुले गुमाए ५६ अर्ब रुपैयाँ कर्जा दिन सक्ने थप क्षमता




काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको नयाँ ब्यवस्थाको कारण बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिन सक्ने क्षमता थप ५६ अर्ब रुपैयाँले घटेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी) गणना गर्दा अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा गणना गर्न नपाउने भएपछि सो बराबरको कर्जा दिन सक्ने क्षमता घटेको हो ।

गत जेठ मसान्तको तथ्यांक अनुसार अन्तर बैंक निक्षेप करिब ७० अर्ब रुपैयाँ छ । सीसीडी रेसियो गणनामा अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा गणनामा गर्न नपाइने ब्यवस्थाले ५६ अर्ब रुपैयाँ कर्जा दिन सक्ने क्षमता घटेको सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।

नयाँ ब्यवस्थाले बैंकहरुको वास्तविक तथ्यांक आउने नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेल बताउँछन् ।

‘अन्तर बैंक निक्षेप ६५ अर्बदेखि ७० अर्ब रुपैयाँको हाराहारीमा भएको अनुमान छ, नयाँ ब्यवस्थाले बैंकहरुको वास्तविक अवस्था पत्ता लाग्ने भएकोले तत्काल संकट आएपनि यसले दीर्घकालको लागि फाइदा पुग्छ,’ नियमन विभागका प्रमुखसमेत रहेका पौडेलले क्लिकमाण्डूसँग भने ।

नयाँ ब्यवस्था राम्रो भएपनि एकैपटक लागू गर्नुको साटो समय दिएर वा क्रमिक रुपमा कार्यान्वयन गरेको भए उचित हुने सानीमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालको भनाइ छ ।

‘राष्ट्र बैंकले जुन ब्यवस्था गरेको छ, त्यो राम्रो हो, तर, यसअघि अन्तर बैंक निक्षेपलाई पनि स्रोत परिचालनमा गणना गर्न पाइन्थ्यो, हामीले त्यसै गरिरहेका थियौं पनि, यस्तो नयाँ ब्यवस्था एकैपटक लागू गर्नुभन्दा केही समय दिएर वा क्रमिक रुपमा लागू गर्न सकेको भए राम्रो हुन्थ्यो,’ दाहालले भने ।

पूर्व बैंकर तथा चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नयाँ ब्यवस्थाले बैंकिङ क्षेत्रलाई दरिलो र विश्वासिलो बनाउने बताउँछन् ।

‘यसअघिको ब्यवस्थाले एउटै निक्षेप दुईपटक गणना हुने गर्दथ्यो, नयाँ ब्यवस्थाले वास्तविक तथ्यांक देखाउँछ, यसले तत्कालको लागि केही समस्या जस्तो देखिए पनि दीर्घकालको लागि राम्रो हो,’ भट्टराईले भने ।


क्लिकमान्डु