अब हस्तलिखित नम्बर प्लेट राख्न नपाइने, यसरी लागु हुँदै छ इम्बोस्ड नम्बर प्लेट



काठमाडौं । सोमबारको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेटको लागत स्वीकृत गरेपछि यातायात व्यवस्था विभागले भदौ ४ आइतबार देखि औपचारिक रुपमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने भएको हो ।

अब मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड नम्बर जडानमा २ हजार ५ सय सय रुपैयाँ खर्च गर्नु पर्ने छ । यसैगरी कार र जिप तथा भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यस बाहेकका सबै प्रकारका ठूला सवारी साधनमा सवारी धनीले इम्बोस्ड नम्बर जडान गर्दा ३ हजार ६ सय रुपैयाँ खर्चनु पर्नेछ ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले इम्बोस्ड नम्बर प्लेटको उद्घाटन गर्ने तय भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए  ।

‘भदौ ४ गते आइतबार प्रधानमन्त्रीले इम्बोस्ड नम्बर प्लेटको औपचारीक उद्घाटन पछि कार्यान्वयनमा आउनेछ’ भट्टराईले भने ।

इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सरकारी सवारी साधनबाट सुरु गरी ५ वर्षभित्र सबै सवारीमा जडान गरी सक्ने सरकारी लक्ष्य छ ।

अर्थ मन्त्रालयले लागत स्वीकृत गरे पनि मन्त्रिपरिषद्बाट स्वीकृत नहुँदा केही ढिलाइ भएको थियो । इम्बोस्ड नम्बर प्लेटको लागत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिफारिस गरेअनुसार नै स्वीकृत भएको हो ।

यसरी जडान हुन्छ ‘इम्बोस्ड’

एउटा सवारीसाधनमा अगाडि र पछाडि दुई ठाउँमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ । त्यही प्लेटमा प्रयोग भएको स्टिकरलाई ‘आरएफआईडी स्टिकर’ भनिन्छ । यही स्टिकरलाई आरएफआईडी ट्रर्याकिङ गेटमा प्रयोग भएको ‘रेडियो फ्रिक्वेन्सी आइडन्टिफिकेसन डिभाइस’ ले क्याप्चर गरेर सम्पूर्ण विवरण हेर्ने हो ।

यसका माध्यमबाट सवारीसाधन कहाँ बनेको, कसको सवारीसाधन हो, कसले प्रयोग गरिरहेको छ, कुन ठाउँको कहाँ पुगेको छ, जस्ता सबै तथ्य यातायात व्यवस्था विभाग कार्यालय अथवा ट्राफिक कक्षमा बसेर थाहा पाउन सकिन्छ ।

सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिसकेपछि ५ देखि १० वर्षसम्म परिवर्तन गर्नु नपर्ने हुन्छ । परिवर्तन गर्नु परेमा प्लेट कसेको लक नै काट्नुपर्ने हुन्छ । सवारीसाधन दुर्घटनामा परेर टुट्फुट भएमा मात्र प्लेट परिर्वतन गर्न सकिन्छ ।

पहिलो चरणमा सरकारी सवारीसाधनबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने योजना विभागको छ । यो सँगै क्रमिक रुपमा अन्य सवारीसाधन र बागमती अञ्चलमा जडान गरिसकेपछि बाँकी अञ्चलहरुमा जाने तयारीमा विभाग रहेको छ ।

पाँच वर्षभित्र देशभरका सबै सवारी साधनमा इम्बोस्ड नम्बर जडानका लागि अनुमति पाएको बंगलादेश र अमेरिकन संयुक्त कम्पनी डेकाटोर टाइगरले नम्बर प्लेट जडानका लागि सबै काम सकिसकेको जनाएको छ ।


क्लिकमान्डु