कुलमानले विद्युत् प्राधिकरणमा अहिलेसम्म के गरे र अब के गर्छन् ?



काठमाडौं । ऊर्जा क्षेत्रको गौरवमय यात्रामा नेपाल विद्युत प्राधिकरणले सफलतापूर्वक ३२औं वर्ष पूरा  गरेको सु-अवसरमा यहाँहरुसमक्ष यो वार्षिक प्रतिवेदन प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ ।

प्राधिकरणबाट विगत वर्षमा सम्पादन गरिएका मुख्य-मुख्य कार्य एवं उपलब्धिका साथै प्राधिकरणका विद्यमान  चुनौतीहरुलाई  अवसरको रुपमा बदली संस्थालाई सबल र सक्षमरुपमा अघि बढाउन ल्याइएका कार्ययोजना र प्रतिवद्धताहरु समेतलाई आम जनतासमक्ष पुर्‍याउन यस ३२औं वार्षिक उत्सवले विशेष अवसर प्रदान गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७३/७४ मा उज्यालो नेपाल अभियानअन्तर्गत लोड्सेडिङग न्यूनीकरण  गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गरी नियमित विद्युत आपूर्ति गर्न, चुहावट घटाउन र वित्तीय अवस्थामा सुधार ल्याउन ऐतिहासिक सफलता प्राप्‍त गरेको छ ।

आम उपभोक्तालाई नियमितरुपमा विद्युत सेवा उपलब्ध गराउने प्राधिकरणको प्रयासस्वरुप सुक्खायाममा समेत काठमाडौ उपत्यका र पोखरालगायतका शहरी क्षेत्रहरुमा २४सै घण्टा नियमित विद्युत आपूर्ति गर्न सफलता मिलेको छ ।

औद्योगिक ग्राहकका हकमा पिकबाहेकको समयमा नियमित विद्युत आपूर्ति गरिएको छ भने अन्य क्षेत्रको लोडशेडिङ्गको समयावधिलाई समेत उल्लेख्यरुपमा घटाइएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले २ अर्ब ४० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ भने खुद नोक्सानी १ अर्बभन्दा कम रहनुले आगामी वर्ष प्राधिकरणलाई नाफामूलक संस्थाको रुपमा सञ्चालन गर्न सकिने विश्‍वास गरिएको छ ।

संस्थाले सम्पादन गरेको कामकारबाहीको समीक्षा एवं भावी कार्यदिशा प्रस्तुत गर्नुभन्दा अघि विद्युत दुर्घटना एवं कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाउनुहुने नागरिक तथा प्राधिकरणका कर्मचारीहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।

सञ्चालन उपलब्धी

प्राधिकरणको कूल ग्राहक सँख्या २९ लाख ७० हजारबाट वृद्धि भई आर्थिक वर्ष २०७३/७४ मा सामुदायिक तथा थोक ग्राहकसमेत गरी कूल ३२ लाख ६० हजार  पुगेको छ । जसमध्ये गार्हस्थ्य वर्गमा ३० लाख ६ हजार छन् जुन कूल ग्राहक सँख्याको ९३.९६% रहेको छ । त्यस्तै कूल विद्युत बिक्री आयमा गार्हस्थ्य र औद्योगिक ग्राहकको योगदान क्रमशः ४१.८५% र ३५.६१% रहेको छ भने अन्य वर्गका ग्राहकको योगदान २२.५४% छ ।

विद्युत प्राधिकरणको उत्पादन केन्द्रहरुबाट कूल २,३०५.१७ गिगावाट आवर ऊर्जा उत्पादन भएको छ, जुन गत आर्थिक वर्षको २,१३३.१४ गिगावाट आवरको तुलनामा ८.०६% ले  बढी हो । कालिगण्डकी, मर्स्याङ्गदी, तथा मध्यमर्स्याङ्गदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युतले सुक्खायामको उच्चतम् माग व्यवस्थापन गरी लोड्सेडिङ्ग न्यूनीकरणमा उल्लेख्य योगदान पुर्‍याएको छ । आर्थिक वर्ष २०७२/७३ मा भारतबाट १७७७.६८ गिगावाट आवर ऊर्जा आयात गरिएकोमा आर्थिक वर्ष २०७३/७४ मा २२.३५% ले वृद्धि भई २१७५.०४ गिगावाट आवर ऊर्जा आयात भएको छ । भारतबाट आर्थिक वर्ष २०७३/७४ मा ढल्केबर-मुजफ्फरपुर लाइनका अतिरिक्त अन्य प्रसारणलाइनबाट समेत गरी ‍औषत करीब २५० मेगावाट विद्युत आयात भएको छ ।

निजी क्षेत्रका  आयोजनाहरुबाट आ.व. २०७२/७३ मा प्राप्‍त ११६६.२४ गिगावाट आवर ऊर्जाको तुलनामा आ.व. २०७३/७४ मा ५२.३९% ले वृद्धि भई १७७७.२४ गिगावाट आवर ऊर्जा प्राप्‍त भएको छ ।

नेपाल विद्युत प्राधिकरणको प्रणालीमा आ.व. २०७२/७३ मा प्राप्‍त ५,०७७.१४ गिगावाट आवरको तुलनामा आ.व. २०७३/७४ मा २३.२५% ले वृद्धि भई ६,२५७.७३ गिगावाट आवर ऊर्जा प्राप्‍त भएको छ । आ.व. २०७३/७४ मा राष्‍ट्रिय ग्रिड प्रणालीमा प्राप्‍त कूल ऊर्जामध्ये प्राधिकरणको उत्पादन ३६.८४%, भारतबाट आयात ३४.७६% र निजीक्षेत्रबाट २८.४०% रहेको छ ।

आ.व. २०७३/७४ मा प्राधिकरणबाट मुलुकभर सञ्चालन गरिएको विद्युत चुहावट नियन्त्रण अभियानका कारण गत वर्षको चुहावट २५.७८% बाट घटाई २२.९०% मा सीमित गर्न सफल भएको छ ।

वित्तीय विवरण

धेरै वर्षपश्‍चात् आ.व. २०७३/७४ मा प्राधिकरणले सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको विद्युत बिक्री तथा अन्य आम्दानीबाट रु. ३५ अर्ब ७ करोड ३५ लाख कूल आम्दानी भएकोमा आर्थिक वर्ष २०७३/७४ मा उक्त आयमा वृद्धि भई रु. ५० अर्ब २२ करोड ९४ लाख रहन पुग्यो । अघिल्लो वर्षको तुलनामा प्राधिकरणको समग्र आम्दानी करिब ४३.२१%ले वृद्धि भएको छ ।

प्राधिकरणको विद्युत खरिदसमेतको कूल सञ्चालन खर्च आर्थिक वर्ष २०७२/७३ मा रु. ३६ अर्ब ८ करोड ७५ लाखको तुलनामा २६.२८% ले वृद्धि भई आर्थिक वर्ष २०७३/७४ मा रु. ४५ अर्ब ५७ करोड २० लाख भएको छ । कर्मचारीको तलब भत्ता तथा विद्युत खरिदमा भएको वृद्धिका कारण सञ्चालन खर्च बढ्न गएको देखिन्छ । प्राधिकरणको गत आर्थिक वर्ष २०७२/७३ को सञ्चालन नोक्सानी रु. ३ अर्ब ६ करोड ३९ लाख रहेकोमा आर्थिक वर्ष २०७३/७४ मा रु. २ अर्ब ४० करोड ७३ लाख सञ्चालन मुनाफा भएको छ ।

यद्यपि प्राधिकरणको खुद नोक्सानी आर्थिक वर्ष २०७२/७३ मा रु. ८ अर्ब ८९ करोड भएकोमा आर्थिक वर्ष २०७३/७४ मा रु. ९७ करोड ८९ लाखमात्र रहेको छ । विद्युत चुहावट न्यूनीकरण, आयातित विद्युतको औषत खरिद दरमा कमी, विद्युत महशुलमा समायोजन, प्रमुख शहरहरुमा नियमित विद्युत आपूर्ति एवं आंशिक रुपमा भएको वित्तीय पुनर्संरचना लगायतका संस्थागत सुधारले आर्थिक वर्ष २०७३/७४ मा खुद नोक्सानी न्यून गर्न सकिएको हो ।

निर्माणसम्पन्न र निर्माणाधिन आयोजनाहरु

खिम्ती-ढल्केवर २२० के.भी., हेटौंडा-कुलेखानी दोस्रो-स्युचाटार १३२ के.भी., भुलभुले-मर्स्याङ्गदी १३२ के.भी. प्रशारण लाइन र ग्रिड सबस्टेशन अपग्रेडिङ, चपली १३२/६६ के.भी. सबस्टेशन/विस्तार, मिर्चैया १३२/३३ के.भी. सबस्टेशन, कटैया-कुशाहा १३२ के.भी., रक्सौल-परवानीपूर १३२ के.भी. तथा कुसुम-हापुरे १३२ के.भी. लगायतका मुख्य-मुख्य प्रसारण लाइन तथा सबस्टेशनहरु आर्थिक वर्ष २०७३/७४ मा निर्माण सम्पन्न भएका छन् भने १३२, २२० र ४०० के.भी. का अन्य प्रशारण लाइन तथा सबस्टेशन आयोजनाहरु विभिन्न चरणमा निर्माण भइरहेका छन् ।

३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको टनेललगायत निर्माण कार्यसम्पन्न भएको छ । हालसम्म आयोजनाको ९९.१९% कार्यसम्पन्न भइसकेको र डिसेम्बर २०१७ सम्ममा उक्त आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ ।

१४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको करीब ८०% कार्यसम्पन्न भएकोले बाँकी कार्य डिसेम्बर २०१७ सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ भने भूकम्पबाट प्रभावित ६० मेगावाटको माथिल्लो त्रिशुली ३ए जलविद्युत आयोजना निरन्तरको प्रयासस्वरुप करीब २ वर्षपछि सुचारु भई हालसम्म करीब ६०% कार्यहरु सम्पन्न भएकोले अप्रिल २०१९ सम्ममा सम्पन्न हुनेगरी निर्माण भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमार्फत् निर्माणाधीन आयोजनाहरु

चिलिमे जस्तै कम्पनी मोडेलमा विभिन्न जलविद्युत आयोजना निर्माण गर्ने प्राधिकरणको अभ्यास प्रभावकारी भएकोले प्राधिकरणबाट विभिन्न सहायक कम्पनीहरु स्थापना गरी ती कम्पनीमार्फत् देहायका आयोजनाहरु निर्माण भइरहेका छन् ।

अपर तामाकोशी हाइड्रोपावर कम्पनीद्वारा स्वदेशी पुँजीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । २०७२ बैशाखको भूकम्प र नाकाबन्दीका कारण प्रभावित यस आयोजना सन् २०१८ को डिसेम्बरसम्म सञ्चालन हुनेगरी निर्माण भइरहेको छ ।

तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलाशययुक्त आयोजना, त्रिशुली जलविद्युत कम्पनीद्वारा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशुली ३बी जलविद्युत आयोजना र रघुगङ्गा हाइड्रो- इलेक्ट्रिक कम्पनीद्वारा निर्माण हुने ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना निर्माणका लागि ठेकेदार छनोटको अन्तिम चरणमा रहेका छन् ।

निजी क्षेत्रको सहभागिता

प्राधिकरणले बढ्दो विद्युतको माग पूरा  गर्न निजी  क्षेत्रको सहभागिता अभिवृद्धि हुनेगरी विद्युत खरिद बिक्री गर्ने प्रक्रियालाई पारदर्शी र सरलीकरण बनाएको छ । प्राधिकरणले रन अफ रिभर, पिकिङ रन अफ रिभर तथा जलाशययुक्त गरी ३ किसिमका जलविद्युत आयोजनाका लागि विद्युत खरिद दर निर्धारण गरेको छ । साथै विदेशी मुद्रामा विद्युत खरिद गर्ने निर्देशिकासमेत जारी गरिएको हुँदा यसबाट विदेशी लगानी आकर्षित गर्ने अनुकूल वातावरण सिर्जना भएको छ ।

प्राधिकरणले हालसम्म निजी क्षेत्रका विभिन्न २१३ वटा जलविद्युत प्रवर्द्धकसँग ३३९५ मेगावाट बराबर विद्युत खरिद सम्झौता सम्पन्न गरेकोमा ४४१ मेगावाट बराबरका विभिन्न ६० जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा आबद्ध छन् भने २९३३ मेगावाट बराबरका १५१ जलविद्युत आयोजनाहरु निर्माणाधीन छन् ।

प्रतिस्पर्धात्मक माध्यमबाट ग्रिड सोलार पावर प्रोजेक्टबाट उत्पादन हुने विद्युतको खरिद दर कायम भई सम्बद्ध आयोजनासँग विद्युत खरिद सम्झौता गर्ने प्रक्रियामा रहेको छ भने एसियाली विकास बैंकको सहयोगमा Viability Gap Fund को व्यवस्था गरी सौर्य विद्युत खरिद गर्न बोलपत्र आह्‍वान गरिनेछ ।

भावी कार्ययोजना

ग्राहकको सेवा र सन्तुष्‍टिलाई मध्यनजर गर्दै आवश्यक सेवा प्रदान गर्ने र प्राधिकरणलाई आर्थिकरुपमा सक्षम र व्यावसायिक संस्थाको रुपमा विकास गर्ने उद्देश्यका साथ प्राधिकरण अघि बढिरहेको छ । प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गरी थप आयआर्जन गर्नुका साथै उत्पादन लागतको आधारमा विद्युत महशुल समायोजन गर्न आवश्‍यक पहल गरिनेछ ।

विद्युत माग व्यवस्थापन गर्न तथा लोडशेडिङ्ग निराकरणका लागि अल्पकालीन रुपमा आयातित  विद्युत र स्वदेशको सौर्य तथा बायोमासबाट उत्पादित विद्युत, रन अफ रिभर जलविद्युत आयोजनाबाट उत्पादित विद्युतको उचित समिश्रण प्रभावकारी हुने देखिन्छ ।

आगामी वर्षमा माथिल्लो तामाकोसी, निजी क्षेत्रबाट उत्पादन हुने जलविद्युत र राष्‍ट्रिय ग्रिडमा आबद्ध हुने सौर्य विद्युतसमेतबाट कुल ६०० मेगावाटसम्म प्रणालीमा थप हुने देखिन्छ भने आउँदो २ देखि ३ वर्षभित्र निर्माणाधीन जलविद्युत तथा प्रशारण लाइन आयोजनाहरु सम्पन्न गरी प्रणालीमा थप १२०० मेगावाट विद्युत प्राप्‍त गर्नेतर्फ हाम्रो प्रयास केन्द्रित रहनेछ ।

प्राधिकरणको प्रमुख साझेदारीमा इन्जिनियरीङ र विद्युत व्यापार कम्पनीहरुको स्थापना गरिएको छ । नेपाल सरकारको ग्रिड कम्पनीमा प्राधिकरणको ४८ प्रतिशत अंश रहेको छ भने उत्पादन कम्पनीमा समेत प्राधिकरणको उल्लेख्य साझेदारी रहेको छ । प्राधिकरण सञ्चालक समितिले मुलुकको संघीय संरचनाअनुरुप ७ वटा क्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्राधिकरणको पूर्ण स्वामित्व रहेको क्षेत्रीय कार्यालयहरुलाई वितरण कम्पनीको रुपमा रुपान्तरण गर्न सकिनेछ । यसले विद्युत खरिद तथा बिक्रीको बजारसमेत सिर्जना गर्नेछ ।

राष्‍ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत विकास दशक कार्ययोजना, २०७२ मा उल्लेख भएअनुसारको उत्पादन मिश्रणको नीति अनुरुप प्राधिकरणले जलाशययुक्त जलविद्युत आयोजनाहरुको विकास एवं निर्माणतर्फ ध्यान केन्द्रित गरेको छ । विद्युतको दीर्घकालीन माग सम्बोधन गर्न दूधकोसी (९०० मेगावाट), तमोर (७६२ मेगावाट), उत्तरगङ्गा (३००/६०० मेगावाट), आँधिखोला (१८० मेगावाट) जलाशयुक्त आयोजनाहरु र माथिल्लो अरुण (७०० मेगावाट) र तामाकोसी-५ (९५ मेगावाट) जस्ता पिकिङ रन अफ रिभर आयोजनाहरुका साथै ६० मेगावाटको मोदी जलविद्युत आयोजनासमेत प्रभावकारीरुपमा विकास, निर्माण र सञ्चालन गर्न प्राधिकरणबाट विभिन्न सहायक कम्पनीहरु स्थापना भइसकेका छन् ।

उल्लेखित आयोजनाका अतिरिक्त २१० मेगावाटको चैनपुर सेती जलविद्युत आयोजनासमेत अधिकतम क्षमतामा विकास निर्माण गर्न सकिए करीब ३५०० मेगावाट थप विद्युत उत्पादन हुने भएकोले सो अनुसार आयोजनाको विस्तृत अध्ययनका साथै परामर्शदाता छनोट गर्ने प्रक्रिया अघि बढाइएको छ ।

स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई जलाशयुक्त तथा पिकिङ रन अफ रिभर आयोजनामा लगानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले त्यस प्रकारका आयोजनाहरुबाट उत्पादन हुने विद्युतको छुट्टै दर निर्धारणसमेत गरिएको छ ।

नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट अगाडि सारिएको “नेपालको पानी जनताको लगानी” कार्यक्रमबाट आम नागरिकलाई जलविद्युत विकासमा उत्साहपूर्वक सहभागी गराई आवश्‍यक लगानी जुटाउन महत्वपूर्ण टेवा पुग्ने देखिन्छ । प्राधिकरणका सहायक कम्पनीहरुबाट निर्माण हुने जलविद्युत आयोजनामासमेत जनताको लगानी सुनिश्‍चित गरिनेछ ।

उत्पादित विद्युत तोकिएको लोड सेन्टरमा पुर्‍याउन एवं आयात-निर्यात प्रयोजनका लागि पूर्व-पश्‍चिम तथा उत्तर-दक्षिण ४०० के.भी. प्रशारण लाइन निर्माण गर्न आवश्यक भएको छ । विद्युत विकासका साझेदार निकायहरु विश्‍व बैंक, एशियाली विकास बैंक, युरोपियन युनियन, मिलिनियम च्यालेन्ज कर्पोरेशन अमेरिका समेतको सहयोगमा पूर्व-देखि पश्‍चिमसम्म ४०० के.भी. लाइन निर्माण गर्ने योजना बढाइएको छ । त्यस्तै न्यू-बुटवल-गोरखपुर तथा गल्छी-केरुङ क्रसबोर्डर ४०० के.भी. प्रशारण लाइन आगामी ५ वर्षभित्र निर्माणसम्पन्न गर्ने योजना रहेको छ । यी अन्तरदेशीय ४०० के.भी. प्रशारण लाइन विद्युत आयात निर्यात तथा इनर्जी बैंकिङका लागि महत्वपूर्ण हुनेछ ।

विद्युतको आपूर्ति, माग र वितरणबिच सन्तुलन कायम गर्न वितरण प्रणालीको क्षमता वृद्धि, स्तरोन्नती र विस्तार गर्नुपर्ने भएकोले आगामी वर्षहरुमा सो को लागि पर्याप्‍त लगानी जुटाई आगामी १० वर्षभित्र करीब १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्नेगरी मुलुकका प्रमुख शहरी तथा औद्योगिक क्षेत्रहरुमा वितरण प्रणाली विस्तार गर्ने योजना रहेको छ । वितरण प्रणालीलाई आधुनिकीकरण गरी सुरक्षित र गुणस्तरयुक्त विद्युत आपूर्ति गर्न काठमाडौं लगायतका प्रमुख शहरहरुमा वितरण प्रणाली भूमिगत गरिनेछ ।

विद्युत चुहावट घटाउन, सेवा प्रवाहमा दक्षता अभिवृद्धि गर्न तथा ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराउन स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई प्राथिमकताका साथ कार्यान्वयन गरिनेछ । ग्रिड सबस्टेशनमा सौर्य शक्ति र इनर्जी स्टोरेज ब्याट्रिको समायोजन गरी कुनै एक ग्रिड सबस्टेशनमा नमूना आयोजनाकोरुपमा स्मार्ट ग्रिड कार्यान्वयन गरिनेछ । सौर्य शक्तिलाई ग्रिडमा जोड्ने नेट मिटरिङको अवधारणालाई विस्तार गरिनेछ । अनलाईन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गरी ग्राहकहरुलाई थप सुविधा उपलब्ध गराइनेछ । यस्ता आधुनिक प्रविधिको अबलम्बनले सेवा प्रवाह प्रभावकारी हुनाको साथै सेवाको लागत खर्चसमेत घटाउन मद्दत पुग्नेछ ।

आगामी दिनमा प्राधिकरणले विद्युत माग व्यवस्थापन तथा ऊर्जा दक्षता कार्यक्रममा विशेष जोड दिनेछ । ऊर्जा दक्षता भएका लीड चिम, पङ्खा, क्यापासिटर बैंक, पानी तान्ने मोटर लगायतका उपकरणहरुको प्रयोगमा व्यापकता ल्याई ऊर्जाको उच्च माग व्यवस्थापन गरिनेछ । नेपाल विद्युत प्राधिकरणसँग मुलुकभर रहेको सञ्चार नेटवर्क  (Optical Fiber) तथा जग्गा जमिनको समुचित उपयोगबाट प्राधिकरणले उल्लेख्य आम्दानी गर्नसक्ने देखिन्छ । अप्टिकल फाइवरको विस्तार गरी आयआर्जन गर्ने, प्राधिकरणको जग्गामा व्यावसायिक भवनहरु निर्माण गर्ने, मौजुदा पोल प्लाण्ट तथा ट्रान्सफरमर वर्कसपहरुलाई नयाँ पोल तथा ट्रान्सफरमर उत्पादन गर्न सक्नेगरी विस्तार तथा स्तरोन्नती गर्ने लगायतका व्यावसायिक क्रियाकलापहरु प्राधिकरणले अघि बढाइएको छ ।

प्राधिकरणको एक मात्र भारप्रेषण केन्द्रलाई स्तरोन्नती गरी क्षेत्रीयस्तरमा समेत विस्तार गरिनेछ ।

प्राधिकरणले निकट भविष्यमा लागू गर्ने Enterprises Resource Planning-ERP मार्फत् संस्थागत कार्यक्षमता र व्यावसायिक क्षमतामा वृद्धि हुने अपेक्षा गरीएको छ । साथै संस्थाको कामकारबाहीहरु कागजविहिन र डिजिटल बनाउनेतर्फसमेत प्राधिकरण अग्रसर रहेको छ ।

विद्युत व्यापारलगायत नेपाल विद्युत प्राधिकरणको संस्थागत एवं प्रणाली योजनासँग सम्बन्धित कार्यहरु प्रभावकारी बनाउन अल्पकालीन तथा दिर्घकालीन रणनीतिक योजनाहरु तयार गरी लागू गरिनेछ ।

विद्युत व्यापार व्यवसाय आगामी दिनहरुमा चुनौतीपूर्ण देखिन्छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी र चिलिमेका सहायक कम्पनीहरुबाट निर्माणाधीन २७० मेगावाट बराबरका आयोजनाहरु सम्पन्न भई राष्‍ट्रिय प्रणालीमा जोडिएपश्चात् प्रणालीमा सुक्खा मौषममा विद्युत अपुग हुने र वर्षायाममा विद्युत उत्पादन बढी भई खेर जान नदिन अन्तरदेशिय व्यापार र इनर्जि बैंकिङमा जोड दिनुपर्ने देखिन्छ । यसै अनुसार भारतका विभिन्न राज्यहरुसँग अन्तरदेशीय विद्युत व्यापार एवं इनर्जि बैंकिङ पद्दतिमा विद्युत आदान-प्रदान गर्ने योजना प्राधिकरणको रहेको छ । यसका साथै अफ पिक आवरमा स्वदेशमै विद्युत खपत गर्नसमेत प्रोत्साहन गरीनेछ ।

आयोजनाहरुको प्रभावकारी कार्यान्वन तथा सञ्चालनका लागि प्राधिकरणमा कार्यरत कर्मचारीहरुलाई उपयुक्त तालिम प्रदान गरी निजहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक देखिएको छ । विभिन्न पदमा कार्यरत कर्मचारीहरुलाई आवश्यकता अनुसार तालिम प्रदान गर्न सक्नेगरी भक्तपुरस्थित तालिम केन्द्रको पुनर्संरचना एवं स्तरोन्नती गरिनेछ । तालिमको लागि आवश्यक प्रशिक्षकहरुको व्यवस्थाका लागि अन्तराष्‍ट्रिय सँस्थाहरुसँग समेत समन्वय गरी तालिम केन्द्रलाई अन्तर्राष्‍ट्रियस्तरको उत्कृष्ट तालिम केन्द्रको रुपमा विकास गरिनेछ ।

आधुनिक प्रविधिको उच्चतम् प्रयोग तथा प्रभावकारी सेवा प्रवाहबाट प्राधिकरणको वित्तीय अवस्थामा सुधार आई संस्थाको विकास एवं छवीमा सुधार आउनेमा प्राधिकरण विश्‍वस्त छ । आगामी दिनहरुमा सक्षम र सुदृढ प्राधिकरण निर्माणका लागि हाम्रा समग्र प्रयासहरु केन्द्रित हुनेछन् ।

आभार

नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु । नेपाल विद्युत प्राधिकरणलाई सहि दिशानिर्देश गरी सक्षम संस्थाको रुपमा विकास गर्न बहुआयामिक, गतिशिल एवं अग्रसर नेतृत्व प्रदान गर्नुहुने माननीय ऊर्जा मन्त्रीज्यूप्रति कृतज्ञ छु ।

नेपाल विद्युत प्राधिकरण ऐन २०४१ मा व्यवस्था भएबमोजिम संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि गरी नीतिगत निर्णय गर्न र प्रभावकारीरुपमा सेवा सञ्चालन गर्नसमेत अमूल्य सल्लाह, सुझाव दिनुहुने प्राधिकरण सञ्चालक समितिका अध्यक्षज्यू एवं सदस्यज्यूहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

ऊर्जा क्षेत्रको विकासका लागि निरन्तर सहयोग, प्रोत्साहन तथा संरक्षकत्व प्रदान गर्ने नेपाल सरकार, ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र अन्य मन्त्रालयसमेतमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

नेपाल भारतबीच अन्तरदेशीय  प्रशारण लाइन निर्माण गर्न र विद्युत आयात निर्यात गर्नमा निरन्तर सहयोग र समर्थन गर्ने काठमाडौंस्थित भारतीय राजदुतावास र नयाँ दिल्लीस्थित नेपाली राजदुतावासप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

हाम्रा नियमित काम कारबाहीहरुलाई अनुगमन तथा पुनरावलोकन गरी सहयोग गर्नुहुने सम्बद्ध संसदीय समितिहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

नेपाल विद्युत प्राधिकरणका विभिन्न काम कारबाहीहरुमा संलग्न भई सहयोग पुर्‍याउनुहुने बैंक, लेखापरिक्षक, निजी प्रवर्द्धक, आपूर्तिकर्तासमेतलाई धन्यवाद दिन चाहन्छु ।

नेपाल विद्युत प्राधिकरणलाई विद्यमान अवस्थासम्म ल्याइ पुर्‍याउन योगदान गर्नुहुने प्राधिकरणका पूर्व व्यवस्थापक एवं कर्मचारीप्रति हार्दिक आभार प्रकट गर्दछु ।

जुनसुकै परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक कार्यसम्पादन गरी व्यस्थापनको हरेक क्रियाकलापमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरु, आधिकारीक तथा क्रियाशिल ट्रेड यूनियनलाई धन्यवाद दिन चाहन्छु ।

प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पुर्‍याउनुहुने सञ्चार गृह तथा पत्रकार मित्रहरुमा विशेष धन्यवाद दिन चाहन्छु ।

अन्त्यमा, कठिन परिस्थितीमा समेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवं सद्‍भाव राखी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण ग्राहक एवं विभिन्न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै ज्यालो नेपाल अभियान अन्तर्गत आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्‍त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।  विद्युत् प्राधिकरणको वार्षिकउत्वसमा कुलमान घिसिङले दिएको मन्तब्य 


क्लिकमान्डु