मोरङ-सुनसरी सिँचाइ आयोजनामा ८० करोडको क्षति, धानमा पानी लगाउन समस्या हुने



मोरङ । केहि दिनअघिको अविरल वर्षाका कारण आएको बाढिले मोरङ –सुनसरी सिँचाइ आयोजनामा करिब ८० करोड रुपैयाँको क्षति भएको छ ।

उक्त आयोजनाको मुख्य नहर साउन २६ गते नै बन्द गरिएको थियो । पूर्व सतर्कता नभएको भए अझै कति क्षति हुन्थ्यो होला ? कसैले यकिन गर्नै सक्दैनथ्यो । नहरको मुहानै थुनिए पनि धेरै ठाउँका गाउँलेले नहर काटेर बाढीको पानी हालेपछि क्षति बढी भएको हो ।

कुल ६० क्युमेक्स पानी बग्नसक्ने क्षमताको मुख्य नहरमा पानी बढी भएपछि लोहोन्द्रा खोलाको १५३ मिटर लामो पुल नै भत्काइदिएको हो ।

आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठकाले पुल बनाउन कम्तीमा ४१ करोड रुपैयाँ लाग्ने जानकारी दिए । उनका अनुसार प्रारम्भिक अध्ययन गर्दा ८० करोडको क्षति भएको अनुमान गरिएको छ । सबै क्षतिको विवरण आएपछि मूल्य बढ्न सक्छ, ।

‘महेन्द्र राजमार्गमा पर्ने झुम्काबाट उत्तर बग्ने दत्तकिच्चा खोलाको बाढी बग्दै आएर २७ गते राति नै मुख्य नहरमा पस्यो’,उनले भने, झुम्कादेखि उत्तर मुख्य नहरको दुई ठाउँमा मानिसले काटे र गाउँमा भरिएको पानीलाई निकास दिए ।

यसरी विभिन्न १७ ठाउँमा मुख्य नहर काटेर बाढी र खोल्साखोल्सीको पानी नहरमा मिसाएपछि ठूलो क्षति भएको हो ।
‘धानवालीमा पानी चाहिन्छ , उनले भने, ‘यसका लागि भदौ २२ गतेभित्र पानी छाड्ने तयारीमा छौँ । अस्थायी मर्मत भइरहेको छ ।’

आयोजनाको एक मुख्य र २२ शाखा नहरबाट दुई जिल्लामा ६८ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुन्छ । लोहन्द्रामा मुख्य नहर नै फुटेपछि १२ हजार ३६५ हेक्टर क्षेत्र नहरको सिँचाइबाट वञ्चित भएको छ । अब कुल ५५ हजार ६३५ हेक्टरमा मात्र सिँचाइ सम्भव भएको श्रेष्ठको भनाइ छ । रासस


क्लिकमान्डु