स्वास्थ्य बीमा गर्नेको संख्यामा वृद्धि




बैतडी । बैतडीमा स्वास्थ्य बीमा गर्नेको संख्या वृद्धि हुँदै गएको छ ।।

स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढेको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला प्रबन्धक जनक साउदले जानकारी दिए ।

गतबर्ष पुस ७ गतेदेखि बैतडीमा स्वास्थ्य बीमाको दर्ता प्रक्रिया शुरु भएकोमा २०७३ फागुनबाट सेवा दिने काम शुरु भएको थियो । हालसम्म ३ हजार २७ जनाले स्वास्थ्य बीमा गरेको साउदले जानकारी दिए। ५ जनासम्मको परिवारले २ हजार ५ सय रुपैयाँ तिरेमा ५० हजार रुपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरिएको छ ।

सूचीकृत अस्पतालमा मात्रै निःशुल्क उपचार हुने उनले बताए । ५ जनाभन्दा बढी संख्या भएको परिवारका लागि ४ सय २५ का दरले थप शुल्क लाग्ने बताइएको छ ।

जिल्लामा स्वास्थ्य बीमा गरेकामध्ये ३ सय २७ जनाले सेवा समेत लिइसकेका छन् । स्वास्थ्य बीमाअन्तर्गत शुरुमा ५ सय ३० प्रकारका औषधि निःशुल्क रुपमा दिने व्यवस्था गरिएको भए पनि अहिले ९ सय २८ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने गरिएको साउदले बताए । स्वास्थ्य बीमाका लागि जिल्लाभरि दर्ता सहयोगी रहेको सामाजिक सुरक्षा विकास समिति बैतडीले जनाएको छ । रासस


पुष्प दुलाल