काठमाडौंका ‘भुस्याहा’ कुकुर, लाखौं खर्चेर पुर्याइन्छ अमेरिका र क्यानडा



काठमाडौं । ‘भुस्याहा कुकुर’ अर्थात् काठमाडौंमा सबैभन्दा हेपिएको प्राण भएको चीज । खुट्टा भाँचिएका, आँखा फुटेका, अनेक छालाको रोगले ग्रसित । काठमाडौंले छिछि र दुरदुर गर्ने तिनै कुकुर जेट बिमान चढेर अमेरिका, क्यानडा र युरोपका धनाड्यका घरमा पुग्छन् भन्दा अनौठो मान्नुहोला ।

वर्षको एकदिन त हामी पनि खोजी खोजी पुज्छौँ नि – कुकुर तिहारको दिन । माला लगाइदिन्छौँ, पेटभरी खान पनि दिन्छौं । बाँकी ३ सय ६४ दिन हामीले कुकुर सम्झिने भनेको खराब मान्छेलाई गाली गर्न मात्र हो । ‘तँ कुकुर, तँ गधा’।

२५ देखि ३० हजारको संख्यामा काठमाडौंमा बेवारिसे सडक कुकुर रहेको अनुमान छ । अस्तव्यस्त सहरी जीवनका उत्पादन यस्ता कुकुरको पीडाले मन छोएर केही स्वदेशी र विदेशी अभियन्ताहरू जुरमुराउन थालेका छन् । यिनको उद्धार र व्यवस्थापनमा केही नमुना काम भएका छन् ।

१० दिनका लागि नेपाल घुम्न आएकी जर्मन नागरिक डानिला ड्रिसलाई काठमाडौंका कुकुरको हबिगत देखेर मन पोल्यो । आफ्नो मुलुकमा परिवारको सदस्यकै रूपमा रहने कुकुरको काठमाडौंको बिजोग देख्न सकिनन् उनले । काठमाडौंमै बसेर सामाजिक संस्थामा कार्यरत पोल्याण्डकी जुलिया क्रेप्सका र नेपाली युवती रितु थापाको साथ लिएर डानिलाले नेपाली सडक कुकुरको उद्दार थालेको अहिले एक वर्ष पुग्न लागेको छ ।

रितु, जुलिया र डानिला

फेसबुकमा ‘डन्ट प्यानिक नेपाली डग्स, वि विल फाइन्ड अ होम’ नामको ग्रुप बनाएर अभियान थालेको यो ग्रुपले अहिलेसम्म अति आपतमा परेका ३ दर्जन कुकुरको उद्धार गरेको छ । उद्धार गरिएका अधिकांश कुकुर अमेरिका र क्यानडा पुगेका छन् ।

किन पठाइन्छ विदेश ?

यो समूहले उद्धार गरिएका कुकुरलाई सुरुमा नेपाली परिवारलाई नै जिम्मा लगाउने सोच बनाएको थियो । केही परिवारले गरे पनि । तर, अधिकाशं परिवारले कुकुरलाई राम्रो व्यवहार गर्न नसकेपछि विदेश पठाउनु परको हो भन्छिन् जुलिया ।

‘सडकबाट उठाएर, उपचार गरेर कसैलाई जिम्मा लगाएको कुकुर फेरि सडकमा नै पठाइन्छ भने त्यसको अर्थ के रह्यो र ?’

उद्धार पछी के हुन्छ?

अप्ठेरो अवस्थामा परेका, गम्भीर घाइते कुकुरको जानकारी फेसबुक ग्रुप मार्फत उनीहरूसम्म आइपुग्छ । उद्धार गरिएका कुकुरलाई उपचार गरेर आफूसँगै वा चिनेको साथीको जिम्मा लगाउँछ यो समूहले । कतिपय कुकुरको उपचार निकै खर्चिलो र लामो समय लाग्ने पनि हुन्छ । पाल्तु जनावरको उपचार गर्ने अस्पताल काठमाडौंमा कमै छन् । एक्सरे गर्न मान्छे अस्पताल पुग्दा कतिपय त छक्कै पर्छन रे !

एक्सरे गर्न मान्छे अस्पताल पुग्दा कतिपय त छक्कै पर्छन रे !

कुकुरको तस्विर र भिडियो फेसबुकमा राखेर पाल्न इच्छुकलाई आह्वान गर्छन् । नियमित खोप, आवश्यक पोषण -खुराक दिएर, मेहनत गरेर उनीहरूले ‘कुकुर’बाट ‘पप्पि’ बनाइसकेका हुन्छन् । धेरै नेपालीले पनि पाल्न रहर गर्छन् । तर, उनीहरूको प्राथमिकता भने विदेशीलाई नै छ ।

विदेश पठाउन निकै महँगो पर्छ । त्यति पैसामा त धेरै कुकुरको उद्धार गर्न सकिने थियो नि भन्ने उनीहरूलाई पनि नलागेको होइन । तर, नेपालमा सडक कुकुरलाई साँच्चिकै माया गरेर पाल्नेको अभाव छ भन्छिन् जुलिया ।

कति खर्च लाग्छ विदेश पठाउन ?

क्यानडा र अमेरिका पठाउन निकै खर्चिलो छ । कार्गो मार्फत पठाउँदा एउटा कुकुरकै १ लाख भन्दा बढि तिर्नु परेको छ । जहाजकै कोही यात्रुले आफुसँगै लगिदिए भने यसको आधा खर्चमै पठाउन सकिन्छ ।

युरोप पठाउन भने अलि सस्तो छ । तर, कानुनी झन्झट बढि । अमेरिका र क्यानडाले नियमित भ्याक्सिन पूरा भएको कुकुरलाई सजिलै अनुमति दिन्छन् । तर, युरोपको झन्झटिलो कानुनले प्रकृया पूरा गर्नै ४ महिना जति लाग्छ । छिट्टै केही कुकुर जर्मन पठाउने तयारी भएको जुलियाले बताइन् ।

खर्च कसले ब्यहोर्छ ?

पाल्न लिन चाहेका परिवार आफै खर्च गर्न सक्ने छन् भने काठमाडौंदेखिको खर्च उसैले बेहोर्छ । नसक्ने हो भने इन्टरनेट क्राउड फन्डिङ वा अरू च्यारीटी संस्थाबाट सहयोग उठाइन्छ ।

माया, भाटभटेनिदेखि सेन्ट लुइससम्म

गएको पुसको एक चिसो बिहानको कुरा हो । भाटभटेनी सुपरमार्केटको पार्किङमा पीडाले छट्टपटाइरहेको, कराइ रहेको कुकुरको बच्चा देखिन् जुलियाले । तीन घन्टा अगाडि पार्किङबाट बाहिरिएको कारले ठक्‍कर दिएर पछाडिको देब्रे खुट्टामा गम्भिर चोट लागेको थियो । रगत जताततै लतपत । सेकुरिटी गार्ड र अरू केही वरपर रमिता मात्र हेर्दै थिए । जुलियाको मनले मानेन ।

तुरुन्तै चाबहिल स्थित एक भेटनरीमा पुर्याएर कुकुरको उपचार सुरू गरिन् । खुट्टा भाँचिएको रहेछ । तुरुन्तै अप्रेसन गरियो । उपचारमा करिब २० हजार रूपैयाँ जति खर्च भयो । त्यसपछि जुलियाले आफैंसँग राखिन्, उसको नाम राखिन – माया ।

माया केही महिना जुलियासँगै बस्यो । उद्धार गरिएका सबै कुकुर उनी आफूसँग राख्न सक्दिनथिन् । चितवनको एक परिवारले पाल्ने रहर गरेपछि उनले जिम्मा लगाइन् । सडकबाट उठाएको कुकुरले एउटा राम्रो परिवारको साथ पायो, उनी खुसी थिइन ।

चितवनमा मायाले परिवार त सोचेजस्तो पायो । तर, छिमेकीसँग समस्या भयो । आफ्ना बच्चा बच्चीको पछि लाग्यो, सुमसुम्यायो, उफ्रियो भनेर छिमेकीले गुनासो गरे । लगेको छ महिनापछि परिवारले पाल्न नसक्ने भनेर जुलियालाई काठमाडौंमा खबर आयो ।

कुकुरको सबै विवरण र तस्विर राखेर जुलिया र उनका साथीहरूले इन्टरनेटमा विभिन्न साइट र फेसबुक ग्रुपमा प्रचार गरे । अमेरिकाको सेन्ट लुइसस्थित एक परिवार कुकुर जिम्मा लिन इच्छुक भयो, नेपालबाट अमेरिका पुग्न लाग्ने खर्च समेत आफै बेहोर्न तयार भयो ।

अमेरिकासम्म पुर्‍याउन मायालाई एक लाख भन्दा बढि खर्च लाग्ने थियो । एकजना महिला यात्रुले प्लेनमा आफूसँगै लैजान तयार भइन् । जम्मा ५० हजार जति खर्चमा अमेरिका पुग्यो माया । माया अहिले अमेरिकी परिवारसँग खुसी छ ।

खुट्टाको अप्रेसन पछि माया

चितवनबाट झोलामा फर्किदै माया

सेन्ट लुइसमा आफ्नो परिवारसँग माया

यो समूह जस्तै अरू केही स्वदेशी, विदेशी यस्ता अभियानमा संलग्न छन् । केही उद्धारमा, केही उपचारमा केन्द्रित छन् त केही कुकुर पाल्ने परिवार खोजिदिन ।  क्याट सेन्टर, कपन, एनिमल नेपाल, स्ट्रीट डग केयर जस्ता आधा दर्जन संस्था औपचारिक रूपमै दर्ता भएर काम गरिराखेका छन् ।

——

‘काठमाडौंले कुकुर चिन्दैन’

उनको देशमा काठमाडौंका जस्ता सडक कुकुर एकादुई पाउन पनि मुस्किल छ रे । तर, थुप्रै देशको भ्रमणको अनुभवबाट नेपालका सडक कुकुर निकै सहनशील, आज्ञाकारी र भलाद्मी छन् भन्छिन् जुलिया ।

‘मैले थाइल्यान्ड, फिलिपिन्स जस्ता देशमा सडक कुकुर अत्यन्त आक्रामक र अराजक भएको पाएकी छु । तर, काठमाडौंका कुकुर निकै शान्त छन् । यतिका संख्याका कुकुर भएर पनि कुनै ठूलो समस्या भएको छैन,’ उनी भन्छिन् ।

काठमाडौंका सडकमा अनेक जातका कुकुर पाइन्छन् । जर्मन सेफर्ड जस्ता महंगा कुकुरदेखि हाम्रा स्थानीय जातको छ्यासमिस भेटिन्छ । काठमाडौंमा केही सौखिनहरू भाले (डाँगो) कुकुर मात्र पाल्न तयार हुन्छन् । तर, विदेशतिर धेरैले पोथी (छाउरी) रूचाउँछन् ।

काठमाडौंका सडकमा अनेक जातका कुकुर पाइन्छन् । जर्मन सेफर्ड जस्ता महंगा कुकुर देखि हाम्रा स्थानीय जातको छ्यासमिस भेटिन्छ ।

अहिले यी युवतीहरूको ग्रुपमा साढे सत्र सय सदस्य बनि सकेका छन् । अधिकाशं नेपालीले भाले (डाँगो) कुकुर छ भने पाल्छु भनेर सम्पर्क गर्छन् रे । तर, विदेशतिर धेरैले पोथी (छाउरी) रूचाउँछन् । छाउरीहरू स्वभावमा कम चनचले र आज्ञकारी हुने भएकोले यसो हुन्छ भन्छिन जुलिया । नेपालमा भने छाउरीले बच्चा पाउने र फोहोर गर्ने भन्दै पालिदैन। खासमा थोरै खर्चमा त्यसको उपचार गरे, डाँगो भन्दा छाउरी पाल्न सजिलो हुन्छ रे ।

धन्य छन् मासु पसले !

धेरै सडक कुकुरहरूको पेट भर्ने मेसो बनेका छन् काठमाडौंका मासु पसले । मासु पसलको वरिपरी हेर्नुहोस् ५-७ वटा कुकुर त हुन्छन् हुन्छन् । धेरथोर खान पाएकै हुन्छन् । अन्यत्रका कुकुरको भन्दा यिनीहरूको स्वास्थ्य नि राम्रो छ भन्छिन जुलिया ।

ठाउँ अनुसार पनि कुकुरको अवस्था फरक छ । टेकु, स्वम्भु, डल्लु जस्ता क्षेत्रमा सडक कुकर सबैभन्दा नाजुक अवस्थामा बाँचिरहेका छन् ।


क्लिकमान्डु