व्यावसायिक कृषिमा अनुकरणीय बन्दै बाघमारा



पोखरा। शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनाकर्षण बढिरहेको अवस्थामा कास्कीस्थित बाघमाराले भने व्यावसायिक कृषिको आकर्षक क्षेत्रका रुपमा आफ्नो पहिचान बनाएको छ ।

पछिल्लो समयमा शहरीकरणको विकास तथा विस्तार भइरहँदा हाल पोखरा लेखनाथ महानगरपालिका–३३ मा पर्ने यो ठाउँका कृषक व्यावसायिक कृषिका माध्यमबाट आयआर्जनको क्रमलाई पनि सँगसँगै अघि बढाएका छन् ।

व्यावसायिकरुपमा फस्टाउँदै गएको दुग्ध उत्पादनका साथै तरकारी खेतीसँगै बाघमारा दूधको शहरका रुपमा घोषणा हुन सफल भएको छ ।

२ दशक अघि २०५० सालमा बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध संकलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यावसायिकतामा विकास भएको अगुवा कृषक खगेन्द्र अधिकारीले बताउँछन् ।

‘तत्कालीन समयदेखि नै बाघमारामा दुग्ध व्यवसायले व्यावसायिक रुप लिँदै गएको हो, उक्त समयमा अधिकतम १ सय६० लिटरसम्म दूध यहाँबाट दुग्ध विकास संस्थानलाई दिन हामी सफल बनेका थियौं, उनले भने ।

शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकोमा २०६१ साल भदौदेखि निजीस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध संकलन गर्न थालेको थियो ।

अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसंगै गाईपालनको वातावरण थप बढेको बताउँदै अधिकारीले उक्त समयमा २ सय ५० लिटरसम्म दूध संकलन हुने गरेको जानकारी दिए।

शुरुमा २०५०/५१ सालतिर तालचोकसम्म दूध पुर्याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोक दूध संकलन केन्द्रका रुपमा विकास भएको थियो ।

केही वर्षयता चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारीसाधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ ।

बाघमाराबाट बजारमा दूधको बढ्दो मागका साथै पछिल्लो समयमा स्थानीय युवा पनि यसतर्फ आकर्षित बन्न थालेको चिरगादी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष विश्वेश्वर हरामीले बताए ।

‘दुग्ध उत्पादनमा बढिरहेको आकर्षणसँगै हाल पोखरालेखनाथ महानगरपालिका-३३ भरतपोखरीबाट दैनिक ५ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ, दूधको उत्पादनका लागि गाईभैँसीपालनका साथै अन्य व्यावसायिक तरकारीखेतीतर्फ पनि आकर्षण बढ्दै गएको छ, उनले भने ।

बाघमारा क्षेत्रमा व्यावसायिक कृषिमा आकर्षण बढिरहे पनि कृषकले राज्यबाट प्राप्त गर्ने सेवा सुविधा पाउन नसकेको उल्लेख गर्दै उनले कृषकलाई प्रोत्साहित गर्नका लागि राज्य उदार बन्नु अपरिहार्य भएको बताए ।

पछिल्लो समयमा गाईफार्म सञ्चालनमा पनि लहर आउन थालेको सनराइज मल्टी एग्रो फार्मका सञ्चालक सरोजराज अधिकारी बताए ।

‘व्यावसायिकताको विकाससँगै फार्म नै सञ्चालन गरी यस क्षेत्रमा पशुपालनतर्फ कृषक सक्रिय बन्न थालेका छन्, यातायातको सहजताका साथै बजारको बढ्दो मागका कारण यसतर्फ आकर्षण बढ्दै गएको हो,’ उनले भने ।

दूधको बिक्री वितरणको सहजताका लागि हाल यस क्षेत्रमा ८ वटा दूध संकलन केन्द्र सञ्चालनमा आएका छन् । फार्म सञ्चालनका साथै अधिकारीले आसपासमा उत्पादित दूधसमेत खपत गर्ने गरी २०७० सालदेखि सनराइज डेरी पनि सञ्चालनमा ल्याएका छन् ।

दुग्ध व्यवसायमा आकर्षण बढ्दै गएका कारण स्थानीय सक्रियतामा बृहत्तर गाईपालन समिति गठन गरिएको सो समितिका सदस्य चन्द्रप्रसाद पौडेलले बताए ।

समितिसँग ५ सयको हाराहारीमा सदस्य आबद्ध भएको बताउँदै उनले हालै पोखरालेखनाथ महानगरपालिका-३३ लाई (साविक लेखनाथ नगरपालिका वडा नं १६, १७ र १८) लाई नगरस्तरीय कार्यक्रमअन्तर्गत एक महिना अघि ‘दूधको शहर’ घोषणा गरिएको बताए ।

व्यावसायिकताको बढ्दो विकाससँगै यस क्षेत्रका स्थानीय युवा आफ्नो अन्य पेशाका अतिरिक्त कृषिजन्य उत्पादनलाई पनि प्राथमिकता दिन थालेका छन् ।

विगत २३ वर्षयता आफ्नो मुख्य पेशा शिक्षण बनाएका युवा बाबुराज आचार्यले पाँच वर्षयता कुरिलोखेती गर्दै आइरहेका छन् । ‘एउटा पेशा मात्र सम्हाल्नुभन्दा पनि समयको सदुपयोग र थप आयआर्जनका लागि एक रोपनीभन्दा बढी क्षेत्रफलमा व्यावसायिक कुरिलोखेती गर्दै आएको छु, बजारमा कुरिलोको माग अत्यधिक छ, उत्पादन गर्नसके जति पनि खपत हुन्छ,’ उनले भने ।

बाघमारामा व्यावसायिक कृषिप्रति बढिरहेको आकर्षणसँगै कृषकलाई अझै अभिप्रेरित गर्नका लागि राज्यको साथ र सहयोग अपरिहार्य भएको स्थानीयवासी बताउँछन् । रासस


क्लिकमान्डु