रिलायबल लाइफ पनि दशै अगाडि नै संचालनमा आउने




काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले संचालनको अन्तिम स्वीकृति पाएको छ । बिहिबार (आज) कम्पनीले नियामक निकाय बीमा समितिबाट अन्तिम स्वीकृति पाएको हो ।

सो कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले जानकारी दिए ।

कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी प्रमोटरको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ । कम्पनीलाई बीमा समितिले गत साउन २० गते संचालनको अनुमति दिएको थियो ।

रिलायबल लाइफमा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनी, पूर्वमहान्यायाधिबक्ता सुशीलकुमार पन्त, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, पूर्वसचिब उदयनेपाली श्रेष्ठ, केशर बहादुर रायामाझी, अमेरिकामा रहेका गैरआबासीय नेपाली गौरीराज जोशी, कान्तिपूर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, पूर्वडेपुटी गभर्नर बीरबिक्रम रायामाझी, शम्भू प्रसाद गौतम, जनार्दनदेब पन्त, रिलायबल डेभलपमेन्ट बैंक, सेन्चुरी कमर्शियल बैंक, कालु गुरुङ, सुरिद घिमिरे, गौरब अग्रवाल लगायत २८० जना प्रमोटर छन् । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने प्रमुख कार्यकारी अधिकृत लोहोनीले जानकारी दिए ।

कम्पनीको कार्यालय स्थापना भएको र संचालनको लागि आवश्यक जनशक्ति तथा अन्य पूर्वाधार तयार भइसकेको लोहोनीको भनाइ छ । रिलायबलले दशै अगाडि नै आफ्नो कारोबार सुरु गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु