बयालीस वर्षपछि सडक स्तरोन्नति



उदयपुर । बयालीस वर्षपछि गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति गर्न थालिएको छ ।

जिल्लाकै सबैभन्दा पुरानो र सदरमुकाम गाईघाटलाई सप्तरीलगायत बाहिरी जिल्लासँग जोडने सो सडक विश्व बैंकको आर्थिक सहयोगमा स्तरोन्नति गर्न लागिएको हो ।

गाईघाट–फत्तेपुर ९सप्तरी० सडक खण्डको २०२४ सालमा उदयपुरगढीसम्म यातायात सञ्चालन गर्ने उद्देश्यले ट्र््याक खोलिएको थियो । करिब ३० किलोमिटर लामो सो सडक खण्डको १० किलोमिटरमा अहिले स्तरोन्नति गर्न थालिएको छ भने बाँकी २० किलोमिटरमा माटो काट्ने, पुर्ने, ग्राभेल गर्ने, पक्की नाली बनाउने, ह्युम पाइप राख्ने, स्ल्याब कल्भर्ट निर्माणलगायतको काम भइरहेको छ ।

बर्षभरि सडक सञ्चालन सुचारु हुनेगरी स्तरोन्नति गर्न लागिएको स्थानीय विकास अधिकारी गणेश दाहालले बताए । राष्ट्रिय ग्रामीण यातायात सुदृढिकरण कार्यक्रम एसएनआरटिपी अन्तर्गत करिब ५ करोडको लागतमा १० किलोमिटर सडक कोलोपत्र तथा बाँकी भागमा ग्राभेल गरिने उहाँले बताए ।

अघिल्लो वर्ष ग्राभेल गरिएको त्रियुगा नगरपालिका–७ मोतिगढादेखि जोगिदहको हाटखोलासम्म सडक स्तरोन्नति गरिनेछ । बाँकी भागको स्तरोन्नतिका लागि रु पाँच करोड ९८ लाखमा ठेक्का दिने प्रकृया शुरु भएको छ ।

कालोपत्र गरिने खण्डमा दायाँबायाँ दुबैतर्फ १०÷१० मिटरको चौडाइमा कालोपत्र गरिने जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । सडक स्तरोन्नति गरिएपछि जिल्लाको पूर्वी क्षेत्रका ग्रामिण भेगका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने हडियाका अर्जुन दाहालले बताए। सदरमुकाम गाईघाट पूर्वका ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको कृिष उपजले बजार समेत पाउने छ ।

‘सडक स्तरीय नहुँदा कृषि उपज वर्षौँदेखि खेतबारीमै कुहिने गरेको छ,’ उनले भने ।

गाईघाट–फत्तेपुर सडक सञ्चालन भएपछि गाईघाटदेखि धरान, विराटनगरलगायतका पूर्वका विभिन्न शहरसम्म यातायात सेवा सहज हुनेछ । सडक सञ्चालन नहुँदा सदरमुकाम गाईघाटपूर्वका यात्रु सिरहा र सप्तरी भएर लामो बाटो प्रयोग गर्न बाध्य छन् । रासस


क्लिकमान्डु