एउटै भोटे कुकुरको मूल्य १ करोड ५० लाख ! यी हुन् संसारका महँगा कुकुर



नेपाली कुकुर सौखिनहरूले प्रायः नाम लिने जात हुन- जर्मन सेफर्ड, जापनीज स्पीज, साइबेरियन हक्सी यस्तै, यस्तै । हजारौं रूपैयाँ खर्चेर विदेशबाट भित्राइने यस्ता कुकुर पाल्न पैसाको थैली पनि पनि गह्रौं नै चाहिन्छ । हाम्रो हावापानीमा घुलमिल गराउन खानपान र हेल्थ केयरमा नियमित मोटो रकम खर्चिनु पर्छ कुकुर पाल्नेले ।

हाम्रो उत्तरी हावापानीमा सजिलै हुर्किने भोटे कुकुर (टिबेटियन मास्टिब) संसारमै महँगो जातको कुकुर हो भन्दा कतिपयलाई अनौठो लाग्ला । उत्तरी चीनका एक कोइला व्यापारीले डेढ करोड रूपियाँमा केही समय अगाडि ११ महिना उमेरको भोटे कुकुर खरिद गरेका थिए । अहिलेसम्मको रेकर्डमा संसारकै महँगो मूल्यमा बिक्री भएको कुकुर यही नै हो ।

गाढा रातो रंगको यो कुकुरको नाम ‘बिग स्पलास’ हो । बेलायतको द टेलिग्राफसँग कुरा गर्दै कुकुरका बिक्रेता लु लिआङले कुकुरको विशेषता अनुसार यति मूल्य अनौठो नभएको तर्क गरेका छन् । करिब ८२ किलो तौलको उक्त कुकुर तीन फिट उचाइको छ । ‘कुकुर निकै स्मार्ट छ, किन्नेले यसको लगानी सजिलै उठाउने छन् ।’ – लिआङले भने ।

कुकुरका बिक्रेता लु लिआङले कुकुरको विशेषता अनुसार यति मूल्य अनौठो नभएको तर्क गरेका छन् । करिब ८२ किलो तौलको उक्त कुकुर तीन फिट उचाइको छ ।

के हो भोटे कुकुर?

नेपाल, तिब्बत, भुटान लगायत हियालयन क्षेत्रको आदिवासी जाती मानिने भोटे कुकुर अरू सबै जात भन्दा पुरानो जात मानिन्छ । ५८ हजार वर्ष पहिले ब्वाँसोबाट विकसित भएको मानिने भोटे कुकुरले हजारौं वर्ष तिनै ब्वाँसोहरूबाट भेडा बाख्रा, गाई र मान्छेको पहरेदारी  गर्दै आएको छ ।

अरू कुकुर भन्दा निकै निरोगी मानिने भोटे कुकुरको सरदर आयु १४ वर्ष हो । यो कुकुरलाई ठूलो ‘केयर’को जरुरी छैन, तर पर्याप्त दौडिन र ऊफ्रिन भने पाउनु पर्छ । उच्च रेखदेख सहित पालेका कुकुरले पनि उसिनेको माछा, अन्डाको धुलो, कलेजोको तेल र जनावरका हड्डी जस्ता अर्गानिक खानेकुरामा रमाउन सक्छन् ।

अति आज्ञाकारी मानिने भोटे कुकुरले दुर्घटना हुन अगाडि नै संकेत पाउने क्षमता राख्ने विश्वास गरिन्छ । हिमाली भेगमा सयौं संख्याका भेडा, चौरीको रेखदेख गर्न एउटै भोटे काफी हुन्छ । अनौठो के छ भने मान्छेका केटाकेटीलाई यसले अति नै माया गर्छ ।

चिनियाँ सान

चीनमा नव धनाड्यहरूको ठूलो संख्यामा वृद्दी हुँदा उनिहरूका अनेकौं सोखहरू पनि बढ्दै गएका छन् । चिनियाँहरू भोटे कुकुरबाट सान र सुरक्षा दुबै हुन्छ भन्ने विश्वास गर्दछन् । त्यसैले चीनमा अहिले कस्ले महंगो भोटे पाल्ने भन्ने एक किसिमको प्रतिश्पर्धा नै देखिन्छ । महंगा कारमा भोटे कुकुर राखेर हिँड्नु धनाड्यको परिचय नै बनेको छ ।

चीनमा अहिले कस्ले महंगो भोटे पाल्ने भन्ने एक किसिमको प्रतिश्पर्धा नै देखिन्छ । महंगा कारमा भोटे कुकुर राखेर हिँड्नु धनाड्यको परिचय नै बनेको छ ।

अहिले सामान्य भोटे कुकुरको पनि चीनमा नेपाली रूपैयाँ ५ लाख भन्दा बढिमा बिक्री हुन्छ । संसारमा भोटे कुकुरको सरदर मूल्य २ लाख ५० हजार हो । बेलायतमा जम्मा ३ सयको संख्यामा मात्र यस्ता कुकुर भएको डेलीमेलको रिपोर्टमा उल्लेख छ ।

यस्तो संभावना छ है!

हाम्रो हावापानीमा सजिलै हुर्काउन सकिने भोटे कुकुरको अन्तराष्ट्रिय बजार मापदन्ड र सम्भावना अध्ययन गरेर व्यवसाय थाल्ने हो भने नेपालले सानो लगानीमै करोडौं रूपैयाँको निर्यात गर्न सक्ने देखिन्छ ।

संसारकै महँगा कुकुरका जात (सरदर मूल्य रूपैयाँमा)

१. भोटे (टिबेटियन मास्टिब): २ लाख ५० हजार

२. पोर्चुगी वाटर डग: २ लाख ५ हजार

३. ब्याक रसियन टेरियर: १ लाख ८० हजार

४. आइरिस ओफहनड: १ लाख ८० हजार

५. गोल्डन रिट्राभर: १ लाख

डेली मेल, न्युयोर्क पोष्ट, हफिङटन पोष्ट र गोब्याङ्किङरेट्सको सहयोगमा 

पुनः प्रकाशित गरिएको


क्लिकमान्डु