झलनाथका छोराले पैसा लगेर निर्माण सामाग्री नदिँदा गौतम बुद्ध बिमानस्थल निर्माणमा ढिलाई



काठमाडौं । भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएको ३ वर्षमा २६ प्रतिशत मात्रै निर्माणसम्पन्न भएको छ ।

व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले निर्माणधीन विमानस्थलको काम सन्तोषजनक नभएको ठहर समेत गरेको छ । समितिले निर्माणस्थलको सोमबार स्थलगत अवलोकन गरेर काम सन्तोषजनक नभएको ठहर गरेको हो ।

समितिका सभापति डोरप्रसाद उपाध्ययले निरिक्षणपछि प्रतिक्रिया दिँदै विमानस्थल निर्माणको काम २६ प्रतिशत मात्रै सम्पन्न भएको जनएका छन् ।

‘विमानस्थलको निर्माण क्षेत्रको बारेमा सवै अवलोकन गरेका छौ, के कति कारणले ढिला भयो, यसको जवाफ सम्बन्धित निकायले दिने छन्,’ उपाध्ययले भने ।

निर्भिक खनाल

विमानस्थल निर्माणकार्यको ठेक्का लिएको कम्पनी र उसको नियुक्ति गरेको सप्लायर्स (सब–कन्ट्रयाक्टर) कम्पनीबीचको आन्तरिक विवादका कारण पनि निर्माणकार्य ढिलाई भएको अनुगमनका क्रममा पाइएको लेखा समितिले ठहर गरेको छ ।

आयोजनाको कार्यालयले हालसम्म ८६ प्रतिशत काम सम्पन्न हुनुपर्नेमा २६ प्रतिशत मात्रै काम पुरा भएको समितिका सभापति सहित २६ सांसदको टोलीलाई जानकारी गराएका थिए ।

विमानस्थलमा निर्माण तथा विस्तारका लागि चाहिने गिट्टी बालुवा तथा अन्य सामाग्रीका लागि एमाले नेता झलनाथ खनालपुत्र निर्भिकको कम्पनीले पैसा लगेको तर सामान नल्याइदिएको गुनासो चिनियाँ ठेकेदारको गुनासो छ ।

‘बाँकी काम कसरी ९ महिनामा सकिने हो भन्ने प्रमुख चासोको विषय हो,’ सभापति उपाध्ययले भने ।

आयोजना कार्यालयले भने भूकम्प, तराई/मधेसको आन्दोलन र नदीजन्य पदार्थको अभावका कारण आयोजनामा ढिलाई भएको संसदीय समितिलाई जानकारी गराएको थियो ।

सरकारले एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण गरिरहेको रहेको राष्ट्रिय गौरवको आयोजना सन् २०१८ को मध्यबाट संचालनमा ल्याउने लक्ष्य राखेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पिक विमानस्थलको रुपमा हेरिएको गौतमबुद्ध विमानस्थल चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । हाल प्राधिकरणले विमानस्थल निर्माण गर्न ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरेको छ ।

ठेक्का तोड्ने कसरत

विमानस्थल निर्माणको काममा सन्तोषजनक काम नभएको भन्दै ठेक्का तोड्ने कसरत सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले दशैंसम्म सन्तोषजनक काम नगरे ठेक्का सम्झौता तोड्ने चेतावानी निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीलाई दिइसकेका छन् ।

विमानस्थल विस्तारमा निर्माण समाग्रि सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको चिनियाँ ठेकदारले आरोप लगाउँदै आएको थियो । उक्त कम्पनी नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो ।

आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण समाग्रि खनालको कम्पनीले उपलब्ध नगराएपछि ५ महिनादेखि काम अवरुद्ध भएको थियो । निर्भिकको कम्पनीले आयोजनाको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई निर्माण सामग्री सप्लाइको जिम्मा पाएको थियो ।

विमानस्थलमा निर्माण तथा विस्तारका लागि चाहिने गिट्टी बालुवा तथा अन्य सामाग्रीका लागि निर्भिक कम्पनीले पैसा लगेको तर सामान नल्याइदिएको गुनासो चिनियाँ ठेकेदारले गरेका थिए ।

दुई वर्षअघि काम थाल्दा चिनियाँ कम्पनीका लागि निर्माण सामग्री सप्लाइ कसले गर्ने भनेर नेपाली ठेकेदारहरुबीच घम्साघम्सी चलेको थियो । त्यसबेला एमालेको केन्द्रिय नेतृत्वले हस्तक्षेप गरेपछि झलनाथका छोराको कम्पनी सप्लायर छानिएको थियो ।

तर, सप्लायरले सुरु देखिनै चित्तबुझ्दो काम नगरेको चिनियाँ ठेकेदारको गुनासो छ ।

विमानस्थको स्तरोन्नति पश्चात काठमाडौं आउने अन्तर्राष्ट्रिय उडानका जहाज अवतरणको वैकल्पिक व्यस्वस्थाका रुपमा प्रयोग गर्न सकिने प्राधिकरणको भनाई छ ।

स्तरोन्नती पश्चात गौतमबुद्ध विमानस्थलमा एयरवसको ए ३४० र बोइङको ७७७ सम्मका ठूला जहाज अवतरण गराउन सकिन्छ । यस विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएकोे छ ।


पुष्प दुलाल