अब काठमाडौंमा बन्जी जम्प हान्न पाइने, डीपीआरका लागि १ करोड बजेट छुट्याइयो



काठमाडौँ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ ।

कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ ।

कीर्तिपुर नगरपालिका-२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।

काठमाडौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा १ करोड विनियोजन गरेको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए ।

विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ ।


पुष्प दुलाल