दरबारमार्गका व्यवसायीले आजदेखि पसल खोले



काठमाडौं । दरवारमार्गका व्यवसायीले आजदेखि पसल खोलेका छन् ।

गतसाता आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिएपछि टोलीले ४ वटा पसलमा शिलबन्दी गरेको थियो।

अनुगमन टोलीले ८ वटा पसल शिलबन्दी गरेपनि अनुगमनको विरोधमा गतसातादेखि नै दरवारमार्गका व्यवसायीले बन्द गराएका थिए ।

नेपाल चेम्बर अफ कमर्शले समस्या समाधान गर्न पहल गर्ने भएपछि दरवारमार्गका व्यवसायीले पसल खोल्न तयार भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए ।

‘दुई दिनभित्रमा समस्या समाधान गर्ने वातावरण बनाउनेगरी व्यवसायी पसल खोल्न राजी भएका छन्’,श्रेष्ठले क्लिकमाण्डूसँग भने,‘सरकारसँगपनि समस्या समाधानको लागि हामीले पहल गरेका छौ।’

व्यवसायीलाई कारवाही नगर्न आग्रह गर्दै गएको व्यवसायी टोलीलाई भने आपूर्तिमन्त्री मण्डलले दोषी व्यवसायीलाई जसरी पनि कारवाही गर्ने बताएका थिए ।

दशैंको समयमा सरकारले अनुगमन गर्ने गर्छ । जसले गर्दा व्यवसायी र सरकारबीच विवाद देखिने गर्छ ।


क्लिकमान्डु