सुपर मार्केट र सपिङ मलले सुकायो न्यूरोडलाई




काठमाडौं । आफूले लगाएको पाइन्ट वा टिसर्ट न्यूरोडमा किनेको हो भनेपछि साथीसंगीबीच छुट्टै सान र मान हुने एउटा जमाना थियो । अझ दशैं तिहार जस्ता ठूला पर्व र चाडहरुमा काठमाडौंका मध्यवर्गको न्यूरोडमा सपिङ गर्न जाने सेड्युल नै हुन्थ्यो ।

न्यूरोड क्षेत्रका पसलेको त कुरै छोडौं, काठमाडौंमा चल्ने ट्याक्सीहरु पनि एकचोटी न्यूरोड छिर्न सकियो भने दिनभरको कमाइ एकैपटकमा हुने कुरा गर्थे । र, घण्टौं जाममा बसेर भएपनि ट्याक्सीहरु न्यूरोड छिर्ने प्रतिस्पर्धामा उत्रन्थे ।

सानो न्यूरोड क्षेत्रलाई असंख्य पैदलयात्री, हजारौं ग्राहक र सयौंको संख्याका ट्याक्सी, कार र मोटरसाइकल थेग्न हम्मे पथ्र्यो । अनि न्यूरोडमा खुट्टा राख्ने ठाँउ हुदैनथ्यो, सडकहरु गाडीले टम्म भरिएर हलचल गर्नै नसक्ने अबस्थामा भेटिन्थे । र, भनिन्थ्यो–न्यूरोड क्षेत्रमा सडकमाभन्दा बढी भीड पसलहरुमा हुन्छ ।

 

तर, अहिले परिवेश बदलिएको छ । खरिद, विक्री तथा व्यापारका लागि काठमाडौंको प्रमुख केन्द्रको रुपमा रहेको न्यूरोड बजार अहिले सुनसान देखिन थालेको छ ।

३ वर्ष अघिसम्म लुगा कपडा खरिद गर्नेहरुको घुइचो लाग्ने न्यूरोड बजारमा पछिल्लो समय ब्यापार खस्कदै गएको छ । यहाँका व्यापारीहरु कोही पसलमा बसेर मोबाइलमा गेम खेल्न व्यस्त छन् त कोही ग्राहाककै पर्खाइमा शोकेसको सिसा पुच्दै र धुलो टक्टक्याएर दिन विताउने गरिरहेका छन् ।

आजभोलि ठाउँ ठाउँमा सुपर मार्केट, मलहरु संचालन हुन थालेपछि किनमेलका लागि मात्र भए पनि बेलुकातिर आउने आफ्ना ग्राहकहरु घटेको न्यूरोडका कपडा ब्यापारी राजन अग्रवाल बताउँछन् ।

‘न्यूरोडमा पसले धेरै भए, किन्ने कोही छैन, ९० प्रतिशत ग्राहक बाहिर नै किनमेल गर्छन्, १० प्रतिशतले के व्यापार हुन्छ ?’ अग्रवाल गुनासो गर्छन् ।

त्यसो भए न्यूरोड अब ब्यापारिक केन्द्र नै रहेन त ? यस्तो पनि होइन रहेछ । अब न्यूरोड नयाँ पहिचान बनाउने सुरमा रहेछ । कस्मेटिक्स र फेन्सी आइटमको केन्द्र न्यूरोड विस्तारै सुन र मोबाइलको हब बनिरहेको रहेछ । रुची, फेसन, मौसम र संस्कृतिले पनि बस्तु तथा सेवाको मागमा परिवर्तन ल्याउँछ, ब्यापारिक हबहरु परिवर्तन हुन सक्छन् भनेर अर्थशास्त्रमा गरिएको माग र आपूर्तिको ब्याख्या न्यूरोडको सन्दर्भमा लागू भए जस्तो देखिन्छ ।

सुन र मोबाइल पसलको बृद्धीसँगै यहाँको व्यापार मोबाइल र सुनमा मोडिएको न्यूरोडमै २५ वर्षदेखि व्यापार गर्दै आएका विजय श्रेष्ठ बताउँछन् । केही समयअघिसम्म व्यापार गर्नलाई भ्याइनभ्याइ हुने र व्यापारकै लागि कर्मचारीको खोजी गर्नु पर्ने अनुभव श्रेष्ठको छ ।

यस्तै ३० वर्षदेखि न्यूरोडमै व्यापार गर्दै आएका प्रकाश मानन्धरको गुनासो बेग्लै छ । उनका अनुसार पहिले न्यूरोड क्षेत्रको सटरभाडा सस्तो थियो । त्यो बेला ब्यापार धेरै हुन्थ्यो । तर, अहिले सटर भाडाले आकाशै छुन लाग्दा व्यापार भने कम हुँदै गएको छ ।

न्यूरोडमा ब्याग तथा कपडाको होलसेल पसल गरिरहेका भिन्टेज कलेक्सन मन्जित श्रेष्ठको बिचार भने फरक छ । उनी केही समययता खुद्रा ब्यापारमा कमी देखिए पनि होलसेलमा व्यापार हुने सामानहरुमा कुनै परिवर्तन नआएको बताउछन् । यहाँका खुद्रा पसलहरुमा ग्राहकहरुको कमी भएपनि होलसेल व्यापारमा खासै असर नपरेको उनी बताउँछन् ।

यस्तै ५ वर्षदेखि न्यूरोडमा मनकामना इम्पोरियम कपडा पसल चलाउँदै आएका राजेश खतिवडा ब्यापार घटेकोमा धेरै चिन्तित देखिए । ब्यापार घट्नुको कारणबारे उनको बुझाइ फरक रहेछ ।

‘जताततै छ्यापछ्याप्ती पसलहरु खुल्न थाले, पुराना ग्राहक आए पनि नयाँ ग्राहक खासै देखिदैनन्, दशै आउन लाग्दा फ्याट्टफुट्ट मात्र मान्छे आउछन्, अरुबेलाको त कुरै नगरौँ,’ खतिवडा भन्छन् ।

कुनै समय बिहानैदेखि राती १० बजेसम्म भीड लाग्ने न्यूरोड क्षेत्रमा अहिले बिहान १० बजे खुलेको पसल बेलुका ५/६ बजे नै बन्द गरेर जानु पर्ने अवस्था आएको ब्यापारीहरुको भनाइ छ ।


क्लिकमान्डु