पर्यटनबाट अपेक्षित लाभ लिन सकिएन– पर्यटन व्यवसायी



काठमाडौं । पर्यटन विकास र प्रवद्र्धनमा सरकारको उच्च प्राथमिकता रहेको भनिएपनि त्यसबाट अपेक्षित प्रतिफल आउन नसकेको गुनासो पर्यटन क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरुले गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा आयोजित पर्यटन क्षेत्रका चुनौती तथा विकासका सम्भाव्यता विषयक छलफल कार्यक्रमका सहभागी उद्यमी व्यवसायीहरूले तीन वर्ष अघिको भुकम्पबाट क्षतिग्रस्त पुरातात्विक महत्वका सम्पदाहरू आजसम्म पनि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया तत्काल अगाडी बढाउनु पर्ने, गौतम वुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्ने, टीआईएलाई चौविसै घण्टा संचालन गर्न मिल्ने गरी स्तरोन्नती गर्नुपर्ने, अन्य विमानस्थलहरूको क्षमता विस्तार गर्नुपर्ने, राष्ट्रिय ध्वजावाहकको क्षमता वृद्धि गर्नुपर्ने, पर्यटकीय महत्वका पुरातात्विक सम्पदाहरूको पुनरनिर्माणलाई तीव्रताका साथ सम्पन्न गर्नुपर्नेलगायतका सुझाव व्यवसायीहरूले दिएका थिए ।

कार्यक्रमलाई उद्योगी व्यसायीहरुको गुनासो सुन्दै सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नीतिगत सुधार सहित महत्वपूर्ण पूर्वाधार विकासका लागि मन्त्रालयले कार्य अगाडी बढाई सकेको जानकारी गराए ।

आवश्यक पूर्वाधार विकासका लागि आफूले काम थालीसकेको बताउँदै मन्त्री देवले आ–आफ्नो तहबाट पर्यटन क्षेत्रको विकासमा लाग्न आग्रह गरे । साथै उनले आगामी साठी दिनमा गर्ने प्रमुख कार्ययोजनाहरु सार्वजनिक समेत गरिसकेको जानकारी गराए।

महासंंघका अध्यक्ष भवानी राणाले मुलुक विस्तारै अगाडी बढ्ने आशा पलाईरहेको अवस्थामा मुलुकलाई समृद्धिको मार्गमा लैजान महत्वपूर्ण आधारको रूपमा पहिचान गरिएको पर्यटन क्षेत्रको विकासका लागि निकै धेरै चुनौतीहरू रहेको बताईन् । अत्यन्त कमजोर पूर्वाधार नै पर्यटन विकासको सवैभन्दा ठूलो चुनौती रहेको स्पष्ट पार्दै अध्यक्ष राणाले अन्तराष्ट्रिय विमानस्थल, सडक संजाल विस्तार सहित नयां नयां पर्यटन गन्तव्यको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिईन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पर्यटन क्षेत्रका लागि एक दुई वटा महत्वपूर्ण काम मात्र सम्पन्न गर्न सकेपनि नेपालको आर्थिक विकास तीव्र रुपमा अगाडी बढ्ने धारणा राखे ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरू उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, टान नाटा, रेवान र होटल एशोसिएसन नेपालका पदाधिकारीहरूको कार्यक्रममा सहभागिता रहेको थियो ।


क्लिकमान्डु