दशैंका लागि ५० हजार खसीबोका र च्याङग्रा, मूल्यको टुंगो छैन




काठमाडौं । दशैँका लागि काठमाडौंलाई लक्षित गरेर ५० हजार खसी-बोका र च्याङ्‍ग्रा भित्र्याउन थालिएको छ । दशैँ मासु खपत हुने मुख्य पर्व भएकाले सरकार र निजी व्यवसायी दुबैले यो समय ठूलो संख्यामा खसी-बोका र च्यांग्रा तथा राँगा-भैंसी, सुँगुर र कुखुरा आयात गर्ने गर्छन् ।

नेपाल खाद्य संस्थानले काठमाडौंको मागको करिब १० प्रतिशत मात्र बिक्रीवितरण गर्दै आएको छ । संस्थानले देशका विभिन्न ठाउँमा खसीबोका र च्यांग्रा संकलन गर्न थालेको छ ।

व्यवसायीहरूले भने भारतबाट खसी बोका र चीनबाट भेँडा च्याङ्‍ग्रा ल्याउने ल्याउँदै आएका छन् । निजी क्षेत्रले करिब ३० हजार खसीबोका र १५ हजार च्यांग्राको अनुमान काठमाडौंमा ल्याउने व्यवसायीहरु बताउँछन् ।

खाद्य संस्थानले यस वर्ष १५ सय खसीबोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने भएको छ। संस्थानले मकवानपुरको हेटौंडा र दाङको तलसीपुरमा खसी बोकाको लागि अर्डर गरिसकेको छ भने मुस्ताङबाट १ हजार भेडा तथा च्याङग्राको अर्डर गरिसकेको छ ।

यसरी अर्डर गरिसके पनि मूल्य तोक्न भने बाँकी नै हरको संस्थानका अञ्चल प्रमुख भेषनाथ न्यौपानेले बताए ।

‘मूल्य घट्ने बढने बारे अहिले भन्न सकिँदैन, बजार मूल्यलाई नियन्त्रण र सन्तुलनलाई जोगाइराख्ने गरी मूल्य निर्धारण हुन्छ’ न्यौपानेले क्लिकमाण्डूसँग भने ।

‘मूल्य घट्ने बढने बारे अहिले भन्न सकिँदैन, बजार मूल्यलाई नियन्त्रण र सन्तुलनलाई जगाइराख्ने गरी मूल्य निर्धारण हुन्छ’

गत वर्ष दशैंमा च्याङग्राको मासुको मूल्य प्रतिकेजी ६ सय ५० रुपैयाँ रहेको थियो । बोका २५ किलोसम्मको प्रतिकेजी ५ सय ४० रुपैयाँ र खसी २५ किलोभन्दा माथिको ४ सय ५० रुपैयाँ प्रतिकेजीमा बिक्री गरिएको थियो ।

संस्थानका अधिकृत टेक प्रशाद रेग्मीले सरकारले २ पैसा भए पनि जनतालाई सस्तोमा दिने कोसिस गर्ने बताए । तर, कति मूल्यमै बिक्री गर्ने भन्ने विषय खरिद कमिटीले टुङ्गो लगाउन बाँकी हरेको उनले सुनाए ।

‘स्थानीय मूल्य, त्यहाँबाट ल्याउदाको भाडा र त्यस पश्चात बजार अनुगमन गरेपछि मात्र मूल्य निर्धारण हुन्छ,’ रेग्मीले भने ।

टुकुचाको खसीबजारमा भने हालैमात्र भारतबाट ५०० बढी खसी ल्याइएको छ । यहाँ खसीको मूल्यप्रति केजी ४ सय ९० देखि ५ सय रुपैयाँसम्म रहेको छ ।

यस्तै बोका प्रतिकेजी ४ सय ५० रुपैयाँ रहेको छ । १४ किलोको बोका किन्दा ६ हजारसम्म पर्ने दशैंका बेला ८ हजार रुपैयाँसम्ममा विक्री हुने टुकुचाका खसी विक्रेताहरु बताउँछन् । सो खसी बजारमा च्याङग्राको मूल्य के.जीको ७ सय ५० रुपैयाँ रहेको छ ।


पुष्प दुलाल