यी १४ वस्तु, जसले विदेशबाट अर्बौं रुपैयाँ नेपाल भित्र्याए



काठमाडौं । नेपालले गतवर्ष ९ खर्ब १७ अर्ब रुपैयाँ घाटाको व्यापार गर्यो । यो ब्यापारघाटा गत बर्षको बजेटको हाराहारी थियो ।

सो बर्ष ९ खर्ब ९० अर्ब रुपैयाँको आयात हुँदा ७३ अर्ब ५ करोड रुपैयाँको मात्रै निर्यात भएको छ । नेपालको निर्यात व्यापार बर्सेनि घट्दो क्रममा छ । सरकारले १ खर्ब रुपैयाँ निर्यात गर्ने लक्ष्य राखेपनि त्यो लक्ष्य प्राप्त हुन सकेको छैन ।

अत्याधिक घाटाको व्यापार गरेपनि केही वस्तुको भने निर्यात राम्रो छ । विदेशमा पनि राम्रो माग छ । यसरी नेपालबाट निर्यात हुने प्रमुख बस्तुहरुमा गलैंचा, जुट, जुस, अलैचीलगायत छन् ।

गलैंचा

नेपालबाट विदेशमा राम्रो माग हुने प्रमुख वस्तुमा गलैंचा पर्छ । १२ वर्षअघिको तुलनामा गलैंचा उद्योग धरासायी भएपनि आजको दिनमा पनि नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा पहिलो स्थानमा गलैचा आउने गर्छ ।

गतवर्ष नेपालले ७ अर्ब १५ करोड रुपैयाँको गलैचा युरोप र अमेरिका निर्यात गरेको छ । तर, गलैचाको निर्यात पनि खस्कदो रहेको तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशतले गलैचाको निर्यात घटेको छ ।

जुस

भारत निर्यात हुने प्रमुख वस्तुको सूचिमा जुस पनि पर्ने गर्छ । नेपालले गतवर्ष ५ अर्ब रुपैयाँको जुस निर्यात गरेको छ । भारतीय लगानीको डाबर नेपाल प्रालि नै जुस निर्यात गर्ने प्रमुख कम्पनी हो । जुसको ब्यापार भने फस्टाउँदो रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा गतवर्ष जुस निर्यात ५५ प्रतिशतले बढेको छ ।

जुट

नेपालले निर्यात गरेर पैसा कमाउने अर्को बस्तु जुट हो । भारतबाट पनि नेपाली उद्योगमा जुट आउछ । तर पनि गतवर्ष नेपालले भारतमा ४ अर्ब ४६ करोड रुपैयाँ बराबरको जुट बिक्री गरेको छ ।

तयारी पोशाक

तयारी पोशाक उद्योग धरासायी भएको १० वर्षभन्दा बढी भइसकेको छ । नेपालमा तयारी पोशाक उत्पादन गर्ने धेरै उद्योगी पलायन पनि भए । र उद्योगहरु बन्द पनि भए । तर, अहिले पनि नेपालबाट विदेश निर्यात हुने दोस्रो बस्तुमा तयारी पोशाक पर्छ । गत आर्थिक वर्षमा नेपालबाट ४ अर्ब रुपैयाँको तयारी पोशाकको निर्यात भएको छ । तयारी पोशाकको निर्यात पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।

अलैंची

पूर्वीपहाडको सुन मानिने अलैंची नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचिमा पर्छ । तर, यो पटक भने अलैचीको निर्यात घटेको छ । भारतले विभिन्न बहानामा आयातमा लगाउने रोकको कारण नेपालको अलैची निर्यात प्रभावित बन्ने गरेको छ । निर्यात घटेपनि गतवर्ष नेपालबाट ३ अर्ब ९० करोड रुपैयाँको अलैची भारत निर्यात भएको छ ।

कपडा

कपडा उद्योगको अवस्था नेपालमा राम्रो छैन । नेपालमा कपडा उद्योगमा ठूलो लगानी आउन बन्द भएको वर्षौं भइसक्यो । निर्यातको तथ्यांक हेर्दापनि कपडाको निर्यात घटेको छ । बर्सेनि निर्यात घट्दापनि गतवर्ष नेपालले ३ अर्ब २४ करोड रुपैयाँको कपडा भारतमा निर्यात गरेको छ ।

पोलिस्टर यार्न

गतवर्ष पोलिस्टर यार्न भारतमा २ अर्ब ८१ करोड रुपैयाँको निर्यात भयो । तर, बर्सेनि यसको पनि निर्यात घट्दै गएको छ । दुईवर्ष अगाडि ५ अर्बको निर्यात हुने पोलिस्टर यो वर्ष २ अर्ब ८१ करोड रुपैयाँमा झरेको हो ।

पश्मिना

नेपालबाट निर्यात हुने प्रमुख वस्तुको सूचिमा आउने अर्को वस्तु पश्मिना हो । यसको युरोप र अमेरिकामा राम्रो माग छ । गत वर्ष नेपालबाट २ अर्ब ३५ करोड रुपैयाँको पश्मिना युरोप र अमेरिका निर्यात भएको छ । पश्मिनाको निर्यात पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।

जिंक सिट

नेपालले भारतलाई बिक्री गरेर पैसा कमाउने वस्तुमा पर्छ जिंक सिट । गतवर्ष नेपालबाट भारतमा २ अर्ब रुपैयाँको जिंक सिट भारत निर्यात भएको छ ।

तार

नेपालबाट भारत निर्यात हुने अर्को बस्तु तार हो । गत आर्थिक वर्षमा नेपालले भारततर्फ १ अर्ब ६७ करोड रुपैयाँको तार निर्यात गरेको थियो । यसको निर्यात व्यापार पनि बर्सेनि घट्दो क्रममा रहेको छ ।

खोटो

गतवर्ष नेपालबाट १ अर्ब ६७ करोड रुपैयाँको खोटो निर्यात भयो । यसको निर्यात पनि अरु वस्तु जस्तै बर्सेनि घट्दै छ ।

पिना

खाने तेल उद्योगबाट निस्कने पिनाको भारतमा राम्रो बजार छ । गत वर्ष नेपालबाट १ अर्ब ४६ करोड रुपैयाँको पिना निर्यात भएको छ । तथ्यांकले पिनाको निर्यात बर्सेनि बढ्दै गएको देखाउँछ । दुई वर्ष अगाडि ६१ करोड रुपैयाँको पिना निर्यात भएको थियो । एकवर्ष अगाडि १ अर्ब रुपैयाँको पिना भारत तर्फ गएको थियो । यो वर्ष ४६ करोड रुपैयाँले पिना निर्यात बढेको छ ।

जुत्ता चप्पल

जुत्ता थप्पलको निर्यात हरेक वर्ष घट्दो क्रममा छ । निर्यात घटेपनि गतवर्ष नेपालबाट भारत तर्फ १ अर्ब २३ करोड रुपैयाँको जुत्ता चप्पल भारत तर्फ निर्यात भएको छ ।

मुख्यगरी भारतको बजारमा गोल्डस्टार ब्राण्डको जुत्ताको बजार राम्रो छ । पछिल्लो समय नेपाली बजारमा आएका नेपाली ब्राण्डको डिमान्डपनि भारतको बजारमा राम्रो छ ।

जिआई पाइप

भारतमा नेपालमा बनेको जिआई पाइपको पनि माग बढी नै छ । गत वर्ष नेपालबाट १ अर्ब २ करोड रुपैयाँको जिआइ पाइप निर्यात भएको थियो । तर, यसको पनि निर्यात पनि घट्दै गएको छ । २ वर्ष अगाडि २ अर्ब ९९ करोड रुपैयाँको जिआई पाइप निर्यात भएको थियो ।


पुष्प दुलाल