सेयर बजार उकास्न तत्काल गर्नुपर्ने १० सुधार



नेपालको पुँजीबजारमा सुख दुःख टिक्नु भएका सम्पुर्ण लगानीकर्ता, नियामकहरु, नेप्से, सिडिएस, ब्रोकर, मर्चेन्ट बैंक, इन्भेष्टमेन्ट कमपनी, अन्य सरोकारवालाहरु र सार्वभौमसत्ता सम्पन्न नेपाली जनतासामु नेपालको पुँजीबजार कसरी यथास्थितिमा राख्ने भन्ने नीति तथा कार्यक्रम राख्न पाउँदा गौरवको अनुभुति गरेको छु । अब हामीले पुँजी बजार सुधार र स्थायीत्वका लागि यस्तो नीति तथा कार्यक्रम ल्याएका छौंः

१. बोरामा नागरिकता  बोकेर हिड्नेहरुलाई दिन दुई गुणा रात चौगुणा धनी बनाउने गरी  रणनीति  अबलम्बन गरेको छु ।

२. काठमाडौं -हेटौडा फास्ट ट्रायक  वा बुढीगण्डकी हाइड्रो बन्ने बेलासम्म एक न एक उत्पादनशील वा रियल सेक्टरको कम्पनी नेप्सेमा सूचिकृत गराउने लक्ष्य लिई नीति तथा कार्यक्रम बनाएको छु ।

३. चिलिमेको शेयर मार्केटमा  २ हजार रुपैयाँभन्दा माथी चल्दा रसुवासीहरुबाट प्रतिकित्ता १००, १२०, २०० वा २५० रुपैयाँसम्म उठाएर बेच्ने जस्ता कार्य  प्रत्येक ठाउँमा यस  आर्थिक वर्षमा पनि  अवश्य नै हुनेछन् । र, संस्थापक सेयर  हालेर ५, ६ वर्ष  राखेको मान्छेलेभन्दा दुई चार फोन गरेकोे भरमा बिचौलियाले बढी कमाउने परम्परा अझै बलियो हुनेगरी ब्यबस्था मिलाएको छु ।

४. बोर्ड र नेप्सेका कर्मचारीहरुले कहिले नियमक त कहिले ब्रोकरको सेयर होल्डरको दोहोरो भुमिका लामो समयसम्म निभाउन प्रोसाहित गरिएको छ ।

५. बैंक, बीमा  जस्ता पब्लिक लिमिटेड कम्पनी  र सामुहिक लगानी कोषको शेयर लगानी कुनै न कुनै  घराना वा  संचालकको इसारामा हुने र कम्पनीको फाइदाको लागि नभई  घराना वा प्रभाबशाली संचालकहरुको फाइदाको लागि हुने ब्यबस्था मिलाएको छु ।

६. स–साना कम्पनी खोजेर कर्नरिङ गर्ने, मिडियालाइ परिचालन गर्ने र कृतिम कारोबारहरुले यो आर्थिक बर्षमा पनि प्रश्रय पाउने गरि ब्यबस्था गरेको छु ।

७. इन्साइडर इन्फरमेशनको  आधारमा कम्पनीका सिइओ र  माथिल्लो तहका कर्मचारी,  नियामक निकायका कर्मचारी, ब्रोकरका कर्मचारी र संचालकहरुले आफनो श्रीमती र छोराछोरीको नाममा शेयर नकिन्न आग्रह गर्दै सालो, साली, मामा, माइजु जस्ता अन्य नातेदारको नाममा कारोबार गर्नलाई दिएको छुट यस आर्थिक बर्षमा पनि निरन्तरता दिएको छु ।

८. धितोपत्र बोर्ड, नेप्से, सिडिएस, ब्रोकर, मर्चेन्ट बैंक र अन्य सरोकारवालाबीचको सहकार्यलाई निरुत्साहित गर्ने कार्यलाई प्राथमिकतामा राखेको छु ।

९. लगानीकर्ताहरुलाई यस बर्ष पनि अध्ययन नगर्न र हचुवा र हल्लाको आधारमा लगानी गर्न अनुरोध गर्दछु ।

१०. राणा शासनको बेलामा जस्तै जनतालाई शिक्षित बनाउनु हुन्न भन्ने परम्परालाई निरन्तरता दिदै, लगानीकर्ताहरुलाई शिक्षित गराउने काम ब्रोकर, नेप्से या अन्य सरोकार वालाबाट भएमा कारबाही हुने कुरा जानकारी गराउदछु ।

अन्त्यमा नेपालको पूँजीबजारलाई यथास्थितिमा राख्न सहयोग गर्नुहुने नियामकहरु, नेप्से, सिडिएस, ब्रोकर, मर्चेन्ट बैंक, इन्भेष्टमेन्ट कम्पनी लगानीकर्ताहरु र अन्य सरोकारवालाहरुप्रति आभार प्रकट गर्दछु । नेपालको पूँजीबजार विकासका लागी ज–जसले दुश्साहास गर्नु भएको छ वा गर्ने सोच्नु भएको छ, उहाँहरुलाई आफ्नो कार्य तुरुन्त नरोके कडा कारवाही गर्न पछी नपरिने व्यहोरा जानकारी गराउदै यस नीति तथा कार्यक्रम कार्यान्वयनमा समेत सबैको पूर्ण सहयोग पाउने विश्वास राखेको छु ।

(केही सातायाता बजार निरन्तर घटेपछि सेयर विश्लेषक प्रकाश तिवारीले नियामकप्रति गरेको व्यङ्ग्य)


क्लिकमान्डु