६० मेगावाट क्षमताको त्रिशुली थ्री ए को सुरुङ केही दिनभित्रै ब्रेक थ्रु हुँदै, २४ मिटरमात्रै बाँकी



काठमाडौं । गोरखा भूकम्पका कारण थिलथिलो भएको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको सुरुङ केही दिनभित्रै ब्रेक थ्रू हुने भएको छ ।

भुकम्पका कारण देखाएर चिनियाँ ठेकेदार गेजुवाले अलपत्र पारेको आयोजना सरकारको कडा आपत्तिपछि गत वैशाखदेखि निर्माण कार्यमा पुनः पर्किएको थियो ।

आयोजनाको कुल ४१०० मिटर सुरुङ मध्ये करिब २४ मिटर मात्रै खन्न बाँकी रहेको छ । यस्तै अडिट टनेल र विगतमा खनिएको सुरुङ सफा गर्ने काम भने बाँकी नै रहेको छ ।

‘हाम्रो लक्ष्य भनेको दशै अगावै सबै काम सक्ने भन्ने हो, भूकम्पले पारेको क्षतिको मूल्यांकन गर्दै पुनः मर्मत तथा अन्य काम समेत गर्नुपर्ने भएकाले दशै पछिसम्म लाग्न सक्छ’, आयोजना प्रमुख फणिन्द्रराज जोशीले भने ।

कुल ६० मेगावाट क्षमताको सो आयोजना गत वर्ष नै सम्पन्न हुनेपर्ने थियो ।

संसदीय समिति र विभिन्न सरोकारवाला निकायले पटक÷पटक आयोजना पुनःनिर्माण सुरु गर्न आग्रह गरेपनि चिनियाँ ठकेदार कम्पनी गेजुवाले अटेर गर्दै बसेको थियो ।

निर्माणको जिम्मा लिएको चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी)ले यही गत मङ्सिर अन्तिम साताबाट निर्माण सुरु गर्ने जनाएपनि अटेर गरेर बसेको थियो । तर चौतर्फी दबावपछि गेजुवाले गत वैशाखदेखि निर्माण सुरु गरेको र आयोजना गतिमा गएको आयोजना प्रमुख जोशीले बताए ।

६० मेगावाटबाट ९० मेगावाट बनाउने वा नबनाउने भन्ने विषयमा चर्को विवादमा समेत आयोजना फसेको थियो । सोही विवादका कारण आयोजना केही समय ढिलो भएको थियो । क्षमता बढाउन ठेकेदारले नै चौतर्फी लविङ गरेको थियो ।

तत्कालीन पू्रधानमन्त्री डा बाबुराम भट्टराई समेत क्षमता बढाउने पक्षमा नै थिए । तर प्राधिकरणका कर्मचारी र अन्य सारेकारवालाको चौतर्फी दबाव पछि क्षमता बढाउने विषयबाट पछाडि हटेका थिए ।

भूकम्पले ध्वस्त पारेको बाँधको दुवैतर्फका संरचना सरकार आफैले निर्माण गनुपर्नेछ । सो कार्यका लागि अर्थ मन्त्रालयले ६१ करोड रुपैयाँ बजेट उपलब्ध गराइसकेको छ । भूकम्पले ध्वस्त पारेको पहुँच मार्ग समेत नेपाली सेनाको सहयोगमा निर्माण सम्पन्न भएको छ ।

थपिएको छैन ऋणको म्याद

आयोजनाका लागि ऋणदाता चिनियाँ आयात निर्यात बैंकसँग लिएको पाँच वर्ष ऋणको अवधि थप गरिदिन अर्थ मन्त्रालयले यसअघि नै आग्रह गरिसकेको छ । सकारात्म्क छलफल जारी छ तर हालसम्म कुनै प्रगति भएको सूचना हामीलाई आएको छैन, आयोजना प्रमुख जोशीले भने ।

इपिसि कन्ट्याक लिएको चिनियाँ ठेकदार गेजुवाको प्रमुख चासोका रुपमा रहेको बताइन्छ । सरकारले सो आयोजनाका लागि रु आठ अर्ब ९० करोड ऋण चिनियाँ आयात निर्यात बैंकसँग लिएको हो । ऋण तिर्ने अवधि सुरु भइसकेपनि आयोजना नसकिएका कारण ऋण अवधि थप गर्नुपर्ने वाध्यता आइलागेको हो ।

अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित सरोकारवाला निकायका बीच पटक पटक भएको छलफल सकारात्मक रहेको बताइन्छ ।

सन् २०११ को जुनबाट काम सुरु भएकोे आयोजना २०१४ को मे र पछि २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा सम्पन्न गर्ने गरी गेजुवाले ठेक्कामा लिएको थियो ।

विसं २०७३ असार १६ गतेदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि उक्त आयोजनाको निर्माण कार्यमा भूकम्पका कारण ढिलाइ भएको हो ।

प्रसारण लाइनमा उस्तै समस्या

आयोजनाको मुख्य काम रोकिएको भए पनि प्रसारण लाइनको काम भने अगाडि बढीरहेको थियो । तर नुवाकोटको केही स्थानमा स्थानीइले उचित मुआब्जा नपाएको भन्दै असन्तुस्टि व्यक्त गर्ने र अवरोध गर्ने काम गरिरहेका छन् ।

कुल २६ वटा टावरमध्ये २४ वटाको फाउन्डेसनको काम सकिएपछि थप काम हुन सकेको छैन । भूमीगत (सुरुङभित्रै) विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण गरिएको छ । नुवाकोटको मनकामनास्थित फालेटारमा बाँध बाधेर सिम्लेमा विद्युत् उत्पादन गरिनेछ ।

उत्पादन गृह सिम्लेबाट बाँधस्थलसम्मको पाँच किलोमिटर सडक भूकम्पका कारण कुनै अस्तित्व नै नरहनेगरी क्षति भएको थियो ।

रोकिए अरु आयोजना

माथिल्लो त्रिशुली ‘थ्रि ए’ निर्माण गरी त्यसको पानी बाँध बाँधेर ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्रि बी’ र ६५ मेगावाट क्षमताको मध्य त्रिशूली गङ्गा जलविद्युत आयोजना निर्माण गर्ने तयारी गरिएको भए पनि मूख्य आयोजनाको अन्यौलताले यी आयोजना समेत रोकिएका थिए ।

भूकम्पले माथिल्लो त्रिशुली ‘थ्रि ए’ आयोजनाको चार हजार ७६ मिटर लम्बाईको सुरुङ, निर्माण सामाग्रीका साथै आयोजना निर्माणमा प्रयोग भएका सवारी साधनमा समेत क्षति पुगेको थियो ।

ठेकेदारको एक अर्ब बढी क्षति

भूकम्पका कारण ठेकेदारले करिब १ अर्ब रुपैयाँ बराबरको क्षती पुगेको दाबी गर्दै आएको छ । निर्माणस्थलमा ठेकेदारले बीमा कम्पनीका प्रतिनिधि लगेर अध्ययन गराएको र निर्माण सामग्रीलगायत संरचनामा पुगेको क्षतिको समेत मूल्याङ्कन गरिसकेको छ ।

आगामी डेढ वर्षभित्र आयोजना सक्ने गरी काम भइरहेको आयोजना प्रमुख जोशीको भनाइ छ ।


पुष्प दुलाल