चिलिमे हब प्रसारण लाइन बनाउने जिम्मा चिनियाँ कम्पनीलाई



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीले अघि बढाएका विद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाला कि भन्ने चिन्ताले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सँधै सताइरहन्थ्यो ।

चिमिले जलविद्युत् कम्पनीका सहायक कम्पनीलाई पनि पायनियर कम्पनी बनाउने कुलमानको योजनामा प्रसारण लाइन बाधक बन्छ कि भन्ने चिन्तालाई समाधान गर्न उनले लामै समय चिन्तन गरे ।

तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले असक्षमको बिल्ला चिराएर कम्पनीबाट हटाएपछि जग्गा दिन्नौ भन्दै बसेकाक रसुवा चिलिमेका नागरिक समेत कुलमान प्राधिकरणमा आएपछि खुसी भए । र, सहमतिमा आए ।

आज कुलमानको चिन्ता पूर्णरुपमा समाधान भएको छ । र, चिलिमे हव प्रसारण लाइन निर्माण प्रक्रियाले एउटा छलाङ मारेको छ ।

रसुवागढी, सान्जेनलगायतका जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने २२० केभी क्षमताको प्रसारण लाइन निर्माणको ठेकेदार छनौट भएको छ ।

चिलिमेदेखि त्रिशुलीसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माणको जिम्मा एक चिनियाँ कम्पनीलाई दिइएको छ । प्राधिकरणकाअनुसार सबैभन्दा कम दर प्रस्ताव गर्ने चिनियाँ कम्पनी ले ठेक्का पाएको हो । सो कम्पनीले १ अर्ब ६ करोड ८० लाख रुपैयाँमा ठेक्का पाएको हो ।

आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेपनि प्रसारण लाइन कहिले बन्ने हो भन्ने चिन्ताले आयोजनालाई सताइरहेको थियो । त्यो चिन्ता दुर भएको छ, प्राधिकरण प्रसारण निर्देशनालयले भनेको छ ।

जग्गा प्राप्ति र मुआब्जाका कारण लामो समयदेखि विवाद र समस्यामा फस्दै आएको प्रसारण लाइन निर्माणको विषयमा आयोजना अन्तिम टुङ्गो लगाएको छ ।

प्राधिकरणकाअनुसार चिलिमे हव निर्माणको सम्बन्धमा लामो समयदेखि रहँदै आएको जग्गा प्राप्तिको विवाद समेत नयाँ कार्यकारी निर्देशकमा कुलमान घिसिङ आएपछि समाधान भएको हो ।

सोही सबस्टेशनमा रसुवागढी, माथिल्लो सान्जेन र तल्लो सान्जेनलगायतका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ र काठमाडौं ल्याइनेछ ।

रसुवागढी १११ मेगावाट क्षमताको आयोजना हो भने माथिल्लो र तल्लो सान्जेनको क्षमता ५७ मेगावाट रहेको छ । यस्तै धादिङको आँखु खोलामा निर्माणको क्रममा रहेको माथिल्लो आँखुखोला र सुपर आँखुलोलाबाट उत्पादित विद्युत् समेत सोही प्रसारण त्रिशुली थ्री बी हवमा जोडिने छ ।

रसुवामा हाल निर्माण र अध्ययनका क्रममा मात्रै एक दर्जन बढी आयोजना रहेका छन् ।

चिलिमे हव प्रसारण लाइन निर्माणका लागि चिनियाँ कम्पनीको अलावा कलपतत्रु ट्रान्सिमिसन लाईन लिमिटेड र केईसी इन्टरनेसनल लिमिटेड पनि ठेक्का प्रक्रियामा सहभागी भएका थिए ।

प्रसारण निर्देशनालयकाअनुसार कलपत्रु र केइसीले भन्दा चिनियाँ कम्पनीले सस्तो दरमा ठेक्का प्रस्ताव गरेपछि उसलाई ठेक्का दिइएको हो ।

आगामी डेढ वर्षभित्र सो प्रसारण लाइन निर्माण गरिसक्नुपर्नेछ । रसुवागढी र सान्जेन जलविद्युत् आयोजना २०१८ को डिसेम्बरमा सम्पन्न गर्ने कार्यतालिका रहेको छ । त्यसमध्ये माथिल्लो सान्जेन आगामी असारमा नै सम्पन्न हुने छ ।

सो आयोजनाबाट उत्पादित १४ मेगावाट विद्यमान चिलिमे जलविद्युत् आयोजनाकै प्रसारण लाइनमा जोडिनेछ । सो प्रसारण लाइनबाछ सात मेगावाट मात्रै प्रवाह गर्न सकिने भएकाले ७ मेगावाट विद्युत् निर्माण प्रयोजनलगायतका काममा खर्च हुने जनाइएको छ ।


पुष्प दुलाल