प्रभु समूहले अब आफ्नै डिजिटल टेलिभिजन चलाउने



काठमाडौं । बैंकिङ र रेमिट्यान्स व्यवसायमा स्थापित प्रभु समूहले आफ्नै लगानीमा डिजिटल टेलिभिजन प्रभु टिभी संचालन गर्ने भएको छ । प्रभुले अत्याधुनिक प्रविधिमा आधारित रहेर टेलिभिजन सेवा शुरु गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

प्रभु समुहका अध्यक्ष देवीप्रकाश भट्टचन अध्यक्ष रहेको प्रभु टेलिभिजनले संचालन अनुमति पाइसकेको छ । गत मंसिरमा अर्कै नामको टेलिभिजन सेवा प्रदायक कम्पनी किनेर प्रभु समूहले प्रभु टेलिभिजनको सेवा नाममा संचालन गर्न लागेको हो ।

प्रभु टिभीको सेवा लिनका लागि शुरुवातमा एन्टेना, सेटटप बक्स खरिदलगायतका लागि करिब २२ सय रुपैयाँ शुल्क लाग्ने र मासिकरुपमा ४ सय रुपैयाँमा नबढ्ने गरि सेवा शुल्क तोकिने छ ।

केहि साता अघिमात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको नाम परिवर्तन गरि प्रभु डिजिटल प्रालि बनाइसकेको छ । कम्पनीले प्रभु टिभीको नाममा कम्पनी संचालन गर्नेछ ।

प्रभु समूहले संचालन गर्ने टेलिभिजन डिजिटल टेरिस्टोलियल ब्रोडकास्टिङ्ग (डिटिबी) प्रविधिमा आधारित रहेको छ । यो टिभीले आफ्नै च्यानल संचालन गर्ने नभई अन्य च्यानलहरुको प्रवाह गर्ने सेवा वितरणको काम गर्नेछ ।

यस्तो सेवा संचालनका लागि हालसम्म सूचना तथा संचार मन्त्रालयबाट ५ वटा कम्पनीले अनुमति पाईसकेका छन । तर, कसैले पनि सेवा शुरु गरेको छैन् ।

अध्यक्ष, देवीप्रकाश भट्टचन

डिटिवी प्रणालीमा कम्पनीले सामान्य एन्टेनाको माध्यमबाट टेरिस्टोलियल सेवा संचालन गर्नेछ । यस्तो एन्टेनामा सेट टप बक्स जोडिएको हुन्छ । र, यस्तो प्रशारण भूसतही गर्नेछ । यसको लागि कम्पनीले तोकिएको स्थानमा रिपिटर टावर राख्नेछ । र, सोहि रिपिटर टावरबाट भूसतही सिग्नल एन्टेनामा पठाईन्छ ।

सो एन्टेनामा रहेको सेट टप बक्समार्फत सेवाग्राहीले टिभी हेर्न सक्नेछन् । यसका कन्टेन्टहरु भने सबै डिजिटल प्रविधिमा हुनेछन् ।

कम्पनीले पहिलो चरणमा चितवनबाट आफ्नो सेवा दुई महिनाभित्रै संचालन गर्न लागेको कम्पनीका एक कर्मचारीले क्लिकमाण्डूलाई जानकारी दिए । कम्पनीले अर्को कम्पनीको लाइसेन्स किनेको हुँदा पहिलो चरणमा चितवनबाट सेवा शुरु गर्न लागेको हो ।

‘हाम्रो आफ्नै लाइसेन्स छैन, हामीले महाकाली डिजिटल नेटवर्क प्रालिको लाइसेन्समा पहिलो चरणमा चितवनबाट सेवा दिन्छौं, काठमाडौंको लाइसेन्स र प्राविधिक सामाग्रीको लागि प्रक्रिया भईरहेको छ,’ उनले भने ।

कम्पनीले चितवनपछि काठमाडौं, बिराटनगर, बीरगञ्ज, पोखरा र नेपालगञ्जमा टेलिभिजन प्रशारण गर्ने र केही वर्षभित्रै थप लगानी गरि देशभर सेवा बिस्तार गर्नेगरी इजाजत लिएको छ ।

ती कर्मचारीकाअनुसार कम्पनीले एचडी च्यानलहरु पनि प्रशारण गर्नेछ । प्रभु टिभीको सेवा लिनका लागि शुरुवातमा एन्टेना, सेटटप बक्स खरिदलगायतका लागि करिब २२ सय रुपैयाँ शुल्क लाग्ने र मासिकरुपमा ४ सय रुपैयाँमा नबढ्ने गरि सेवा शुल्क तोकिने छ ।

कम्पनीले हाल काठमाडौंमा सेवा संचालन गर्न प्राविधिक सामाग्रीहरु धमाधम आयात गरिरहेको छ । त्यसका लागि प्रभु डिजिटलले काठमाडौंमा डिजिटल टेरेष्ट्रियल ब्रोडकास्टीङको अनुमति पाएको वायरलेश डिजिटल टिभी नेटवक्र्स प्रालि किनेर नाम परिवर्तन गर्ने प्रक्रियामा रहेको छ ।

सूचना तथा संचार मन्त्रालय स्रोतले वायरलेश डिजिटल टिभी नेटवक्र्सको नाम परिवर्तन गरेर प्रभु डिजिटल प्रालि हुने प्रक्रियामा रहेको जानकारी दियो ।

कम्पनीले चितवनपछि काठमाडौं, बिराटनगर, बीरगञ्ज, पोखरा र नेपालगञ्जमा टेलिभिजन प्रशारण गर्ने र केही वर्षभित्रै थप लगानी गरि देशभर सेवा बिस्तार गर्नेगरी इजाजत लिएको छ ।  यो टिभी साढे ५ सयदेखि साढे ६ सय मेगाहर्जमा प्रशारण हुनेछ ।

प्रभु समूहको कार्यालय रहेको कमलादीमा टिभीको पनि कार्यालय राखिएको छ । संचार मन्त्रालयबाट अनुमति लिएको १८ महिनामा सेवा शुरु गरिसक्नुपर्ने प्रावधान छ । जसअनुसार अबको ९ महिनाभित्रमा प्रभुले सेवा सुरु गरिसक्ने छ ।

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होम तथा केबल सेवा प्रदायक कम्पनी सिम टिभीमा पनि प्रभु समूहको लगानी रहेको छ ।

यो समूहको लगानीमा अहिले प्रभु बैंक, प्रभु मनि ट्रान्सफर, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु म्यानेजमेन्ट, प्रभु हेलिकप्टर, प्रभु सहकारी, प्रभु डिजिलटलगायत सञ्चलनमा छन् ।


पुष्प दुलाल