अघि बढ्यो नयाँ सहर निर्माण प्रक्रिया, डीपीआर बनाउने कम्पनी छनोट हुँदै



काठमाडौं । काठमाडौं उपत्यकाको १ लाख ३० हजार रोपनीमा बनाउने भनिएको नयाँ सहर निर्माण प्रक्रियाले गति लिएको छ । उपत्यका विकास प्राधिकरणले आन्तरिक मुल्यांकनका आधारमा नयाँ सहरको बिस्तृत परियोजना प्रतिबेदन (डीपीआर) बनाउन इच्छुक ५ कम्पनी छनोट गरेको छ ।

नयाँ सहर बनाउन इच्छुक ५ कम्पनी छनोट गरिएको उपत्यका विकास प्राधिकरणका सहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

‘प्राधिकरणले आन्तरिक मुल्याङकनका आधारमा ५ कम्पनी छनोट गरेको छ, अब ती कम्पनीमध्ये एउटाले नयाँ सहर बनाउने जिम्मा पाउने छ,’ खोखालीले क्लिमाण्डूसँग भने ।

नयाँ सहरको डीपीआर बनाउन ५ वटा कम्पनीले कम्पनीले इच्छा देखाएका थिए । प्राधिकरणको आन्तरिक मुल्याङकमा इच्छा व्यक्त गरेका ५ वटै कम्पनी छनोट गरेको हो ।

यस अघि प्राधिकरणको आन्तरिक मुल्याङकनमा एउटा मात्र कम्पनी छनोट भएको थियो । आन्तरिक मुल्याङकनमा एउटा मात्र कम्पनी छनोट भएकोमा पुन सार्वजनिक टेण्डर आब्हान गर्नु पर्ने कानुनी व्यवथा भएकाले प्राधिकरणले असार ३१ गते नयाँ सहरको डीपीआर बनाउन इच्छुक कम्पनीसँग आवेदन माग गरेको थियो ।

‘छनोट भएका ५ वटै कम्पनीलाई  रिक्वोस्ट फर प्रपोजलको चिठी पठाइने छ, उनीहरुको प्रपोजलका आधारमा डीपीआर बनाउने कम्पनीको टुङ्गो लाग्छ,’ खोखालीले भने ।

प्राधिकरणले उपत्यकामा बढ्दै गएको शहरीकरणलाई व्यवस्थित बनाउनका लागि नयाँ सहरको अवधारण ल्याएको हो । नयाँ सहरमा ढल, विजुली, खानेपानी, खुल्ला पार्क, फराकिलो सडकलगायतका सहरका लागि आवश्यक पूर्वाधार निर्माण गरिने प्राधिकरणका प्रवक्ता केशब न्यौपाने बताउँछन् ।

‘काठमाडौं, भक्तपुर र ललितपुरको मानवचाप कम भएको स्थानमा नयाँ सहर बनाउने हो, अहिले नै बनाइएन भने भोलिका दिनमा व्यवस्थित सहर बनाउँन सकिदैन,’ न्यौपानेले भने ।

नयाँ सहर बन्ने स्थान

(क) काठमाडौं ईसान (पूर्व-उत्तर) नयाँ सहर विस्तार क्षेत्र

पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।

पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान-खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने ।

(ख) काठमाडौं आग्नेयः (पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट भित्रको जग्गाहरु ।

पूर्वः अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो ।

पश्चिमः खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमान ।

उत्तरः अरनिको राजमार्गको सिमाना ।

दक्षिणः भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(ग) काठमाडौं तैऋत्यः (दक्षिण-पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८) र बुङमती (१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरु ।

पूर्वः छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म ।

पश्चिमः बागमती नदी सिमना ।

उत्तरः साविक सैंबु गाविसको सिमाना ।

दक्षिणः बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(घ) काठमाडौं उत्तरः काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र ।

पूर्वः सामाकोसी, टोखा रोड हुँदै बाइपास ।

पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक ।

उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली ।

दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।


क्लिकमान्डु