यती एयरले ल्यायो ७२ सिटको एटिआर



काठमाडौं । यती एयरलाइन्सले दशैमा हवाई यात्रुका लागि सेवा दिन थप अर्को एटिआर जहाज खरिद गरी काठमाडौं ल्याएको छ । फ्रान्सको जहाज निर्माता कम्पनी एटिआरमा निर्मित ७२ सिटे एटिआर ७२–५०० एक अर्बको लगानीमा यतिले काठमाडौं भित्र्याएको हो ।

यतिले गत साउन महिनामा पहिलो एटिआर ल्याएको थियो । यो सँगै यतिसँग अब २ बटा एटिआर भएको छ । सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग यतिले जहाज खरिद गरेको प्रवक्ता भिमराज राइले जानकारी दिए ।

एटिआर जहाजले एक हप्तापछि भद्रपुर र भैरहवा उडान थाल्ने उनले बताए । यतिको पहिलो एटिआरले अहिले विराटनगर र नेपालगंजमा उडान भरिरहेको छ ।
‘यो आर्थिक वर्ष भित्र हामीले ३ वटा एटिआर किन्ने योजना गरेका छौं, ‘राईले भने, ‘त्यसै स्वरुप पहिलो र दोस्रो जहाज काठमाडौं आइपुगेको छ ।

यो जहाजसँगै यतिसँग अब ८ वटा जहाज भएको छ । एटिआरलाई विराटनगर, भैरहवा, नेपालगंज र भद्रपुर उडाउने र त्यहाँ उड्दै आएका जहाजलाई जनकपुर, भरतपुर, पोखरा लगायतका क्षेत्रको उडानमा जोड दिने राईले बताए ।

यतिले ल्याएको जस्तै एटिआर जहाज अहिले बुद्ध एयरसँग ४ वटा छ । हाल यतीले बेलायतमा निर्मित ३० सिट क्षमतायुक्त जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सञ्चालन गरिरहेको छ ।

विस्तारै जेटस्ट्रिम जहाज विस्थापन गर्दै एटिआर नै ल्याउने तयारीमा यति रहेको राईले बताए । पछिल्लो समय आन्तरिक उडान गर्नका लागि जहाज थप्ने होडबाजी एयरलाइन्स कम्पनीहरुमा चलेको छ ।

बुद्धले २ वटा सिआरजे २०० जहाज थप्ने योजना बनाएको छ भने यतिले अब २ वटा थप्ने जनाएको छ । सिताले २ थान डोर्नियर, श्री एयरलाइन्सले २ वटा जेट सिआरजे २०० , सौर्य एयरलायन्सले १ वटा जेट सिआरजे २०० र नेपाल वायुसेवा निगमले २ थान चिनियाँ जहाज थप्ने योजना बनाएको छ । यतिले जहाज थपेपछि दसैंमा यात्रुहरुलाई भने केही राहत मिल्ने भएको छ ।


क्लिकमान्डु