नेपाली बजारमा आयो सामसङ ग्यालेक्सी नोट-८, मूल्य १ लाख रुपैयाँ माथि, के के छन् विषेशता ?



काठमाडौं। सामसङको नयाँ उत्पादन ‘सामसङ ग्यालेक्सी नोट ८’ नेपाली बजारमा सोमबार सार्वजनिक गरेको छ । कम्पनीले विश्व बजारमा सार्वजनिक गरेको एक महिनाभित्रै नेपाली बजारमा सामसङ ग्यालेक्सी नोट ८ ल्याएको हो ।

विश्व बजारमा कम्पनीले निकै अाशा र अपेक्षासहित नोट ८ सार्वजनिक गरेको भएपनि नेपालमा भने निकै सानो तहमा कार्यक्रम गरेर ‘सामसङ ग्यालेक्सी नोट ८’ बजारमा आएको जानकारी दिएको छ। यसको लागि कम्पनीले आफ्नै भवनमा कार्यक्रम आयोजना गरेको हो ।

यसअघि नोट सेभेनमा ब्याट्री पड्किने समस्या आएपछि सामसङको नोट सिरिजमा नयाँ फोन आए पनि नेपाली बजारमा भने यसको चर्चालार्इ आइफोन ८ र एक्सको सार्वजनिकीकरणले ओझेलमा पारिदिएको छ ।

यो ठुलो डिस्प्लेयुक्त फ्ल्यागसिप स्मार्टफोन हो । फोनमा ड्यूल रियर क्यामरा दिइएको छ भने, एस पेन स्टाइल पनि उपलब्ध छ।

यो फोनमा ६.३ इन्चको क्वाड एचडी इन्फिनिटी डिस्प्ले जडान गरिएको छ । किनारामा बेजल्स राखिएको छ भने फोनको स्क्रीन सुपर एमोलेड रहेको छ, जसको पिक्चर रिजोलुसन १४४०X २९६० पिक्सल रहेको छ ।

फोनमा ड्युल क्यामेरा लेन्सको प्रयोग भएको छ । दुबै रियर क्यामेरा अप्टिकल इमेल स्टेबलाइजरसहितको १२ मेगापिक्सलको छ भने सेल्फीका लागि फ्रन्ट क्यामेरा ८ मेगापिक्सलको रहेको छ ।

अक्टाकोर स्न्यापड्रागन ८३५ र एक्सोनेट ८८९५ प्रोसेसर प्रयाेग गरिएको छ । अमेरिका र भारत बाहेकका देशमा एक्सोनेट ८८९५ चिपमा मात्र उपलब्ध हुने छ । कम्पनीले यसमा र्याम क्षमतामा पनि वृद्धि गर्दै ६ जीबी र्याम राखेको छ ।

नोट सिरिजलार्इ अगाडि बढाउन यसले निकै सहयोग गर्ने आशाका बीच यसमा कम्पनीले नयाँ फीचरहरु थप गरेको छ ।

अमेरिकी बजारमा सामसङ ग्यालेक्सी नोट ८ को मुल्य ९३० डलर रहेको छ । नेपालमा भने यसको मूल्य १ लाख २ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । नेपालमा यसको प्रि-अर्डरमा सामसङ कन्भर्टिबल वायरलेस चार्जर उपहारमा ग्राहकले पाउनेछन् ।

त्यसैगरी एनसेलको १६ जीबी डाटा निशुल्क उपलब्ध छ भने शिखर इन्स्योरेन्सबाट ८ महिनासम्मका लागि ब्रेकेज इन्स्योरेन्स स्मार्ट एकाडेमी र भीआइपी सर्भिस एक्सेस सेवा कम्पनीले दिनेछ ।


क्लिकमान्डु