विदेशबाट घर फर्किंदा यी सामान ल्याए भन्सार तिर्नु पर्दैन



काठमाडौं । तपाईं विदेशबाट दशैैं मनाउन घर फर्किंदै हुनुहुन्छ भने पक्कै पनि सामान ल्याउनु हुनेछ । किनभने तपाईंले विदेश जाँदा वा विदेशमा रहँदा घरपरिवार, आफन्त र साथीभाई विभिन्न सामान ल्याइदिने बाचाा गरिसक्नु भएको हुन्छ ।

त्यसैले विदेशबाट घर फर्किँदा सुडकेश भरिउञ्जेल सामान ल्याउने दबाब हुन्छ तपाईंलाई ।

तर, के आफूले चाहेका र चाहेजति सामान विदेशबाट नेपाल ल्याउन पाइन्छ त ? अहँ पाइन्न । नेपाल सरकारको कानूनले प्रतिबन्ध गरेका सामान बोकेर आउनुभयो भने त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमै तपाईंलाई प्रहरीले पक्राउ गर्छ ।

अनि के कानूले प्रतिबन्ध नगरेका वस्तुचाहिँ मनलाग्दी ल्याउन पाइन्छ त । अहँ त्यो पनि पाइँदैन । सरकारले एक व्यक्तिले यतिभन्दा बढी सामान ल्याउन नपाइने भनेर तोकिदिएको हुन्छ ।

त्कतिपय सामनहरुमा भने सरकारले भन्सार नै लिँदैन । त्यसैले विदेशबाट नेपाल आउँदा भन्सार तिर्नुनपर्ने सामान ल्याउनु भयो भने तपाईंलाई फाइदा हुन्छ ।

के के ल्याउँदा भन्सार लाग्दैन ?

भन्सार विभागका अनुसार ५० ग्रामसम्मका सुनमा गहना, ५०० ग्रामसम्मका चाँदीका गहना ल्याउन सकिन्छ । त्यसैगरी, १ लाख रुपैया बराबर मूल्य पर्ने हिराका गहनाहरु पनि ल्याउँदा भन्सार लाग्दैन ।

काँचो सुन वा चाँदीको हकमा कुनै पनि यात्रुले महसुल तिरेर पनि ल्याउन पाउने छैनन् । र, ल्याएको फेला परेमा त्यस्तो सुन वा चाँदी जफत गरी त्यसको मूल्य बराबर जरिवाना र १० लाखभन्दा रुपैयाँभन्दा बढी मूल्यको सुन वा चाँदी फेला परेमा कैद समेत भन्सार विभागले जनाएको छ।

त्यस्तै, आफ्नो व्यक्तिगत प्रयोजनका लागि लगाउने केही जोर लुगा ल्याउँदा पनि भन्सार तिर्नुपर्दैन । र, एक थान क्यामेरा, मोबाइल, पेन ड्राइभ र घडी ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

त्यस्तै १ लिटरसम्मको मदिराको बोतल ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।

वैदेशिक रोजगारमा गई कम्तीमा लगातार १ वर्ष काम गरी आउने नेपाली नागरिकहरूलाई एक पटकको लागि अभिलेखवद्ध गरी निजहरूले साथमा ल्याएको एउटा जुनसुकै प्रकारको बत्तीस इन्च सम्मको टिभिमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइनेछ । ३२ इन्च भन्दा टिभि ठुलो भए इन्च अनुसारको भन्सार महशुल तिर्नुपर्छ ।

तर, विदेशमा वसी फर्केका नेपाली यात्रुले ल्याउने जुनसुकै टेलिभिजनमा एकमुष्ट समदरमा मूल्यको ५५ प्रतिशतका दरले महसुल तिर्नुपर्ने हुन्छ ।

त्यस्तै, एक/एक थान ट्राइसाइकल र बच्चा राख्ने पेराम्वुलेटर ल्याउँदा पनि भन्सार शुल्क तिर्नु पर्दैन ।


पुष्प दुलाल