खपत कम हुँदा अण्डाको मूल्य घट्यो, प्रतिक्रेटको मूल्य ३३० रुपैयाँ



चितवन । चाडपर्वसँगै काठमाडौँबाट सर्वसाधारण बाहिरिन थालेपछि खपत घट्दा अण्डाको मूल्यमा कमी आएको छ ।

नेपाल अण्डा उत्पादक सङ्घले दिएको जानकारीअनुसार एक क्रेट (३० वटा) ठूलो अण्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य ३३० रुपैयाँ कायम गरिएको छ । मध्यम आकारको अण्डाको खरिद मूल्य प्रतिक्रेट २७० रुपैयाँ कायम गरिएको सङ्घका अध्यक्ष शिवराम केसीले जानकारी दिए।

खरिद मूल्यमा पाँच रुपैयाँ बढी लिएर बिक्री गर्ने चलन छ । उपभोक्ताले अण्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए । अध्यक्ष केसीका अनुसार चार महिनाअघि ठूलो अण्डाको खरिद मूल्य प्रतिक्रेट ३६० रुपैयाँ सम्म थियो भने मझौला अण्डाको किसानले प्रतिक्रेट ३३० रुपैयाँ मूल्य पाएका थिए ।

काठमाडौँबाट सर्वसधारण बाहिरिनु, सोह्र श्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अण्डा पुर्याउन नसक्नु लगायतका कारण माग घटेसँगै अण्डाको मूल्य समायोजन गरिएको हो । दशैंको पूर्णिमापछि पुनः मूल्य वृद्धि हुने उनले बताए ।

लागत मुल्य बढ्ने र अण्डाको मुल्य घट्दा कृषक चिन्तित बनेका छन् । लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा १७० रुपैयाँ पुगेको छ । दाना, औषधि, मजदुर, ढुवानी लगायतको मूल्य बढेकाले अण्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने सङ्घका महासचिव त्रिलोचन कँडेलले बताए । उपभोक्ता मूल्य प्रतिगोटा १४ रुपैयाँ रहेको छ, नेपालमा हाल दैनिक २० लाख गोटासम्म अण्डा उत्पादन हुन्छ ।

चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अण्डा उत्पादन हुने गरेको सङ्घका अध्यक्ष केसीले बताए। कुखुरामा देखिने घातक रोग बर्ड फ्लुको प्रकोपले किसान विस्थापित हुँदा अण्डा उत्पादन घट्दै गएको हो । जमिन खण्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको सङ्ख्या घट्दै गएको छ ।


क्लिकमान्डु