संसदीय समितिलाई अटेर गरेको भन्दै लेखा समितिमा ऊर्जा मन्त्री र सचिवको चर्को आलोचना



काठमाडौँ । संसदीय समितिलाई अटेर गरेर ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही र ऊर्जा सचिव अनुपकुमार उपाध्याय विदेश लागेको भन्दै चर्को विरोध भएको छ ।

संसद्को सार्वजनिक लेखा समितिको आजको बैठकमा विवादास्पद चिनियाँ कम्पनीलाई हचुवाको भरमा बुढीगण्डकी जलविद्युत् आयोजना दिइएको भन्दै छलफलका लागि ऊर्जा मन्त्री र ऊर्जा सचिवलाई आमन्त्रण गरिएको थियो ।

समितिका महत्वपूर्ण विषयमाथि छलफल हुने कार्यसूची भएपनि मन्त्री र सचिव नै विदेश हिडेपछि समितिका सदस्यहरुले चर्को आक्रोश पोखेका हुन् । त्यसरी आक्रोश पोख्नेमा सत्तारुढ दलकै सांसद बढी रहेका छन् ।

नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले बुढीगण्डकी जलविद्युत् आयोजनामा चरम भ्रष्टाचार भएको दावी गरे । उनले विवादास्पद चिनियाँ कम्पनीसँग गरिएको सम्झौता खारेजीको माग गरे ।

कामचलाउ सरकार र कर्मचारीसँग विदाबारी भइसकेका तत्कालीन ऊर्जा मनत्री जनार्दन शर्माले सार्वजनिक खरिद ऐनको प्रावधान विपरित गएर चिनियाँ कम्पनी गेजुवासँग सम्झौता गरेको भन्दै सांसदहरुले आपत्ति जनाएका थिए ।

मन्त्री र सचिवले नै अटेर गरेको भन्दै समितिले आगामी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन ऊर्जाम नत्री जनार्दन शर्मा, मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बोलाएर स्पष्टिकरण लिने भएको छ ।

समितिलाई जानकारी नै नदिई विदेश उडेको विषयमा सांसदहरुले चर्को विरोध गरेका थिए ।

समिति सभापतिले बुढीगण्डकी जलविद्युत् आयोजनामा अनियमितता भएको भन्ने सर्वत्र चर्चा परिचर्चा भएकाले छलफलका लागि मन्त्री र सचिवलाई बोलाउँदा अटेर गरेको बताए ।


क्लिकमान्डु