माथिल्लो त्रिशुली थ्री ए को ४ हजार ७६ मिटर सुरुङ निर्माण सकियो



तस्बिर स्रोत: आयोजना

काठमाडौं । सधै विवाद तथा अनेकन अनियमितताको भूमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री ए को सुरुङ गए राती ब्रेक थ्रु भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सो आयोजना डेढ वर्ष पहिल्यै सम्पन्न हुनुपर्ने थियो । भ्रकम्प र भारतको नाकाबन्दीका कारण उठ्नै नसक्ने गरी प्रभावित भएको आयोजना चिनियाँ ठेकेदारले गत वैशाखदेखि युद्धस्तरमा काम गरेपछि सुरुङ ब्रेक थ्रु हुन पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आयोजनाको सबैभन्दा जटिल मानिएको सुरुङ ब्रेक थ्रु भएको जानकारी दिए । उनका अनुसार आयोजना एउटा लयमा फर्किएको र अरु काम समेत यही तरिकाले अगाडि बढे समयमै आयोजनामा सक्न लामो समय नलाग्ने बताए । सुरुङको लम्बाई ४ हजार ७६ मिटर रहेको छ ।

गेजुवा ग्रुप अफ कम्पनीले आयोजनाको निर्माण गरिरहेको छ । प्राधिकरणले नेपालमै पहिलो पटक सो निर्माण कम्पनीसँग इपिसि मोडलमा ठेक्का गरेको थियो ।

भूकम्पका कारण आयोजना निर्माण नगर्ने भन्दै पछाडि हटेको चिनियाँ ठेकेदारलाई सरकारले उच्च कुटनीतिक पहल गरेर निर्माणका लागि वाध्य पारेको थियो ।भूकम्पका कारण ठूला ढुंगा खस्दा ठेकेदारको  १ अर्ब बराबरको क्षति हुन पुगेको छ ।

आयोजना प्रमुख फणिन्द्रराज जोशीले आयोजनाको कुल निर्माण मध्ये ६५ प्रतिशत सम्पन्न भएको बताए । उनले सिभिल निर्माणको काम ८२ प्रतिशतको हाराहारीमा पुगेको र त्यसले आयोजनालाई थप गति दिएको बताए ।

तत्कालीन प्रधानमनत्री डा बाबुराम भट्टराईले ६० मेगावाट क्षमताको आयोजनालाई ९० मेगावाट बनाउन थालेपछि समस्यामा फसेको आयोजना केही समय अन्यौलमा रहन पुग्यो ।

त्यस्तै पछिल्लो पटक भूकम्पले तवाही बनाएको आयोजना निर्माणका लागि चिनियाँ ठेकेदारले चासो देखाएन । पछि तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चौतर्फी दबाव दिएपछि मात्रै चिनियाँ ठेकेदार काम गर्न तयार भएको थियो ।


क्लिकमान्डु