कुन वस्तुको मूल्य कति बढ्यो ? (सूचिसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले महंगी नियन्त्रणमा सफलता पाएको छ । गत वर्षको साउनमा ८.६ प्रतिशतले बढेको महंगी यो वर्षको साउनमा २.३ प्रतिशतले मात्रै बढेको छ । एक वर्षको अवधिमा राष्ट्र बैंकले महंगीको दर घटान सफल भएको हो ।

राष्ट्र बैंकको मूख्य उद्देश्य महंगी नियन्त्रण हो । यो वर्ष राष्ट्र बैंकले ७ प्रतिशतभन्दा बढी महंगी हुन नदिने लक्ष्य राखेको छ ।

राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक स्थिति नामक साउन महिनाको देशको आर्थिक अवस्था सार्वजानिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा समग्र खाद्य बस्तुको मूल्य वृद्धिदर १ प्रतिशतले ऋणात्मक भएको छ । गत वर्ष यही अवधिमा यो दर ९.३ प्रतिशतले बढेको थियो ।

‘दालहन, गेडागुडी, तरकारी, फलफुल, मसलाको मूल्य वृद्धि दर गत बर्षको भन्दा उच्चले घटेपछि खाद्य बस्तुको मूल्य वृद्धि पनि घट्न गएको हो,’ प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी, साउन महिनामा यता, जुता, लत्ता कपडा, घरायसी सामान लगायत गैर खाद्य बस्तुमा ४.९ प्रतिशतले महंगी बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहका बस्तुहरुको महंगी ८.१ प्रतिशतले बढेको थियो ।

हिमालमा धेरै महंगी, काठमाडौंमा कम

राष्ट्र बैंकका अनुसार उपभोग्य सामानमा काठमाडौंमा सबैभन्दा कम महंगी भएको छ । साउनमा काठमाडौंमा १.३ प्रतिशतले मात्रै महंगी बढेको छ । पहाडमा २.२ प्रतिशत, तराईमा २.८ प्रतिशत र हिमालमा सबैभन्दा बढी ५.६ प्रतिशतले महंगी बढेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, गैरखाद्य वस्तुहरुको महंगी ४.९ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यो समूहको महंगी ८.१ प्रतिशतले बढेको थियो ।

यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, फर्निसिङ तथा घरायसी उपकरण लगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले गैर-खाद्य मुद्रास्फीति कम रहन गएको हो ।

गत वर्षको तुलनामा भन्दा यो वर्ष भारतमा कम महंगी भएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएको र कूल आयातमध्ये दुईतिहाई आयात भारतबाटै हुने भएकाले भारतमा महंगी घटबढ हुँद ा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन्छ ।


पुष्प दुलाल