सिमेन्ट नपाएर थला परे ५ जलविद्युत् आयोजना



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका चार जलविद्युत् आयोजना सिमेन्ट नपाएर नराम्ररी प्रभावित भएका छन् ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार सान्जेन, माथिल्लो सान्जेन, रसुवागढी, माथिल्लो तामाकोसी र माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजना सिमेन्टको अभावमा प्रभावित भएका छन् ।

नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्ट कम्पनीले नेपालमा उपलब्ध गराउने सिमेन्टले गुणस्तर प्रमाणपत्र चिन्ह (एनएस चिन्ह) लिनै पर्ने प्रावधान राखेका कारण सिमेन्ट आयात ठप्प भएपछि आयोजना प्रभावित भएका हुन् । भारतको राशी गोल्ड ब्राण्डको सिमेन्ट ती जलविद्युत् आयोजनामा प्रयोग भइरहेको छ ।

ती ५ जलविद्युत् आयोजनालाई औसतमा दैनिक १५० मेट्रिकटन सिमेन्ट आवश्यक पर्दछ । सिमेन्ट अभावमा कंक्रिटिङको अधिकाशं काम रोकिएको छ । नेपाली सिमेन्टको परिक्षण नभएका कारण आयोजनामा प्रयोग गर्न नसकिएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

विगत चार महिनादेखि ती आयोजना प्रभावित भएपनि समस्या समाधान गर्न कतैबाट पनि पहल भएको छैन । प्राधिकरणले विभागलाई पटक पटक समस्या समाधानका लागि आग्रह गरिसकेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

‘विभागले पहिले गुणस्तर चिन्ह लिन आग्रह ग¥यो, सोही आग्रह बमोजिम भारतीय सिमेन्टले उक्त चिन्ह लिए । पछि बोरामा समेत एनएस चिन्ह राख्नुपर्ने भन्दै विभागले पत्राचार ग¥यो’। तर बोरामा नै उक्त चिन्ह राख्न नसकिने र नेपाल आउने सिमेन्ट थोरै हुने भएकाले आफूहरु त्यसका लागि असक्षम रहेको भारतीय सिमेन्ट उद्योगले आयोजनालाई जानकारी गराएको छ ।

सिमेन्ट अभावमा आयोजना नराम्ररी प्रभावित भएपछि समस्या समाधानका लागि प्राधिकरणले ऊर्जा मन्त्रालय मार्फत पहल गरिरहेको भएपनि निकास निस्कन सकेको छैन ।
नेपाली सिमेन्ट मध्ये उदयपुर सिमेन्ट सबैभन्दा राम्रो मानिएपनि तोकिएको कोटाअनुसार उपलब्ध गराउन नसक्ने भएकाले थप समस्या देखिएको छ । अन्य सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्टको परिक्षण हुन सकेको छैन ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । त्यस्तै माथिल्लो सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । माथिल्लो त्रिशुली थ्री एको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ । उता रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ कक्रिटिङ गर्ने काम रोकिदा ठेकेदारले गुनासो गर्न थालिसकेको छ । सो आयोजनाको पनि भौतिक प्रगति ४८ प्रतिशत रहेको छ ।

‘समस्या समाधानका लागि हामी लागिपरेका छौ, तर कतैबाट पनि निकास ननिस्कदा समस्या भयो’ कार्यकारी निर्देशक घिसिङले भने ।


क्लिकमान्डु