होटल एसोसिएसन नेपालद्धारा भारत र भुटानबीच त्रिदेशीय समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । होटल एसोसिएसन नेपाल (हान)ले अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा क्षेत्रिय सहकार्यलाई बिस्तार गर्ने उद्धेश्यका साथ ३ देशहरुबीचमा त्रिदेशीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि गरिँदै आएको सहकार्यको दायरालाई अझ फराकिलो बनाउँदै सार्क क्षेत्रीय स्तरमा पुर्याउन र पर्यटनका विविध पक्षहरुको प्रवद्र्धन, सम्वद्र्धनका लागि हानले फेडरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ भूटानबीच भारतको बैंग्लोरमा फेडरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाद्वारा आयोजित एक कार्यक्रमकाबीच त्रिदेशीय समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो समझदारीपत्रमा तिनै देशका होटल एसोसिएसनमार्फत नेपाल, भारत र भूटानबीच अन्तरदेशीय पर्यटन प्रवद्र्धनलगायत होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यतासम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रमहरु आदान प्रदान गर्ने रहेको छ ।

साथै पर्यटन विकासको लागि दक्ष जनशक्ति नै मूख्य आधार रहेको हुनाले यी मुलुकहरुका होटल एसोसिएसनको समन्वयमा अन्तरदेशीय तालिम, गोष्ठी, सेमिनार, प्रवद्र्धनात्मक कार्यक्रम, वार्षिक बैठक यी तीनै मुलुकहरुमा पालैपालो आयोजना गरिने पनि जनाइएको छ ।

यस्तै अन्तर्राष्ट्रिय स्तरको आतिथ्यता प्रदान गर्नका लागि आवश्यक पर्ने तालिम पुस्तिकालगायत यस उद्योगमा संलग्न जनशक्तिहरुबीच तीनै देशमा अन्तरक्रिया कार्यक्रमहरु पनि आयोजना गरिने जनाइएको छ ।

यी तीनै मुलककका पर्यटन योजनाहरु तर्जुमाका लागि आवश्यक तथ्यांकहरु संकलन तथा व्यवस्थापन गर्नका लागि पनि आपसी सहकार्य गरिने उल्लेख छ ।

होटल संघ नेपाल, फेडरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ भूटानसँग आवद्ध रहेका सदस्य होटल तथा रेस्टुरेन्टहरुका सेवा सुविधामा तीनै देशका एसोसिएसनहरुद्वारा जारी गरिएको विशेष कार्डमार्फत विशेष सहुलियत प्रदान गरिने पनि जनाइएको छ ।

समझदारीपत्रमा होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्य, फेडरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाका अध्यक्ष के. श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ भूटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेको हानले जानकारी दिएको छ ।


क्लिकमान्डु