देउवा सरकारले अस्वीकार गर्यो सगरमाथाको उचाइ नाप्ने भारतीय प्रस्ताव



काठमाडौं । भारतले पटक-पटक सगरमाथाको उचाई नाप्न सघाउने भनिरहेका वेला नेपालले आफैं पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई नाप्ने भएको हो । मंसिरबाट सुरु गर्नेगरी प्रक्रिया अघि बढाइएको नापी विभागले जनाएको छ ।

०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्ने निष्कर्षमा नेपाल सरकार पुगेको हो । जसको लागि चालु आर्थिकवर्षको लागि २ करोड रुपैयाँ बजेट बिनियोजन समेत गरिएको छ ।

विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरुपमा पुनः नाप्नका लागि भारतले पटकपटक आग्रह गरेको थियो ।

तर पनि नेपालले यस पटक आफैं उचाई नाप्न लागेको हो । भारतको इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको थियो ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार नेपालले पहिलो पटक सगरमाथाको उचाई नाप्ने प्रयास गरेको जानकारी दिए ।

महानिर्देशक भट्टका अनुसार यो वर्ष नेपाल आफैंले नाप्ने भनी दुई करोड सुरुमा बजेट नै विनियोजन भईसकेको र उचाई नाप्नको लागि आवश्यक सबै प्रक्रियाहरुको तयारी भईरहेको बताएका छन् । कात्तिकको अन्तिम तथा मंसिरको सुरुदेखि काम सञ्चालन गर्ने तयारी भईरहेको भट्टले जानकारी दिए ।

विभागले अप्रिलसम्ममा सबै काम पूरा गर्ने तयारी गरिरहेको छ । पहिले उचाई नापेको ठाउँ कहाँ हो र त्यो ठाउँ अहिले भेटिन्छ कि भेटिँदैन भन्ने अहिले यकीन नभएकोले उक्त स्थानको खोजी भइरहेको विभागको भनाई छ ।

उदयपुरको बाँसघारीदेखि उचाइ मापन गरिने जनाएका छन् । एक सय ६२ बर्ष अघि मापन भएको सगरमाथाको उचाइ हालसम्म ८,८४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिदै आएको छ ।

यसको लागि कूल ५० जना कर्मचारी सबै प्रक्रियाको लागि आवश्यक पर्छ भने कूल १५ करोड जति बजेट लाग्ने अनुमान गरिएको छ । उचाई मापन गर्ने बेलामा सबै देशका एक एकजना बैज्ञानिकहरुको प्रतिनिधि भने बोलाईने उनले स्पष्ट बताए ।

सन् १८५५ मा सर्वे अफ इण्डियाले सगरमाथाले उचाई नापेको थियो । सर्वे अफ इन्डिया भारतको सरकारी नापी विभाग हो । अहिले पनि भारतले आफैँले उचाई नाप्न प्रयास गरेको भएपनि नेपालले यसपाली आफैंले उचाई नाप्न लागेको हो ।


पुष्प दुलाल