ब्रोकर्स एसोसिएसनले माग्यो प्रोग्रेसिभ लाभकर, लगानीको बर्गीकरण गर्न सुझाव




काठमाडौं । अर्थ राज्यमन्त्री उदयशम्सेर राणाले नेपालको पूँजीबजारमा उत्पादनसील क्षेत्रको प्रवेशलाई प्रोत्साहन गरिने बताएका छन् । स्टक ब्रोकर्स एसोसिएसनका पदाधिकारीसँगको छलफलमा राज्यमन्त्री राणाले यस्तो बताएका हुन् ।

लगानीकर्ताको जोखिम ब्यवस्थापनको लागि पनि उत्पादनसील क्षेत्र पूँजी बजारमा आउनु आवश्यक रहेको भन्दै उनले यसको लागि सरकारी तबरबाट हुन सक्ने सहजीकरणको काम भइरहेको बताए ।

‘बास्तविक क्षेत्रको प्रबेश पछि मात्रै नेपाको पुँजी बजारले देशको आर्थिक ऐनाको रुपमा काम गर्दछ, यसको लागि वास्तविक क्षेत्र पनि तयार हुनु पर्यो, सरकारी तहबाट हुनुपर्ने सहजीकरणको लागि सरकार तयार छ,’ एसोसिएसनका पदाधिकारीसँगको छलफलमा राज्यमन्त्री राणाले भने ।

 

एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले लगानीलाई वर्गीकरण गरी दीर्घकालिन लगानीलाई राज्यले प्रोत्साहन गर्नुपर्ने सुझाव दिए । एसोसिएसनको यस्तो धारणाप्रति सरकार सकारात्मक रहेको राज्यमन्त्री राणाको भनाइ छ ।

राज्यमन्त्री राणाले नेपालको पूँजी बजारलाई अन्तराष्ट्रियस्तरको बनाउन मन्त्रालय र अन्य सरोकारवाला निकायले इमान्दारीपूर्वक काम थाल्ने भएको बचन दिए ।

भेटघाटमा अध्यक्ष रेग्मीले पूँजी बजारको बिकासका लागि नीतिगत, प्राविधिक र संरचनागत सुधारको खाँचो औल्याएका थिए । एसोसिएसनले राज्यमन्त्री राणालाई १० बुदे सुझाव पेश गरेको थियो ।

यस्तो छ सुझाब
१. कारोबार कर लगाउने
कारोबारमा कर लगाउदा कारोबारको परिमाण बढ्न गई राज्यले कारोबार बापत कर निरन्तर रुपमा प्राप्त गर्दछ । बर्ष अन्तमा लगानीकर्ताले आफ्नो कारोबारको बिबरण बुझाई मूनाफा गरेको अबस्थामा मुनाफा कर समेत तिर्ने ब्यवस्थाले न्यायोचित पद्दतीको बिकास हुन्छ ।

२.प्रोग्रेसिभ लाभ कर
लगानीकर्तालाई शेयर खरिद गरेपश्चात निश्चित समयाबधिसम्म होल्ड (बिक्री नगरे) गरेमा लाभकरमा छुट दिने ब्यवस्था मिलाउने । दोसो बजारमा गर्ने कारोबारमा दुई बर्षभन्दा बढि समयमा होल्ड गरेमा बिक्रीकर्ताले बिक्री गर्दा भएको मुनाफामा ५० (पचास) प्रतिशत लाभकरमा छुट दिने ।

३.धितोपत्र दलाल ब्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गर्ने
धितोपत्र दलाल ब्यवसायीहरु मार्फत मार्जिन लेण्डिङ्ग, लगानी ब्यवस्थापन, लगानी परामर्श तथा डिलरसिप सेवादिने । यस ब्यवस्थाले लगानीकर्ताले एकै स्थानबाट चाहेको बेलामा धितोपत्रमा लगानी गर्न वा लगानी झिक्न सक्ने, हल्ला र अनुमानको आधारमा नभई सुझबुझ र तथ्यको आधारमा मात्र लगानी गरि लगानी सुरक्षित गर्न सक्दछन् । अन्र्तराष्ट्रिय अभ्यासमा धितोपत्र दलाल ब्यवसायीहरुले दिने यस्तो किसिमको सेवाको प्रभावकारीता अत्यन्तै फलदायी हुने गरेको छ । साथै बजारलाई थप चलायमान बनाउन र बजरको स्थायीत्व तथा स्थीरता लागि पनि धितोपत्र दालाल ब्यवसायीका लागि ब्रोकरडिलको कार्य गर्न दिनु उपयुक्त हुन्छ ।

४. बास्तविक क्षेत्रलाई पूँजीबजारमा प्रबेश गराउने
पूँजी बजारलाई अर्थतन्त्रको बास्तबिक सुचक बनाउनको लागि बास्तबिक क्षेत्रका कम्पनीहरुलाई अनिबार्य रुपमा सर्वसाधारणलाई शेयर जारी गर्न लगाई पूँजी बजारमा प्रवेश गराउने । यसका लागि निश्चित रकमभन्दा माथिको चुक्ता पूँजी वा बैकको ऋण (पब्लिक मनी) वा कारोबार परिमाण वा नाफाको परिमाणलाई वा यी मध्ये केही वा सवै आधार बनाई पूँजी बजारमा आउनु पर्ने बाध्यकारी नियम लागू गर्ने र यस्ता पब्लिक कम्पनीहरुलाई राज्यले लिने कर तथा अन्य प्राबधानहरुमा सहुलियतको मात्रा बढाईनु पर्ने ।

५.कारोबारका औजारहरु थप गर्ने
धितोपत्रको दास्रो बजारमा नियमले बाध्य बनाईएका बित्तीय संस्था, इन्सोरेन्स कम्पनी, जलबिधुत कम्पनी र नगन्य मात्रामा सेवा तथा उत्पादनमुलक क्षेत्रका कम्पनीहरुको प्रवेश भएको छ । लगानीकर्ताले लगानी बिबिधिकरण गर्दै जोखिम ब्यवस्थापन गर्नका लागि कारोबारका औजारहरु नभएकाले नेपाल राष्ट्र बैंकसँगको समन्वयमा सरकारी तथा निजी क्षेत्रका ऋणपत्रहरु सुचिकृत गरी कारोबार हुने ब्यवस्था मिलाउने । नेपाल स्टक एक्चेञ्जमा एक अनुसन्धान तथा विकास शाखा स्थापना गर्न लगाई करोबार औजारहरु जस्तै इन्डेक्स फ्यूचर्स, अप्सन, करेन्सी डेरिभेटिम्स आदिको कारोबार प्रारम्भ गर्न लगाउने ।

६.संस्थागत संरचनाहरुको स्थापना गर्ने
बजारमा हुने कारोबारको राफसाफको प्रत्याभुक्ति गर्दै बजारको साख बढाउनको लागि राफसाफ प्रत्याभुती कोष र अक्सन मार्केटको स्थापना गर्ने ।

७. कारोबार बिनियमावली तथा अनलाई टे«डिङ्ग सिस्टम
प्रविधिमा भएको परिवर्तन समेतलाई मध्यनगर गर्दै ब्यवहारिक धितोपत्र कारोबार बिनियमावली बनाई लागु गर्नु पर्ने । हाल २०५५ सालमा बनेको कारोबार बिनियमावलीको आधारमा कारोबार भईरहेको छ । जुन बर्तमान अवस्थामा अपर्याप्त र काम नलाग्ने छ । फूल प्लेग्ड अनलाइन ट्रेडिङ सिस्टम छिटो प्रारम्भ गर्नु पर्ने ।

८.नेप्से तथा सिडिएसीको निजीकरण
सरकारी संरचनाका कारणले प्रविधिको विकासँगै नेप्से र यसको सब्सिडाएरी सिडिएसिले आफूलाई ब्यवसायीक रुपमा प्रस्तुत गर्न नसक्दा पूँजी बजारको समयानुकुल बिकास भएको छैन । जसका कारणले देशमा उद्यमशीलता र रोजगारी अपेक्षकृत सुधार हुन सकेको छैन । यसलाई उपयुक्त बैदेशिक रणनीतिक साझेदार सहभागितामा नीजिकरण गरिए यसको ब्यवसायीकतामा सुनिश्चितता बढ्न गई उद्यमशीलता बढ्ने, ब्यवसायीक प्रतिस्ठानहरुको जन्म हुनुको साथै उत्पादकत्व र रोजगारीमा बृद्धि भई दिगो रुपमा आर्थिक बिकास हुन्छ ।

९.एनआरएन तथा संस्थागत बैदेशिक लगानीकर्ताको प्रवेश
बिश्वभर फैलिएका गैरआवाशीय नेपालीहरु तथा बिदेशी संस्थागत लागनीकर्ताको पूँजीलाई नेपाली पूँजीबजार मार्फत नेपालमा भित्र्याई उद्यमशिलताको बिकास गर्न यस सम्बन्धि स्पस्ट नीतिको तय गरी लागु गर्ने ।

१०.धितोपत्र बोर्डलाई स्वायत्त बनाउने
धितोपत्र बजारमा सचिकृत कम्पनीहरुमध्ये बित्तीय क्षेत्रको मात्रै बिशेषज्ञ नियमाकबाट नियमन भइरहेको र बाँकी क्षेत्रका कम्पनीहरुको संचालनको चुस्तता हेर्ने बिशेषज्ञ नियमाक निकाय नभएकोले वास्तविक क्षेत्रका कम्पनीहरुमा गरिएको लगानी सुरक्षित नभएको विगतको अनुभवको कारणले सम्पूर्ण सुचिकृत कम्पनीहरुको विषयगत दक्षता नियमन गर्न जरुरत रहेकोले धितोपत्र बोर्डको सचिकृत कम्पनीहरु माथि हुने सुपरिवेक्षकीय क्षमता अभिवृद्घि गर्न तथा स्वतन्त्र ढंगले सुपरिवेक्षण गर्न धितोपत्र बोर्ड स्वायत्त हुन जरुरत रहेकोले बोर्डलाई पूर्ण स्वायत्तता प्रदान गरी सुचिकृत कम्पनीहरुप्रति आमलगानिकर्ताहरुको विश्वास अभिवृद्घि गर्नु पर्ने ।


क्लिकमान्डु