यस्तो छ, क्यानका प्रमुख हटाउने पर्यटन मन्त्रीको तयारी



काठमाडौं । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले ७२ घन्टे स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै शुक्रबार पुनः २४ घन्टे स्पष्टीकरण सोधेका छन् ।

गौतमले जवाफ आइतबार नै दिदैं छन् । सोही जवाफललाई आधार मान्दै मन्त्री देवले अव बस्ने मन्त्रिपरिषद् बैठकबाट गौतमलाई हटाउने तयारी देवले गरेका छन् ।

मन्त्री देवले सोधेको स्पष्टीकरण पत्रमा बाराको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको कार्य अगाडी बढाउन नसकेको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार कार्यको अलपत्र पारेको, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यमा समेत नेर्तृत्वदायी भूमिका खेल्न नसकेको आरोप लगाएका छन् ।

त्यस्तैगरी पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि गति आउन नसकेको तथा हवाई सुरक्षामा समेत सन्तोषजनक काम गर्न नसकेको आरोप मन्त्रीले लगाएका छन् । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार गौतमले कुनै पनि जवाफ स्पष्टरुपमा दिन नसकेको मन्त्री देवले ठहर गरेका छन् ।

गौतमले निजगढ विमानस्थल निर्माणले गति लिन नसक्नुमा प्राधिकरण भन्दा पनि बढी तालुक निकाय पर्यटन मन्त्रालय भएको उल्टो अरोप लगाउँदै जवाफ पठाएको मन्त्रालय स्रोतको भनाई छ ।

गौतमले रुख कटान तथा सडक निर्माणको जिम्मा सेनालाई दिन समेत सकारात्मक नभएको मन्त्रालय स्रोतको भनाई छ ।

सेनालाई भन्दा पनि कुनै टेन्डर गरेर अन्य कम्पनीलाई रुख कटानको जिम्मा दिने तर्क गर्दै आएका थिए । तर मन्त्री देवले त्यो प्रक्रिया लामो हुने भन्दै कुनै पनि बाहानामा निजगढ विमानस्थल निर्माणलाई गति दिने तयारीमा रहेका थिए ।

मन्त्री देवको आफ्नै क्षेत्र भएकोले पनि आफ्नै कार्यकालमा आयोजना अगाडी बढाउने योजनामा रहेका छन् । उक्त कार्यमा गौतम तगारो बनेको आरोप मन्त्रीको रहेको स्रोतको दावी छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको लागि २ अर्ब भन्दा बढी लागत बढ्ने अवस्था सिर्जना गर्नेकाम गौतम नेर्तृत्वले गरेको आरोप लगाएको थियो ।

तर जवाफमा गौतमले विस्तारको जिम्मा दिएको स्पेनीस कम्पनी कन्स्ट्राक्टोरा सान्जोसेले समयमा काम सम्पन्न नगरेकोले ठेक्का तोडिएको जसका कारण केही लगत बढेको जवाफ दिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण गत मंसिर २४ गते ठेक्का सम्झौता तोडेको थियो ।

तत्कालिन अवस्थामा अर्को विकल्पको कुनै तयारी नगरी ठेक्का तोडिएको तर एकवर्षसम्म टेन्डर समेत निकाल्न गौतम नेर्तृत्व असफल भएको आरोप मन्त्रालयको छ । समयमा काम सम्पन्न नभएर टेन्डर प्रक्रियानै रद्द भएपछि लागत र समय बढ्ने भएको हो । ६ अर्बको आयोजनाको लागत बढेर झन्डै ८ अर्व पुगेको छ ।

भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ७ महिना देखि ठप्प भएकोले विवाद समाधान गरेर काम अगाडी बढाउन नसकेको आरोप मन्त्रीले लगाएका छन् । तर गौतमले चिनियाँ ठेकेदारले काम गर्न नसकेकोले ठेक्का रद्द गर्नुको विकल्प नभएको जवाफ दिएका छन् ।

तर मन्त्रीले ठेक्का रद्द गर्दैमा समस्या समाधान नहुने भएकोले भैरहवाको पनि त्रिभुवन विमानस्थल विस्तारको जस्तै अलपत्र पर्ने जिकिर मन्त्रीले गौतमसंग विगत देखिनै गर्दै आएका छन् ।

विमानस्थल विस्तारमा निर्माण समाग्रि सप्लायर्सको जिम्मा पाएको कम्पनी नर्थवेष्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिका कारण समस्या भएको चिनियाँ ठेकदारले आरोप लगाउँदै आएको छ । उक्त कम्पनी नेकपा एमालेका नेता झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनालको हो ।

तत्कालिन अवस्थामा प्राधिकरण नेर्तृत्वकै लविङमा खनाललाई ठेक्का दिएको तर समस्या समाधानमा मौनता साध्नु रहस्यमय भएको आरोप रहेको मन्त्रालय स्रोतको दावी छ । आयोजनाका लागि कबुल गरे बमोजिमको निर्माण समाग्रि खनालको कम्पनीले उपलब्ध नगराएपछि ७ महिना देखि काम अवरुद्ध भएको छ ।

पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य समेत हालसम्म सुरु गर्न नसक्नुको कारण के हो भन्दै जवाफ मन्त्रीले मागेका थिए । तर गौतमले जवाफमा अव छिट्टै निर्माण कार्य सुरु हुने चरणमा रहेको बताएका छन् ।

आयोजनाको काम गत बैशाखबाटै सुरु हुने बताइएको थियो । तर मन्त्रीले ६ महिनासम्म पनि निर्माण कार्य सुरु गर्न नसक्नु नेर्तृत्वको असफलता भएको ठहर गरेको मन्त्रालय स्रोतको आरोप छ ।

यसअघि ७२ घन्टे स्पष्टीकरण सोधेका मन्त्रीले शुक्रबार २४ घन्टे पत्र काटेका छन् । शुक्रबार गौतम विदामा बसेको तर पत्र प्राधिकरणमा दर्ता भइसकेकोले गौतमलाई छुट नहुने मन्त्रालय संम्बद्ध स्रोतको भनाई छ ।

गौतम धेरै दिन बिदामा बस्नको लागि प्राधिकरण संचालक समितिका अध्यक्षको स्विकृत चाहिने भएकोले पनि गौतम आइतबार प्राधिकरण जाने मन्त्रालयका एक उच्च अधिकारीको भनाई छ । मन्त्री प्राधिकरण संचालक समितिका अध्यक्ष हुने व्यवस्था छ ।

नागरिक उड्डयन प्राधिकरण ऐन मा महानिर्देशकको पदावधी ४ वर्षको हुने व्यवस्था रहेको छ । गौतमलाई दुई वर्ष अगाडी तत्कालिन पर्यटन मन्त्री कृपासुर शेर्पाले नियुक्त गरेका थिए । नागरिक उड्डयन प्राधिकरण ऐनमा सरकारले चाहेमा महानिर्देशक हटाउन सकिने व्यवस्था रहेको छ ।


पुष्प दुलाल