चन्द्रागिरीमा पृथ्बीनारायणको सालिक अनावरण गरिन् राष्ट्रपतिले




काठमाडौं । विद्यादेवी भण्डारीले चन्द्रागिरी हिल्स परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरेकी छन् ।

आइतवार राष्ट्रपति भण्डारीले सो सालिक अनावरण गरेकी हुन् । चन्द्रागिरी हिल्सले बनाएको सो सालिक ५ फिट ८ इन्च उचाईको छ । मुर्तीकार नविन सुवेदीले सो शालिक निर्माण गरेका हुन् ।

पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रुपले सम्बन्धित रहेको चन्द्रागिरीमा उनको सालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भन्दै चन्द्रागिरी हिल्सले उक्त सालिक निर्माण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको प्रसंग उल्लेख गर्दै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र ससाना सामन्ती राज्य रज्यौटाहरुलाई एकताको सुत्रमा बाँधेर सबल र एकीकृत राज्यनिर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गरेको बताइन् ।

राष्ट्रपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित पुण्यभूमिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय जीवनस्तर उकास्ने तथा पर्यटनको विकास मार्फत नेपालको समृद्धि हासिल गर्ने काममा चन्द्रागिरी हिल्सले अहम भूमिका निर्वाह गर्नसक्ने बताइन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले चन्द्रागिरि हिल्सले केवलकारको निर्माण मात्र नभएर सांस्कृतिक एवम् धार्मिक पर्यटनको विकासका एकीकृत योजनाहरु ल्याई प्रसंशनीयकाम गरेको बताए ।

यस्तै आगामी बर्ष सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने निर्णय नेपाल सरकारले गरेको जानकारी समेत दिए ।

समारोहमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, पूर्वअर्थमन्त्री डा.रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासदहरु विनोद श्रेष्ठ, सुवाससिंह ठकुरी, प्रेमबहादुर सिंह लगायतले सो ऐतिहासिक स्थलमा पृथ्वीनारायण शाहको शालिकनिर्माण गरेर इतिहासको संरक्षण र सम्बर्धनकालागि चन्द्रागिरि हिल्सले प्रशंसनीय कार्य गरेको बताए ।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले छोटै समयमा यो पर्वत काठमाडौं र समग्र देशबासीकै आकर्षक पर्यटकीय एवम् धार्मिक गन्तव्यका रुपमा स्थापित भइसकेको बताए । सो क्षेत्रलाई आगामी दिनमा एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने विभिन्न कार्यक्रमहरुको पनि उनले जानकारी दिए ।

ऐतिहासिक चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ भने पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्त होस भनी कामना गरेको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माण भईसकेको छ । जुन हिन्दू धर्मावलम्बीका लागि अति महत्वपूर्ण र पवित्र स्थल हो । सोही परिसरमा सुविधा सम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण कार्य जारी छ । यो निकट भविश्यमै निर्माण सम्पन्न हुने बताइएको छ ।

यसका साथै प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएर लगायतका अन्य साहसिक पर्यटनका योजनाहरुको पनि तयारी गरिएकोले यस क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना हिल्सले बनाएको छ ।

अहिले नै सो ठाउँमा प्रत्यक्ष रुपमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । सबै आयोजनाहरु सम्पन्न भइसक्दा ५०० भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाउने हिल्सको भनाइ छ ।

अहिलेसम्मको एक बर्षको बीचमा चन्द्रागिरीले नेपाल सरकारलाई भ्याट तथा स्थानीय कर गरी ७ करोड २८ लाख रुपैयाँ राजस्व तिरिसकेको बताइएको छ ।

भालेश्वर महादेव मन्दिरबाट सो अवधिमा ६३ लाख, १२ हजार ९५० रुपैयाँ भेटिघाटी संकलन भएको छ । यसलाई नेपालमै एक पारदर्शी र व्यवस्थित देवस्थलका रुपमा विकास गरी यसबाट उठेको भेटिघाटीलाई व्यवसायिक प्रयोजनमा खर्च गर्ने नभई एक पारदर्शी फण्डका रुपमा संकलन गरी धार्मिक र सामाजिक कार्यमा लगाउने योजना कम्पनीले बनाएको छ ।


क्लिकमान्डु