४५.८ मेगावाटको खिम्ती-२ हाइड्रोमा लगानी जुट्यो, १० बैंकले साढे ६ अर्ब लगानी गर्ने



काठमाडौं । पछिल्लो दिनमा बैंक तथा वित्तीय संस्था जलविद्युत् क्षेत्रमा लगानीका लागि आर्कषित भएका छन् । नेपाल राष्ट्र बैंकले ऊर्जा क्षेत्रमा कुल कर्जाको ५ प्रतिशत रकम लगानी गर्नै पर्ने नीति ल्याएपछि उनीहरु ऊर्जा क्षेत्रका लगानीका लागि आर्कषित भएका हुन् ।

खिम्ती-२ जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न १० वटा ‘क’ वर्गका बैंकले लगानी गर्ने सम्झौता गरेका भएका छन् ।

खिम्ती-२ जलविद्युत् आयोजनाको प्रवद्र्धक पिपल्स इनर्जी प्रालि र बैंकका तर्फबाट प्रमुख बैंक सानिमा बैंकबीच ऋण सम्झौतामा हस्ताक्षर गरियो ।

प्रवद्र्धकका तर्फबाट पिपल्स इनर्जी प्रालिका अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकका तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले हस्ताक्षर गरे ।

आयोजनामा सिद्धार्थ बैंक, नबिल बैंक, जनता बैंक, एनआइसी एशिया बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौँ, सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंकले संयुक्तरुपमा लगानी गरेका छन् ।

सो आयोजनामा कूल ८ अर्ब ६५ करोड रहेको छ । त्यसमा बैंकले ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । कूल ४८.८ मेगावाट क्षमताको सो आयोजना २०७८ असार समान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दोलखा र रामेछाप जिल्लाको सिमाना भएर बग्ने खिम्ती नदीमा निर्माण गर्न लागिएको सो आयोजनाले २०७३ साल फागुनमा विद्युत् उत्पादनको अनुमतिपत्र पाएको हो ।

कुल २६ करोड युनिट वार्षिक ऊर्जा उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको खिम्ती खोला र पलाँती खोलाको दोभानभन्दा २५० मिटरमाथि विद्युत्गृह निर्माण हुनेछ भने उत्पादित विद्युत् न्यू खिम्ती सवस्टेशन, किर्नेटारमा जोडिनेछ ।

हाल आयोजनाको प्राविधिक कामका अलावा र पहुँच मार्ग निर्माणको काम भइरहेको छ । आयोजनाको निर्माण शीघ्र शुरु गरिने जानकारी दिँदै अध्यक्ष आचार्यले आयोजनामा तीन हजार ५०० जनाले संस्थापक शेयर लगानी गरिसकेका छन् ।

कम्पनीले संस्थापनक शेयर लगानीका लागि आम नेपाली नागरिकलाई समेत आह्वान गरेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले आयोजना आकर्षक र प्रवद्र्धक इमान्दार देखिएकाले आफूहरुले संयुक्त रुपमा लगानी गरेको बताए ।


पुष्प दुलाल