दुईदिन अघि नै मनाइयो अठतीसौँ विश्व पर्यटन दिवस



काठमाडौँ । ‘दिगो पर्यटन: विकासको आधार’ भन्ने मूल नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ  ।

विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन औपचारिक कार्यक्रम  गरिँदै आए पनि यस वर्ष महान् चाड विजयादशमीअन्तर्गत फूलपाती पर्ने भएकाले दुईदिनअघि सोमबार सो कार्यक्रम आयोजना गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बढी अन्तर्राष्ट्रिय मुद्रा आर्जन गर्ने एयरलाइन्सतर्फ नेपाल वायु सेवा निगम, होटेलतर्फ सोल्टी क्राउन्ट प्लाजा, ट्रेकिङमा हिमालय इनकाउन्टर र  ट्राभलतर्फ फ्लाइट कनेक्सन एयरलाइन्सलाई सम्मान गरेका थिए ।

यस्तै दिगो पर्यटनको नमूनाका रुपमा चन्द्रागिरि हिल्स प्रालि सम्मानित भएको थियो । कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्चले धादिङ सितली गाउँपालिकाको सलाङ गाउँ, स्याङ्जाको वालिङ नगरपालिकाको पित्लेक र मकवानपुरको कुन्छा गाउँ होमस्टेलाई पर्यटन भ्रमण वर्ष गाउँ घोषणा गरेको थियो ।

सचिव न्यौपानेले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान रहे पनि त्यसको मूल्यांकन हुन सकेको छैन भन्दै पर्यटनलाई आर्थिक हिसाबले मात्र नभई आर्थिक सांस्कृतिक र पर्यटनको बहुआयामिक सम्बन्धको रूपमा लिइनुपर्ने बताए।

चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले पर्यटन विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले ध्यान दिए व्यवसायी लगानी बढाउन तयार रहेको उल्लेख गरे । यसअघि बिहान पर्यटन बोर्डको अगुवाइमा ठमेलदेखि भृकुटीमण्डपसम्म प्रभातफेरी आयोजना गरिएको थियो ।

संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाइँदै आएको छ ।


क्लिकमान्डु