बिमानस्थल भित्रै भारतीय नम्बर प्लेटका सवारी, निगमका सवारी बिनादर्ता सञ्चलनमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले संचालनको गरेको सवारी दर्ता नगरेको खुलेको छ । यातायात व्यवस्था विभागले गरेको अनुगमनका क्रममा हवाई यात्रुका लागि प्रयोगमा ल्याएको निगमका सवारी वागमती अञ्चलमा दर्ता नगरीकन संञ्चालन भइरहेको अनुगमनको क्रममा खुल्न आएको विभागले जनाएको छ ।

दर्ताबिनाका सवारी सञ्चालन हुँदा एकातर्फ राज्यले पाउने कर गुमेको छ भने अर्कोतर्फ जिम्मेवार कम्पनीहरुले पनि कानुनको बर्खिलापमा काम गर्दा अराजकता बढ्ने विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

नेपाल एयरलाइन्सले यात्रु ओसारपसारका लागि प्रयोग गरेको सवारी बागमती यातायात कार्यालयका दर्ता नभएको भट्टराईले बताए । निगमले केही महिना अगाडी मात्रै १० करोड रुपैयाँ खर्च गरेर सुविधा सम्पन्न गाडी भित्र्याएको थियो ।

यसैबीच भारतीय एयरलाइन्सले त्रिभुवन विमानस्थलमा भारतीय नम्बर प्लेटको सवारी प्रयोग गरिरहेको समेत पाइएको छ । “यो गैरकानुनी कार्य हो, कानुनविपरित भएकाने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेका छौं र त्यसको बोधार्थ अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई दिइएको छ ।” भट्टराईले भने ।

सरकारले बागमती अञ्चलमा दर्ता गर्न तथा सञ्चालनमा प्रतिबन्ध लगाएको ट्याक्टर विमानस्थलमै सञ्चालन भइरहेको समेत अनुगमनको क्रममा भेटिएको छ । यातायात व्यवस्था विभागले दशैं अगाडि गरेको अनुगमनबाट यस्तो फेला परेको हो ।

सरकारले २०५२ सालमै बागमती अञ्चलमा ट्याक्टर दर्ता नगरिने र सडकमा गुडाउनसमेत नपाउने निर्णय गरेको थियो । नेपाल वायुसेवा निगम र बुद्ध एयरलाइन्सले विमानस्थलभित्र ट्याक्टर प्रयोग गरिरहेको पाइएको महानिर्देशक भट्टराईले जानकारी दिए ।

यस्तै, २०५२ देखि सरकारले उपत्यका भित्र ट्याक्टर चलाउन प्रतिबन्ध लगाएको छ । तर, विमानस्थल भित्रै सरकारी नियमको उलंघन गर्दै बुद्ध र नेपाल एयरलाइन्सले ट्रली तान्नका लागि ट्याक्टर प्रयोग गरेको अवस्थामा फेला परेको हो ।


क्लिकमान्डु