चिया पर्यटनको प्रबर्द्धन गर्न कटेज संचालन



इलाम । इलामको सूर्योदय नगरपालिका–६ कन्याममा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायी टेकराज गिरीले ४५ लाख रुपैयाँको लागतमा ‘कन्याम भिलेज कटेज’ सञ्चालन गरेका छन् ।

‘चिया र पर्यटन साथ–साथै’ भन्ने नाराका साथ कटेज सञ्चालनमा ल्याएको सञ्चालक गिरीले बताए ।  अग्र्यानिक तरकारी, स्थानीय जातका कुखुरा, खरायोलगायतका खानाका परिकारका साथ कटेजमा लजको समेत व्यवस्था छ । कन्यामलाई प्लास्टिकमुक्त अभियानमा सहयोग गर्ने उद्देश्यले कटेजले प्लास्टिक निषेध गरिएको सञ्चालक गिरीले जानकारी दिए ।

विभिन्न स्थानबाट कन्याम घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको कटेजमा क्याम्पिङ फायर, मिटिङ हललगायतको व्यवस्था छ । विभिन्न परिकारको साथमा कन्यामका रमणीय स्थानको अवलोकनसमेत गर्न सकिने कटेजले पर्यटकलाई आकर्षित गर्न इन्टरनेटको समेत व्यवस्था गरेको छ ।

इलामको विषेशताका साथ इलामका पर्यटकीय स्थानको जानकारी गराइनुका साथै अन्य पर्यटकीयस्थलसम्म जानका लागि सवारी साधनको समेत व्यवस्था गरिने बताइएको छ ।

कटेजमा आएका पर्यटकलाई इलामकै उत्पादन ग्रीन टिले स्वागत गरिन्छ । पर्यटकलाई लक्षित गरेर कटेज सञ्चालनमा आएको यस कटेजले इलामको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने सूर्योदय नगरपालिकाका प्रमुख आरबी राईले बताए ।

असोज महिना लागेसँगै कन्याममा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । खुल्ला मौसममा कञ्चनजंघा हिमाल, मनोरम चियाबारीको दृश्यले पर्यटकलाई मोहित पार्ने गर्दछ । यहाँ दैनिक सयौंको संख्यामा पर्यटक आउने गरेका छन् ।


क्लिकमान्डु