तराईमा भएको डुबानले ३५ अर्ब रुपैयाँको क्षति



काठमाडौं । भीषण वर्षका कारण गत साउन महिनामा तराई डुबान हुँदा मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । तराई डुबानले करिब ३५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

‘तराईका जिल्लाहरुबाट तथ्यांक लिइसकेका छौं, उक्त तथ्यांक योजना आयोगले एकीकृत गरिरहेको छ,’ वाग्लेले क्लिकमाण्डूसँग भने, ‘३० देखि ३५ अर्ब रुपैयाँको हाराहारीमा नोक्सानी भएको तथ्यांक छ ।’

आयोगले क्षेत्रगत र जिल्लागत क्षतिको बिबरण एकीकृत गरेर एक/डेढ हप्ताभित्र सार्वजानिक गर्ने उनले जानकारी दिए ।

‘आगमी एक÷डेढ हप्ताभित्र क्षतिको सम्पूर्ण विवरण सहितको प्रतिवेदन सार्वजनिक गर्छौं,’ उनले भने ।

क्षेत्रगतरुपमा हेर्दा कृषि, सिँचाइ, पशुपञ्छी र स्थानीय पूर्वाधारमा सबैभन्दा धेरै क्षति भएको पाइएको वाग्लेले जानकारी दिए ।

वर्षाका कारण तराईका डेढ दर्जन जिल्लाका धेरै भाग डुबानमा परेका थिए । बाढीमा धेरैले ज्यान पनि गुमाएका थिए ।


पुष्प दुलाल