तिहार लक्षित बजार अनुगमन गर्न आइतबारदेखि ४ सरकारी टोली फिल्डमा



काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले आगामी आइतबारदेखि मिठाई, तेल, खाद्य र लत्ता कपडाको अनुगमन गर्ने भएको छ ।

चाडपर्वका बेला कालोबजारी र कम गुणस्तरका सामाग्री बिक्री वितरण हुने भएकाले त्यसलाई नियन्त्रण गर्न आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन गर्ने भएको हो ।

विभागले चाडबाडका बेला बजार अनुगमनलाई तीब्र बनाउँदै आएको छ । उपभोक्ता नठगिउन भनेर अनुगमन गर्न लागिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए ।

‘उपभोक्ताले गुण्स्तरीय सामाग्रीको उपभोग गर्न पाउन भनेर तिहार आउनु १० दिनअघि नै ४ टोलीलाई अनुगमनका लागि पठाउन लागेका हौं,’ उदाहालले क्लिकमाण्डूसँग भने ।

आइतबारदेखि नै काठमाडौ र तराईका जिल्लाहरुमा बजार अनुगमन तीब्र पारिने उनले जानकारी दिए ।

चाडवाड नजिकिँदै गर्दा मिठाइ तथा खाद्यमा धेरै मिलावट भेटिने गरेको छ । अघिल्लो वर्ष मिठाई पसलमा गरिएको अनुगनका क्रममा मिठाई तयार गरिने किचनमा साङ्ला, भुसुना भन्किएको, वरिपरी फोहोर छरिएको, कर्मचारीहरुले मास्क नलगाएको, नछोपी व्यापार गरिएको तथा मूल्यसूची नराखिएको भेटिएको थियो ।

यस्तै खाद्यमा गरिएको अनुगमनका क्रममा मूल्यसूची नभएको, म्याद नाघेका सामान राखिएको, खाद्यय, अखाद्य सामानसँगै राखिएको र नापतौल प्रमाणीकरण नविकरण नभएको भेटिएको थियो । तेलमा गरिएको अनुगमनमा लेउ लागेको र बालो बजारी धेरै मात्रामा भएको पाइएको थियो

त्यसैगरी लत्ता कपडामा गरिएको अनुगमनका क्रममा विभिन्न कपडा पसलहरुमा प्राय तोकिएको मूल्यभन्दा दोब्बर मूल्यमा लत्ता कपडा विक्री वितरण गरिएको पाइएको थियो ।


पुष्प दुलाल