आर्थिक वृद्धिदरमा गत वर्ष सार्कमै फस्ट बनेको नेपाल, यो वर्ष छैठौं स्थानमा ओर्लियो



काठमाडौं । अघिल्लो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गरेको नेपाल यो वर्ष छैठौ स्थानमा ओर्लने भएको छ ।

अघिल्लो वर्ष नेपालले ७.५ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको थियो । यो वर्ष नेपालको आर्थिक बृद्धिदर ४.६ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

बहुराष्ट्रिय निकाय विश्व बैंक तथा एशियाली विकास बैंकले तराई मधेशमा आएको बाढीको कारण नेपालको आर्थिक बृद्धिदर खुम्चने प्रक्षेपण गरेका छन् । सरकारले चालु आर्थिक वर्षमा साढे ६ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपाल आर्थिक बृद्धिदर उच्च गर्ने देशको सूचिमा तेस्रो स्थानमा रहेको थियो ।

अघिल्लो वर्षमा हासिल भएजस्तो आर्थिक बृद्धिदर एक दशक निरन्तरता दिन सके नेपालको आर्थिक अवस्थामा ठूलो फड्को मार्ने सम्भावना हुन्छ ।

‘बाढीको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने भएको हो’,विश्व बैंकले आफ्नो रिपोर्टमा भनेको छ । राष्ट्रिय योजना आयोगले तराइ मधेशमा गएको बाढीको कारण ३५ अर्ब रुपैयाँको क्षती भएको अनुमान गरेको छ ।

विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो वर्ष विश्वमा दक्षिण एशियाले आर्थिक बृद्धिदर गर्ने क्षेत्रमा शिर्ष स्थान गुमाउने भएको छ ।

भारतकोे अर्थतन्त्रमा नोटबन्दीकोे प्रभावको कारण आर्थिक बृद्धिदर खुम्चने हुँदा दक्षिण एशियाकै आर्थिक बृद्धिदर पछाडी धकेलिन लागेको हो ।

यो वर्ष भारतको आर्थिक बृद्धिदर ७.३ प्रतिशतमा अनुमान गरेको छ । यो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धि भारतले नै गर्ने छ । दोस्रो स्थानमा भने भुटान रहेको छ ।

भुटानले यो वर्ष ६.९ प्रतिशत आर्थिक बृद्धि गर्ने छ । भारतको परम्परागत प्रतिस्पर्धी पाकिस्तानले यो वर्ष साढे ५ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्ने छ ।

दक्षिण एशियामा सबैभन्दा कम आर्थिक बृद्धि अफगानिस्तानको ३.४ प्रतिशत हुने विश्व बैंकले जनाएको छ ।


क्लिकमान्डु