गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष ढिलो हुने



काठमाडौं । अबको ८ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ ।

विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो ।

‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले झण्डै आठ महिना विमानस्थल निर्माणको काम अवरुद्ध भएको थियो ।

हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत रहेको छ । भौतिकतर्फ बाँकी ६७ प्रतिशत काम गर्ने अब जम्मा ८ महिनाको अवधि छ । निर्माण सामग्रीको सहजता भएमा अबको एक वर्षभित्र विमानस्थल निर्माणको मुख्य काम सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले बताए ।

विमानस्थल निर्माणका लागि अहिले आवश्यक १० लाख घनमिटर अर्थात् झण्डै ढेड लाख ट्रक माटो चाहिन्छ । चिनियाँ ठेकेदार कम्पनीको लापर्बाहीले विमानस्थल निर्माणमा ढिलाइ भएको भए पनि पछिल्लो समय सोही कम्पनीले प्रभावकारीरुपमा काम अघि बढाएको शर्माले बताए ।

‘चिनियाँ निर्माण कम्पनीको लापर्बाहीले समस्या आएको हो, अहिले काम राम्रो भइरहेको छ कामको कार्यशैली हेरेर बरु केही महिना समयावधि बढाएर भए पनि यही कम्पनीलाई अघि बढाउने योजनामा छौँ’, उनले भने ।

चिनियाँ कम्पनीले काममा ढिलाइ गरेपछि बीचमै ठेक्का तोडेर नयाँलाई दिने वा पुरानैलाई चेतावनीसहित सक्रिय गराउने भन्नेमा अन्योल भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुई महिनाअघि चेतावनीयुक्त निर्देशन दिँदै चिनियाँ कम्पनीलाई काम अघि बढाउन भनेको थियो । दुई महिनाको कार्यशैली हेरेर निर्णय लिने जनाएको थियो । दुई महिनाको प्रतिवेदन आइसकेको र पहिलाको भन्दा सन्तोषजनक काम गरेको पाइएकाले अहिलेकै कम्पनीलाई अघि बढाउने मनःस्थितिमा नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) रहेको छ ।

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा क्यानका महानिर्देशक सञ्जिव गौतमले भैरहवा विमानस्थलको काम पछिल्लो समय सन्तोषजनक रहेकाले अझै उसको कामको प्रगति हेरेरमात्रै निर्णयमा पुगिने बताए ।

समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य प्रगति सम्बन्धमा पर्यटनमन्त्री, विभागीय प्रमुख र मातहत निकायका प्रमुखसँग छलफल गरेको हो । पर्यटनमन्त्री जितेन्द्र देवले गौतमबुद्ध विमानस्थलको काम सन्तोषजनक नभएको बताए।

विमानस्थलको निर्माण प्रगतिबारे सरोकार भएका सबै निकायसँग चरणबद्ध गम्भीर छलफल भई नीतिगत निर्णय गरेर मन्त्रालयले दुई महिनाको कार्यप्रगति हेर्ने र सन्तोषजनक नभए अन्य विकल्पमा जाने निर्देशन दिइसकेको र उक्त अवधि पनि सकिएकाले अब समीक्षा गरी निर्णयमा पुग्ने उनको भनाइ छ ।

मन्त्री देवले ठेकेदार कम्पनीको लापर्बाहीले राष्ट्रिय गौरवको आयोजना नै अन्योल हुने अवस्था आएकाले अब, निर्माण कम्पनीलाई जनशक्ति तथा उपकरण बढाएर काममा तीव्रता दिन आग्रह गरिने बताए ।

पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले ठेकेदारबीच भुक्तानी विवादले निर्माणमा अवरोध आएको र यसको टुंगोका लागि जनशक्ति तथा उपकरण बढाएर काम शुरु भइसकेको जानकारी दिए ।

चिनिया ठेकेदार कम्पनीका प्रतिनिधि जेरियनले पर्याप्त जनशक्ति र आजारका साथ काम अघि बढाइएको र विद्युत् तथा अन्य निर्माण सामग्रीको सहजता भएको खण्डमा काम प्रभावकारीरुपमा अघि बढ्ने बताए ।

विमानस्थल निर्माणको ३ किलोमिटर धावन मार्गमा ग्राभेल भइरहेको छ । माटो, ढुंगा र गिट्टीको सहजीकरण चुनौती बनेको आयोजनाको भनाइ छ । टर्मिनल भवनलगाय अन्य पूर्वाधारको काम धमाधम भइरहेको छ । शुरुमा २७७ र थप ५०० गरी जम्मा ७८७ बिगाहा क्षेत्रफलमा तीन किमीभन्दा लामो धावनमार्ग भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । जसको कूल लागत ६ अर्ब २२ करोड रुपैयाँ छ ।

विमानस्थलको मुख्य चुनौती जग्गा अधिग्रहणको मुआब्जा हो । आयोजनाका अनुसार ५ बिगाहा जग्गाको करिब २३ अर्ब रुपैयाँ मुआब्जा दिनुपर्ने छ जबकि अहिले २५ करोड रुपैयाँ अर्थात् जम्मा रकमको २ प्रतिशत मात्र मुआब्जा वितरण गरिएको छ । रुपन्देहीमा निर्माणाधीन सो विमानस्थाल निर्माणबाट ६ सय घरपरिवार विस्थापित तथा २ हजार परिवार प्रभावित भएका छन् ।

समितिको बैठकमा बोल्ने अधिकांश सदस्यले विमानस्थल निर्माण ढिलाइबारे चासो लिँदै चाँडो निर्माणका लागि हालको ठेकेदार कम्पनीलाई नै केही समय दिएर प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

समिति सदस्य एवं नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल, भरतबहादुर खड्का, चूडामणि जंगली, पुष्कर आचार्य, गीता वाग्ले, प्रभा बज्राचार्य, पेम्बा लामा, लालबाबु यादवलगायतले धारणा राखेका थिए । रासस


पुष्प दुलाल