बाढीका कारण २५ हजार हेक्टर धान खेत क्षतिग्रस्त



काठमाडौं । सरकारले गत साउन अन्तिम साताको बाढी पहिरोबाट २५ हजार ६३२ हेक्टर कृषियोग्य जमिनमा लगाइएको धानबाली नष्ट भएको जनाएको छ ।

बाढी प्रभावित किसानलाई राहत दिन १ अर्ब २५ करोड रकम विनियोजन गरेको भोलि पल्टै सरकारले क्षतिग्रस्त क्षेत्रको तथ्यांकका बारेमा जानकारी दिएको हो ।

कृषि विभागको दैवि प्रकोप राहात तथा व्यवस्थापन शाखाका अनुसार कृषि क्षेत्रमा ५ अर्ब ८४ करोड ८९ लाखको क्षति भएको छ ।

त्यसमा सबैभन्दा बढी धान खेतमा क्षति पुगेको छ । सोही क्षतिका कारण आगामी हिउँदमा धान उत्पादन समेत प्रभावित हुन सक्ने विभागको दावी छ ।

‘बाढी पहिरो र डुवानको कारण सबै भन्दा धेरै धानबालीमा क्षति भएको छ’ विभागले तयार पारेको प्रतिवेदनमा भनिएको छ ‘त्यसले खाद्य सुरक्षामा समेत प्रभाव पार्न सक्नेछ ।’

उक्त प्रतिवेदनअनुसार तरकारी लगाइएका ७ हजार १६० हेक्टर जमिन क्षतिग्रस्त भएको छ । तरकारी लगाइएको जमिन क्षतिग्रस्त हुँदा हाल तरकारी मूल्य बढेको छ । जनकपुरमा मात्रै तरकारी मूल्य साविक भन्दा १२० प्रतिशतले बढेको छ ।

यस्तै मकै लगाइएको २ हजार ५६७ हेक्टर जमिन बगरमा परिणत भएको छ । खाद्य सुरक्षाको प्रमुख बालीको रुपमा रहेको मकैबारी नै क्षति भएपछि सरकारलाई समेत टाउको दु:खाइको विषय बनेको छ ।

प्रतिवेदनमा माछा २ हजार ५८२ दलहन १ हजार ७१९ हेक्टर,केरा ३१४ हेक्टर र तेलहल १५५ हेक्टर, वेसार २१० हेक्टर गरी जम्मा ४० हजार ३ सय ३९ हेक्टर जमिनमा लगाईएको अन्न तथा बालीको क्षति भएको छ ।

क्षति भएका कृषि उपजलाई पुनः स्थापनाका लागि सरकारले ठोस कार्यक्रम ल्याउने बताएपनि हालसम्म कुनै पनि कार्यक्रम आउन सकेको छैन ।


क्लिकमान्डु