दिल्ली-काठमाडौं हवाई भाडा ६० हजार रुपैयाँ !



काठमाडौं । दशैं तथा तिहारको मौका छोपेर भारतीय एयरलाइन्सहरुले दिल्ली–काठमाडौं उडानको हवाई भाडा झन्डै ६० हजार रुपैयाँ सम्म लिइरहेका छन् ।

जुन नेपाल वायुसेवा निगमले लिने हवाई भाडा भन्दा ४० हजार रुपैयाँ बढी हो । जसको २ सय प्रतिशत बढी हुन आउँछ ।

भारतीय एयरलाइन्सहरुले दशैं अगाडी देखि कार्टेलिङ गरेर २८ हजार भारतीय रुपैयाँ देखि ३७ हजार भारतीय रुपैयाँ सम्म असुल गरिरहेका छन् ।

नियमन गर्ने नागरिक उड्डयन प्राधिकरण भने विवादमा अल्झिएर बसेको छ । विगतमा पनि भारतीय एयरलाइन्सहरुले चाडबाडको समयमा अत्याधिक भाडा असुल गर्दै आएका छन् ।

नेपाल वायुसेवाले दैनिक दुई वटा मात्रै दिल्ली उडान गरिरहेको तथा यात्रुको अत्याधिक चाप भइरहेकावेला भारतीय एयरलाइन्सहरुले महंगो भाडा असुल गरेका हुन् ।

दरबार मार्गमा जुत्ता बिक्री कक्षमा छापा मार्ने नेपाल सरकारका मन्त्रीहरु नेपाली यात्रुहरु १५ हजार रुपैयाँ भाडा रहेको दिल्ली–काठमाडौं उडानमा ६० हजार रुपैयाँ तिर्न बाध्य हुदाँ समेत मौन छन् ।

नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली एकतर्फी भाड दशै तथा तिहार भएपनि १३ हजार ४ सय ८४ रुपैयाँमा उडान गरिरहेको छ भने विजनेश क्लासमा १९ हजार ६ सय ६५ रुपैयाँ मात्रै रहेको छ ।

तर, एयर इन्डियले दिल्ली–काठमाडौं एकतर्फी भाडा इकोनोकि क्लासको नै २८ हजार ६ सय ३७ भारतीय रुपैयाँ लिइरहेको छ । त्यस्तैगरी विजनेश क्लासको ३७ हजार ३ सय ७६ रुपैयाँँ असुल गरिहरको छ ।

जेट एयरवेजले पनि दिल्ली–काठमाडौं एकतर्फी भाडा इकोनोमि क्लासको २३ हजार ४ सय ५ भारतीय रुपैयाँ असुल गरिरहेको छ ।

विजनेश क्लासको ३४ हजार ३ सय ७ भारतीय रुपैयाँ भाडा लिइरहेको छ । अन्य समयमा ६ हजार देखि ९ हजार रुपैयाँ भारतीय रुपैयाँ मात्रै लिने गरेका छन् ।


क्लिकमान्डु